दाउपेचमा अल्झियो प्राधिकरण 

दाउपेचमा अल्झियो प्राधिकरण 

काठमाडौं:  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक दाउपेचमा अल्झिन थालेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप चल्यो ।

ज्ञवालीले आफूलाई पदबहाली गर्न सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुनु अघिल्लो दिन सिंहदरबारमा बसेको निर्देशक समितिको बैठकमा समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उपाध्यक्ष तोकिएका एमाले उपाध्यक्ष भीम रावलबीच भनाभन चलेको हो । समितिका उपाध्यक्ष रावलले ज्ञवालीलाई हटाउनुको कारण र उनलाई हटाएपछि प्राप्त भएका उपलब्धिको विवरण मागेपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका थिए ।

सर्वोच्च अदालतले ज्ञवालीलाई पुनर्बहाली गरिदिनसक्ने संकेत प्राधिकरणमा पुगेका छन् । नयाँ उत्साहसाथ प्राधिकरणको जिम्मेवारी सम्हाल्न पुगेका डा. गोविन्द पोखरेलले पनि अदालतले नसोचेको फैसला सुनाउनसक्ने संकेत पाएका छन् ।

समितिका उपाध्यक्ष भीम रावलले ज्ञवालीलाई हटाउनुको कारण र उनलाई हटाएपछि प्राप्त भएका उपलब्धिको विवरण मागेपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका थिए।


प्रस्तुत गरिएका सातवटा कार्यसूचीमाथि छलफल हुनै नदिई रावलले बैठकको सुरुमै दुई महिनापछि बैठक बोलाउनुको कारण सोधेका थिए । ‘कार्यसूचीमा रहेका अधिकांश विषय यसअघिको निर्देशक समितिमा छलफल भइसकेका र कतिपय निर्णय भइसकेका छन् । भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन र हामीले पुनर्निर्माणको काममा तीव्रता दिन महत्व दिएका थियौं । दुई महिनापछि किन बैठक भयो भनेर मैले प्रश्न उठाएँ । जे कारणले योभन्दा अगाडिका कार्यकारी अधिकृतलाई हटाइएको थियो, त्योभन्दा अहिले नयाँ के भयो त ? ’, बैठकमा आफूले तेस्र्याएका प्रश्न उद्धृत गर्दै रावलले भने ।

गत मंसिर ५ गतेको निर्देशक समिति बैठकले संघीय मामिला तथा स्थानीय विकास, सहरी विकास, शिक्षालगायत मन्त्रालयलाई समयसीमासहितको कार्यतालिका दिएको थियो । रावलले भने, ‘ती मन्त्रालयबाट अहिले नयाँ के भयो त ? ती काम तत्कालीन कार्यकारी अधिकृत ज्ञवालीले गर्नुपर्ने थियो कि मन्त्रालयले ? त्यतिबेलाको कार्यकारी अधिकृतले गर्नुपर्ने थियो र नभएको हो भने अहिले प्रष्ट पार्नुप¥यो । मन्त्रालयहरूले नगरेको काममा सम्बन्धित मन्त्री र मन्त्रालयलाई के कारबाही भयो ? के स्पष्टीकरण सोधियो ? ’

विदेशी दाताले समयमा बजेट नदिएको, कर्मचारी समयमा नखटिएको, प्राधिकरणका कर्मचारी आउन गाह्रो भएको जस्ता पहिलाका गनगन अहिले पनि टेबुलमा देखिएको रावलले बताए । ज्ञवालीलाई पूर्वाग्रही भएर हटाइएको पुष्टि भएको रावलले बताए । ‘यो सबै कामका लागि पहिले त सुशील ज्ञवालीलाई कारबाही गरियो । अब कुन मन्त्री, कुन मन्त्रालयको व्यक्तिलाई कारबाही गर्ने भनेर मैले प्रश्न गरेको थिएँ । पहिले निर्देशक समितिमा छलफल गरेका र पहिलेको कार्यकारी अधिकृत रहँदाबाहेक कुनै पनि नयाँ कुरा आएको छैन’, उनले भने, ‘जुन कारण देखाएर पहिलेका कार्यकारी अधिकृत हटाउने निर्णय भएको थियो । आजको बैठकबाट सरकारका ती सम्पूर्ण तर्क कुतर्क रहेछन्, त्यो सबै राजनीतिक पूर्वाग्रहबाट भएको रहेछ भन्ने छर्लंग भएको छ ।’ उनका अनुसार पहिलेका निर्णय र कार्यसूची तथा अहिलेका निर्णय र कार्यसूचीलाई तुलना गरेर हेर्दा पुनर्निर्माण त झन् सुस्त भएको रहेछ । जवाफमा प्रधानमन्त्री दाहालले ज्ञवालीलाई हटाएको विषय अदालतमा विचाराधीन रहेको अवस्थामा धेरै छलफल गर्न उपयुक्त नरहेको तर्क गरेका थिए।

‘जुन मन्त्रालय, विभाग र कर्मचारीले काम गर्नुपर्छ भनेका थियौं । जसलाई दायित्व सुम्पिइएको थियो, यो बैठकबाट ती व्यक्तिलाई तोकिएका काम किन भएनन् भनेर सोधियोस् । त्यतिबेलाको कार्यकारी अधिकृतले के–के काम नगरेको र अहिले नियुक्ति भएर एक महिना पाँच दिन काम गरिसकेका कार्यकारी अधिकृतले के–के गरेका हुन् ? त्यसको तुलनात्मक अध्ययन गरौं’, रावलले भने, ‘पहिले सुशील ज्ञवालीलाई नमानेर कर्मचारी नआएको तर्क दिइन्थ्यो । अहिलेका कार्यकारी अधिकृतलाई पनि नमानेर नआएका हुन् कि ? इन्जिनियरलाई तुरुन्तै भत्ता बढाऊ भनेर निर्णय ग¥यौं । सरकारले कार्यान्वयन गरेन । उनीहरू हडतालमा उत्रिए । नटेर्ने मन्त्री र सचिवमाथि कारबाही भयो कि भएन ? ’

निर्देशक समितिको उपाध्यक्षको हैसियतमा रावलले उठाएका गुनासाको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएको पोखरेलले बताए । ‘हामीले पनि कतिपय विषय स्पष्ट पार्‍यौं । सबैको सहमतिमा निर्णय भएका हुन्’, पोखरेलले भने । गत पुस २७ गतेको मन्त्रिपरिषद्ले ज्ञवालीलाई बर्खास्त गरी प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गरेको थियो ।

पोखरेलका अनुसार निर्देशक समितिको सोमबारको बैठकमा पेस गरिएका सातवटा कार्यसूची सुझाव र परिमार्जनसहित पारित भएका छन् । पुनर्निर्माण कोषलाई कार्यान्वयनमा लैजानका लागि कोष परिचालन संयन्त्रको खाका एक साताभित्र तयार गर्न मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र प्राधिकरणका सचिव सञ्जय शर्मासहित सरोकारवाला सचिव सम्मिलित समिति बनाइएको पोखरेलले जानकारी दिए । ‘त्यो समितिले खाका ल्याएपछि कार्यकारी समितिले आवश्यक निर्णय गरी कोषलाई परिचालन गर्न सकिन्छ’, उनले भने, ‘कोषमा जम्मा भएको पैसा कसरी परिचालन गर्न सकिन्छ, त्यसको खाका ल्याउन अर्थ मन्त्रालयले म आउनुभन्दा पहिलेदेखि नै आग्रह गर्दै आएको रहेछ । त्यो बनेको रहेनछ ।’

कोष परिचालनको कार्यविधि पोखरेलको जिम्मेवारी सम्हाल्नुभन्दा पहिले नै बनेको थियो । सर्भेबाट आएका तथ्यांकका आधारमा गुनासोबारे पनि बैठकमा छलफल भएको थियो । ‘९३ हजार गुनासोको सुनुवाइ गर्दा केही हजार पीडित सर्भेमै छुटेको पायौं । उहाँहरूले दोहोर्‍याएर गुनासो फारम भर्नुभयो’, पोखरेलले भने, ‘केही हजारको संख्यामा त्यस्ता गुनासो उहाँहरूका लागि ठूलो हुने भयो । त्यो त्यतिबेलाको प्राविधिक गल्ती हो ।’ प्राधिकरण कार्यविधिमा एकपटक गुनासो सुनुवाइ गरेपछि पीडितले फेरि पनि गुनासो गरे पुनरावेदन समितिमा लैजानुपर्ने व्यवस्था छ । उक्त समितिका एक न्यायाधीश र एक सदस्यले सातामा एक दिन गुनासो सुनुवाइ गर्ने व्यवस्था छ ।

भूकम्पबाट अति प्रभावित जिल्लामा ४ सय ७५ वटा स्थान जोखिमपूर्ण छन् । ३ सय ४३ वटा जोखिमपूर्ण स्थानको अध्ययन भएकामध्ये १ सय ११ वटा बस्ती स्थानान्तरण गर्नुपर्नेछ । ‘पुरानो निर्णयअनुसार सहरी विकास मन्त्रालयले बस्ती स्थानान्तरण गर्ने व्यवस्था थियो । थुप्रै संघसंस्था र निजी क्षेत्र नयाँ एकीकृत बस्ती निर्माण गर्ने प्रस्ताव लिएर आएका छन् । त्यसमा हामीले एउटा मापदण्ड बनाएका छौं’, पोखरेलले भने, ‘सार्वजनिक पूर्वाधार सरकारले निर्माण गरिदिने र अरू काम संघ संस्था र निजी क्षेत्रलाई जिम्मा दिएर पनि छिटो निर्माण गर्ने हो ।’

चाँडो काम गर्नका लागि जनता आफैंले बनाउने र सरकारले सार्वजनिक पूर्वाधार बनाइदिने, कुनै संघसंस्थाले सार्वजनिक पूर्वाधार बनाइदिनेजस्ता थुप्रै विकल्प कार्यविधिले दिएको छ । सम्पदा पुनर्निर्माणमा टेण्डर प्रक्रियाबाट जाँदा मौलिकता गुम्ने गुनासा आएका छन् । त्यसबारेमा प्राधिकरणले सार्वजनिक खरिद ऐनलाई समेत ध्यान दिएर मिश्रित कार्यविधि बनाएको छ । ‘धर्म संस्कार र रीतिरिवाजसँग जोडिएका पुराना संरचनालाई विशेषज्ञहरूको राय सल्लाहमा मिश्रित मोडालिटीमा जानुपर्छ । पूरै टेण्डरमा जाने होइन, अवस्था हेरेर अगाडि बढ्ने कार्यविधि बनेको छ । त्यो कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको छ’, पोखरेलले भने ।

पोखरेलका अनुसार दातृ निकायसँग सम्झौता भएका पुनर्निर्माणसँग सम्बन्धित परियोजनाको अवधिभरका लागि कार्यकारी समितिले कर्मचारी लिन सकिने निर्णय भएको छ । पोखरेलले भने, ‘आवश्यकता र औचित्य हेरेर कार्यसमितिले निर्णय गर्न सक्ने प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजान बैठकले स्वीकृति दिएको छ ।’ केन्द्रलाई पुरावलोकन गर्ने र भूकम्पबाट प्रभावित १७ जिल्लामा कर्मचारी व्यवस्थापनको मोडालिटी बनाउन बैठकले स्वीकृति दिएको पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.