साहुको ऋण नतिर्ने महिला जेल चलान
गौशाला: महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।
जेल चलान हुनेमा औरही गाविस-७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए।
औरही-९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएकामा अदालतले उनलाई २०६९ असार २८ गतेका दिन १० महिना कैद तोकिएको थियो। तर महिला यादव सोही बेलादेखि फरार रहँदै आएकी थिइन्।
यसैबीच प्रहरीले उनलाई शनिबार उनको घरैबाट पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय जलेश्वरमा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ। रासस