संशोधनमा ‘फेरिँदै' एमाले
काठमाडौः संविधान संशोधन प्रस्ताव संसद्मा छलफल गर्नै नदिने अडानमा रहेको प्रमुख प्रतिपक्ष दल एमाले ‘मुड चेन्ज' को तयारीमा छ । यस विषयमा पार्टीभित्र औपचारिक छलफल नभए पनि शीर्ष नेताहरू यस्तो अवस्थामा पुगेको स्रोतले जानकारी दिएको छ ।
एमालेले निर्वाचन घोषणा गरेको खण्डमा संसद्मा संशोधन प्रस्ताव छलफल हुन दिने तयारी गरेको छ । स्रोतका अनुसार एमालेले प्रस्ताव असफल हुने अवस्थामा मात्र त्यसलाई छलफलमा ल्याउन दिने भएको हो । ‘प्रस्ताव असफल हुने निश्चित भएमात्र हामी त्यसलाई संसद्मा छलफल गर्न दिन्छौं । जोखिम मोलेर संसद्मा आउन दिँदैनौं', एमालेका एक नेताले अन्नपूर्णसँग भने ।
एमालेले यसका लागि विशेषगरी राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको ‘मुड' हेरेको छ । ती दुवै पार्टी संविधान संशोधनका पक्षमा खुलेका छैनन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले त प्रस्तावका पक्षमा मतदान नगर्ने निर्णय नै गरेको छ । तर एमालेले राप्रपा यो निर्णयमा कति अडिन्छ भनेर हेरिरहेको स्रोतले बतायो । संसद् बैठक बस्नुअघि एमालेले यस विषयमा स्पष्ट धारणा बनाउने भएको छ । संसद्को स्थगित बैठक फागुन १० मा बस्दैछ ।
सरकारले निर्वाचन घोषणा गरेको खण्डमा एमालेले संसद्मा संशोधन प्रस्तावमाथि छलफल हुन दिने तयारी गरेको छ ।
एमाले पोलिटब्युरो बैठक फागुन ४ बाट सुरु हुँदैछ । बैठकमा यस विषयमा छलफल हुनेछ । पार्टी अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञावलीलगायत नेताबीच संशोधन प्रस्तावको विषय कसरी टुंगो लगाउने भनेर पटकपटक छलफल भएको स्रोतले बतायो ।
सबै नेताहरू प्रस्ताव असफल हुने निश्चित भए त्यसलाई छलफल गर्न दिने रणनीतिमा सहमत छन् । यसअघिसम्म संविधान संशोधन प्रस्ताव संसद्मा ल्याउन र छलफल हुन नदिने अडानमा रहेको एमालेले निर्वाचन घोषणा गराउनका लागि रणनीति परिवर्तन गर्न लागेको ती नेताले बताए ।
‘मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार छ । चुनाव मिति घोषणा हुन्छ भने हामी छलफल गर्न दिन्छौं तर देश र जनताको हितविपरीत आएको प्रस्तावलाई असफल बनाएर चुनावमा जान्छौं', एमाले उपाध्यक्ष भीम रावलले भने । उनले लामो समय संसद् स्थगित गरेर सरकारले निर्वाचन टार्न खोजेको आरोप लगाए । उनले आफूहरूले निर्वाचनसम्बन्धी कानुन छलफलमा ल्याउँदा संसद्मा कुनै अवरोध नगरेको बताए ।