४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया, सँगै स्कुल जान्छन् नाति–बज्यै

 ४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया, सँगै स्कुल जान्छन् नाति–बज्यै

तेह्रथुम: 'मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन' भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बनेकी छिन्। पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै छिन्।

एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै छिन्। उनी भन्छिन्, 'पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।' लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको भनाइ छ ।

'सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन' उनी भन्छिन्, 'हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ भन्ने शङ्का पनि हुन्छ ।' उनलार्इ विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्न सक्ने हुने मन छ । उमेरमा पढ्न नपाएको प्रति उनलार्इ पछुतो छ । सुरुमा प्रौढ कक्षा गएकी सानुमाया अहिले विद्यालय जान थालेकी हुन्।

'गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घन्टामा केही सिकिएन,' उनले भनिन्, 'त्यही भएर विद्यालय नै जाऊ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।' कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने, तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उनले स्पष्ट पारिन्। सानुमाया नियमित विद्यालय आउने गरेको प्रअ हरिप्रसाद लामिछानेले बताए। 

त्यसो त देख्नेलाई पनि अचम्मै लाग्ने गरी सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहन्छिन् तर उनी आफू पढ्नभन्दा पनि नातिलाई पुर्‍याउन गएको भनेर सोच्ने गर्छिन्। सानुमायाका तीन भाइ छोरा छन् । उनीहरुको विवाह भइसकेको छ । अहिले उनको काम घरमा बस्ने, बिहान बेलुका खाना पकाउने र खाने मात्रै हो । 'छोराहरु हुर्किए, छोरीहरुको विवाहदान गराएँ, नाति पनि पढ्दैछन्', उनी भन्छिन्, 'तर पनि मन गर्यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।'

स्कुल जान थालेपछि उनलार्इ अहिले साउँ अक्षरसँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उनको मेहनतले उनलाई छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारीले बताए।  'भर्ना भएको चार महिनामै कक्षा १ मा पुगेकी हुन्, उनको मेहनत अहिले पनि राम्रो छ, उत्सुक छिन् ' भण्डारीले भने। 

उनलार्इ अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ । दुर्गम गाउँका महिलालाई समूहमा आबद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान पुरानागाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गरेकी छिन्। यहाँको आदर्श अभियान चौतारीमा हरेक महिनाको दुई पटक अधिकारबारे छलफल हुन्छ ।

चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकारलगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुशीला मग्राँतीले बताइन्। 'अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ', स्थानीय सामाजिक परिचालक सीता निरौलाले भनिन्।

गाउँका महिलामध्ये अधिकांश निरक्षर छन् तर इच्छा हुनेले साक्षर बन्न चाहे चौतारीमार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उनले बताइन्। जिल्लालाई हाल पूर्ण साक्षर बनाउने अभियान समेत चलिरहेको छ । जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रमार्फत पूर्ण साक्षर बनाउने अभियान चलाइरहेको छ ।

'निरक्षरलाई साक्षर बनाउन गाउँ गाउँमा प्रौढ कक्षा सञ्चालन भइरहेका छन्' जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले भने। उनले इच्छाशक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताए। 'ज्ञान कहिल्यै बूढो हुँदैन' उनले भने, 'त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.