शाखा विस्तार गर्दै टुरिजम डेभलपमेन्ट बैंक
काठमाडौं: टुरिजम डेभलपमेन्ट बैंकले आफ्नो सञ्जाललाई विस्तार गर्नेक्रममा एकै पटक थप सात वटा नयाँ साखा सञ्चालनमा ल्याएको छ।
बैंकले बिहीबारबाट इटहरी, हेटौंडा, बुटवल, रजहर, कोहलपुर तथा कालिकोट गरी थप ६ स्थानबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ भने शुक्रबार काठमाडौंको कलंकीबाटसमेत बैंकिङ सेवा प्रारम्भ गरेको छ।
यी शाखाबाट त्यस क्षेत्रका मानिस लाभान्वित हुने तथा बैंकको व्यवसायमा थप विस्तार हुने अपेक्षा बैंकले लिएको छ।
थपिएका नयाँ शाखासँगै बैंकको कुल शाखा संख्या २९, एक्सटेन्सन काउन्टर एक तथा एटीएम संख्या १३ पुगेको छ।
नयाँ शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सेवा प्रवाह गरिने जनाएको छ।