मुलुकमा गम्भीर दुर्घटनाको खतरा रहेको प्रधानमन्त्रीको खुलासा
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक गम्भीर दुर्घटनाको संघरमा पुगेको दाबी गरेका छन्।उनले भने, ‘यो प्रधानमन्त्रीको भनाइ हो, मुलुक ठूलै दुर्घटनाको संघारमा छ।लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई उल्ट्याउने खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको चलखेल र धुव्रीकरण पनि व्यापक रूपमा अघि बढिरहेको छ ।’
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित २२ औं जनयुद्ध दिवसमा प्रधानमन्त्री दाहालले भने, ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिमात्र नभएर त्यसलाई बाध्यात्मक रुपमा स्वीकार्दै परिवर्तनकै कारण पटकपटक सत्तामा पुग्ने शक्तिसमेत छन् ।’
लोकतान्त्रिक शक्ति भन्ने कतिपय पार्टी र तीनका शीर्ष नेताहरूले लोकतान्त्रिक आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई अझै पनि आत्मसात गर्न नसकेका कारण मुलुक संक्रमण कालमै रहेको दाबी दाहालको छ ।
जनयुद्धको अग्रज र मुलुकको प्रधानमन्त्रीका हैसियतमा मैले भन्नुपर्छ भन्दै कार्यक्रममा दाहालले भनेका थिए, ‘बाध्यात्मक रुपमा परिवर्तनकारी शक्ति बन्न पुगेकाले परिवर्तनका एजेण्डलाई संस्थागत गर्ने असहयोगी बनेका छन्।जसका कारण आज मुलुक ठूलै दुर्घटनाको संघारमा छ ।’
‘आन्दोलनकारी शक्तिहरूले जित्न र लोकतन्त्रलाई संस्थागत गर्न आन्दोलनका उपलब्धि गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई स्वीकार्न पनि माघ ७ भित्र स्थानीय, प्रान्तिय र केन्द्रीय संसद्को निर्वाचन हुनै पर्छ।अन्यथा मुलुक अतिवादी र साम्राज्यवादीको कारण ठूलै दुर्घटनामा पुग्छ’ प्रधानमन्त्रीले भने ।
‘मूल प्रवाहबाट मधेसलाई अलग्याउने कार्यमा अतिवादी र साम्राज्यवादीबीच एकता भइरहेको छ।त्यस्तो एकतालाई चूनौति दिन समेत मधेसीलाई मूल प्रवाहमा ल्याउने कार्यमा आफू नचुक्ने प्रण प्रधानमन्त्रीले दाहाल गरे।त्यसैले निर्वाचन नभए मुलुकमा ठूलै दुर्घटना र अराजकता हुने खतरामा रहेको उनको कथन थियो ।
‘शान्ति प्रक्रियाको १२ वर्षमा पनि हामी अझै संक्रमणकालबाट गुज्रनुको कारण तेस्रो पार्टीलाई जति अन्य पार्टीलाई गण्तन्त्रप्रति अपनत्व नहुँनु नै हो’ उनले भने ।
जनयुद्धका माग र एजेण्डलाई संस्थागत गराउन पनि विभाजित माओवादीहरू एक ठाउँमा आउनुपर्नेमा उनले जोड दिए।दाहालले भने, ‘२३ औं जनयुद्ध मनाउने क्रमसँगै विभाजित माओवादीहरू एक हुनेछन्।माओवादी एकीकरण अब ढिलो हुँदैन।’