चियापसलबाट 'अफिसर' !
सडकमा टाँगिएका ब्यानर, भित्तामा देखिएका नारा अनि विभिन्न पार्टीका होडिङबोर्डका नारामा लेखिएको हुन्छ '...वाद' वा '...तन्त्र'को विकास गरौं। तर कुनै राजनीतिक दलले व्यवहारमा उद्यमशीलता, क्षमता, आत्मनिर्भरता, रोजगार वा कृषि उपजको विकास गरौं भनेर लागेको देखिँदैन।
सम्भावना बोकेको युवापुस्ता बिदेसिँदै गर्दा गाउँका करेसाबारी पनि बाँझै रहने अवस्था झन् थपिँदै गरेको छ। देश र जनताका लागि भन्नेहरू नै 'आफू र कार्यकर्ता'मा सीमित हुने प्रवृत्तिमा फस्दै गएपछि नेपाली युवापुस्ता राजनीतिप्रति नै वितृष्णित बन्दै गएको छ।
राजनीतिका यस्तै अनेक रंग, रूप र प्रवृत्तिले दीपकराज पाण्डेय यति दिक्क भए कि उनले यो क्षेत्रै छोडिदिए। अघिल्लो कार्यकालमा नेपाल विद्यार्थी संघ कैलालीका उपाध्यक्ष रहेका उनी २०६५ सालमा काठमाडौं छिरे।
कैलालीको सीमित सेरोफेरोबाट उनले विशाल सहरमा संघर्षको यात्रा थाले। 'अवसरको अपेक्षा थियो, धेरैथोक पाइने आशा थियो। अहँ, लोभीपापीकै बोलवाला रहेछ', पाण्डेयले भने।
करिब ६ महिना घरकै चामल र खर्चमा 'केही खोज्ने' ध्याउन्नमा लागेका उनलाई यतिधेरै 'वाक्क' लाग्यो कि 'आफैं केही गर्नुपर्छ' भन्ने चेत फुर्र्यो। '२०६६ को सुरुवातसँगै मैले मैतीदेवी मन्दिरको गेटैमा चियापसल सुरु गरेँ। राजनीति छोडेँ। वाद र सिद्धान्तदेखि पर भएँ', पाण्डेयले भने, 'आफू सक्षम नभएसम्म कुनै वाद, सिद्धान्त र तन्त्रले केही नहुँदो रहेछ। परजीवी नै भइँदो रहेछ।'
पाण्डेय परजीवी बन्न चाहेनन्। आत्मनिर्भर हुने बाटोमा लागे। जारी स्नातकको अध्ययनलाई भने उनले टुटाएनन्। 'चिया पसल चलाउँदै, पढ्दै गरेँ', पाण्डेयले भने, 'मेहनतअनुसारको फल मिल्यो, मैले तेस्रो डिभिजनमा पास गरेँ।' चिया पसले बन्दा उनले धेरै थोक बुझे।
एकाबिहानै उनको पसलमा चिया पिउन आउने विद्यार्थीका योजना उनी सुन्थे। पार्टीका कार्यकर्ताले चिया पिउँदै व्यक्त गरेका दिक्दारीका उनी साक्षी बन्थे। साँझपख एक कप चिया पिउन आउने कर्मचारीहरूको अवस्था उनी नियाल्थे।
जिल्लामा हुँदा ठूलाबडा भनेर मानिएका र चिनिएकाहरूको हविगत देखे। विद्यार्थी राजीतिमा रहँदा 'दाइ' भनिएकाहरूको अवस्था पनि बुझे। 'देश बनाउन भिजन र मिसन चाहिन्छ', पाण्डेयले भने, 'राजनीति गर्नेहरूसँग उद्देश्य र योजना हुनैपर्छ। मैले राजनीतिका अने रंगमा आफूलाई मिसाउन सकिन। चिया पसल गरेर कम्तीमा आत्मनिर्भरताको बाटो रोजेँ।'
चिया पसलका अधिकांश ग्राहक कलेजका विद्यार्थी थिए। एकाबिहानै उनको पसलमा चिया पिउन आउने विद्यार्थीका योजना उनी सुन्थे। पार्टीका कार्यकर्ताले चिया पिउँदै व्यक्त गरेका दिक्कारीका उनी साक्षी बन्थे। साँझपख एक कप चिया पिउन आउने कर्मचारीहरूको अवस्था उनी नियाल्थे।
चिया बेच्दाबेच्दै उनलाई लाग्यो 'जिन्दगीभरि चिया छानेरै त चल्दैन होला !' उम्दो उमेरका पाण्डेय राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनका लागि भर्ना भए। चिया पसल र अध्ययनलाई उत्तिकै समय दिए। दिउँसोभरि चियापसल रातिराति अध्ययन गरेको नतिजा प्रथम श्रेणी आयो।
पाँच वर्ष चिया पसल गर्दा उनले कम्तीमा आठ÷१० लाख जम्मा पारेका थिए। उनलाई लाग्यो 'राजनीतिबाट मात्रै किन राष्ट्रसेवक भएर पनि त जनताको सेवा गर्न सकिन्छ।'
उनले चिया पसल नै बेचिदिए। लोकसेवाको तयारी थाले। '२०७० सालमा अधिकृतको परीक्षा दिएँ, फेल भइयो', पाण्डेयले अनुभव सुनाए, 'सामान्य तरिकाले सम्भव लागेन। मैले मैतीदेवीको कोठा नै छोडेँ। ललितपुरको इमाडोलमा डेरा सरेँ।'
कोठा सरेपछि पाण्डेयले त्यो कोठा कसैलाई देखाएनन्, साथीभाइसँग भेटेनन्। उनले बोकिरहेको मोबाइल नम्बरसमेत परिवर्तन गरे। 'अति आवश्यक र घरका लागि अर्को सिम लिएँ', पाण्डेयले भने, 'त्यसो नगर्दा डिस्टर्ब भइहाल्ने।'
२०७१ मा उनले अधिकृतका लागि वैकल्पिकको तीन नम्बरमा नाम निकाले। उनी निराश भएनन्, थप उत्सुक भए। मेहनत गरेकैले वैकल्पिकमा भए पनि नाम त निस्कियो नि ! भन्ने कुराले उनलाई खुसी लाग्यो।
'त्यसपछि मैले थप कम्मर कसेँ', उनले भने, 'मेहनत गरे हुँदो रहेछ, चार सय जनाका लागि मागेको अधिकृतमा मेरो नाम ८२ औं नम्बरमा निस्कियो। नायब सुब्बामा पनि नाम निकालेँ।'
चिया पसल चलाउँदै गर्दा सरकारी कर्मचारी बनेर सेवा गर्छु भन्ने पाण्डेयको सपना तीन वर्षमै पूरा भयो। उनी यतिबेला नेपाल सरकारको युवा अफिसर भएर सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा नियुक्त भएर ६ महिनाको तालिममा छन्।
'जेठ ४ गते परीक्षणकाल सकिएपछि हामी सेवामा खटाइन्छौं', पाण्डेयले भने, 'गर्ने आफैंले रहेछ, गरेपछि हुँदो रहेछ। इच्छाशक्ति भने चाहिँदो रहेछ।' पाण्डेय थप अध्ययनका लागि एमपीए भर्ना भएका छन्।
आमा ईश्वरीदेवी र बुवा लोकराज पाण्डेयका सन्तानको रूपमा २०४० सालमा कैलालीमा जन्मिएका पाण्डेय आज विद्यार्थी राजनीतिमै भएको भए राजनीतिका विचित्र रंगहरूमै रुमल्लिन्थे होलान्।
स्ववियुको नेता बन्ने उनको चाहना भएको भए उमेर हदका कारण राजनीतिमा थलिन्थे होलान्। तर उनले चिया बेच्दाबेच्दै देखेको सपना र तीन वर्ष गरेको कठोर परिश्रमको फलले उनलाई आज 'अफिसर' बनाएको छ।
कुनै वाद, तन्त्र वा सिद्धान्तका अनुयायीमात्रै बनेर हिँडेको भए आज उनी यो अवस्थामा हुँदैनथिएँ भन्नेमा विश्वस्त छन्। पाण्डेय भन्छन, 'राजनीतिबिना पनि मुलुक चल्दैन, तर जनता, युवा र विकास केन्द्रित राजनीतिको खाँचो छ।'
०००