कर्मचारीले लिए एलडीओको गाडीको चाबी नियन्त्रणमा
परासीः कर्मचारीमाथि विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले स्थानीय विकास अधिकारी (एलडीओ) को गाडीको चाबी नियन्त्रणमा लिएका छन्।
सोमबार स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला इन्जियिनर, कार्यकारी अधिकृत र गाविस सचिवहरुलाई प्रवेशमा रोक लगाउँदै कार्यालयको गेटमा धर्ना दिएका कर्मचारीहरुले एलडिओ चढ्ने गाडीको चाबी नियन्त्रणमा लिएको ट्रेड युनियन संयुक्त समन्वय समिति प्रदेश नम्बर पाँचका उपाध्यक्ष एवं जिविस लेखा परीक्षक राजेन्द्र सापकोटाले जानकारी दिए।
उनले गत सातादेखि सांकेतिकरुपमा आन्दोलन गरेपनि माग सुनुवाइ नभएकाले सोमबारदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएको बताए। कर्मचारीहरुको आन्दोलनका कारण सेवाग्रहीहरु मर्कामा परेका छन्।
सात नगरपालिका र ५६ गाविस रहेको जिल्लामा दुई सय बढी स्थानीय निकायका कर्मचारीहरु आन्दोलित छन्। स्थानीय निकायका कर्मचारीलाई निजामती कर्मचारीभन्दा तल्लो तहमा राखेर विभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।