‘वाइडबडी उडाएर देखाउँछु’

‘वाइडबडी उडाएर देखाउँछु’

नेपाल वायुसेवा निगमको कमजोरी र राज्यको अविश्वासकै कारण २८ वर्षसम्म विमान खरिद गर्न सकिएन । कुनै बेला निगमसँग १९ वटा विमान थिए । हामीले बोइङ ल्याएर उडाउँदा कोरिया र दिल्लीबाट हाम्रो विमान हेर्न ठूला मानिससम्म आए । नेपालले विश्वकै सबैभन्दा आधुनिक प्रविधिको विमान खरिद गरेको भनेर भन्थे । निगमको एउटा छुट्टै किसिमको रौनकता थियो । त्यो अहिले कथाजस्तै भइसकेको छ । नयाँ पुस्ताले पत्ताउन नसक्ने अवस्था छ । कतिपय विमान पुराना भए, कतिपय विमान दुर्घटनामा परेर नष्ट भए । एकपछि अर्को गर्दै विमान घट्दै गए ।

अब हामी गल्ती सुधार्दै छौं । हामी गल्ती सुधार्दै अगाडि बढेमा अवश्य पनि पुरानै अवस्थामा फर्किन सकिन्छ । निगमसँग १९ वटामात्र होइन, सयभन्दा बढी विमान हुनेछन् । निगमको व्यवस्थापन अन्य सरकारी संस्थानकोभन्दा राम्रो छ । मेहनत गरेर काम गर्ने कर्मचारी छन् । पक्कै पनि निगममा धेरै सुधार गर्नुपर्नेछ । पाइलटभित्र गुटबन्दी छ । यसलाई कम गर्दै लैजानुपर्छ । यसो गर्न सकेमा विश्वले फेरि भन्नेछ, वाओ नेपाल एयरलाइन्स ।

निगमले वाइडबडी विमान खरिद गर्दैछ । यसलाई बाहिर महाभारतको रूपमा लिइएको छ । कुरा काट्नेहरूको जमात बढ्दो छ । निगमका कर्मचारी दिनरात नभनी काम गरिरहेका छन् । निगमलाई वाइडबडी विमान खरीद गर्नु कुनै गाह्रो विषय होइन । आवश्यक रकमका लागि नेपाल सरकार ऋण जमानीमा ग्यारेन्टी बस्दैछ । अब केही महिनाभित्र नेपालमा वाइडबडी विमान भित्रिनेछन् । तर, वाइडबडी विमान आएपछि त्यसलाई पूर्ण क्षमतामा उडाउनु निगमका लागि चुनौतीको विषय हो ।

२५ अर्बको काम गर्न कहाँ सजिलो छ र ? नेपाल सरकारको सार्वजनिक खरिद ऐनदेखि विश्व नागरिक उड्डयन संगठन (आइकाओ) र आफ्नो संस्थाभित्रको ऐन पनि पालन गर्नुपर्छ । त्यसैले विमान ल्याउन केही समय लाग्नु स्वभाविक पनि हो । त्यसमाथि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था छ । विमानस्थलमा पार्किङको समस्या उस्तै छ । नयाँ विमानस्थल सञ्चालनमा आएपछि यसमा केही सुधार पक्कै पनि आउला ।

कुनै बेला निगमसँग १९ वटा विमान थिए । हामीले बोइङ ल्याएर उडाउँदा कोरिया र दिल्लीबाट हाम्रो विमान हेर्न उच्च ओहदाका मानिससम्म आएका थिए।

अब निगम पुरानै ढर्रामा काम गर्ने सोचमा छैन । व्यवस्थापन चुस्त बनाउन खोजिरहेको छ । निगम पनि प्रविधिमैत्री हुँदै जानेछ । निगमले तीन महिनाभित्र अनलाइन टिकेटिङ सिस्टम लागू गर्दैछ । यो सिस्टम लागू भएपछि विश्वका जुनसुकै मुलुकबाट यात्रुले निगमका विमानको टिकट खरिद गर्न वा बुकिङ गर्न सक्नेछन् ।

लक्ष्य युरोप

निगमले दुईवटा न्यारोबडी एयरबस भिœयाएर एसियन मुलुकमा उडान भरिरहेको छ । अब छिट्टै दुई वटा वाइडबडी एयरबस भित्रिँदै छन् । यी विमानबाट जापान, कोरिया, युरोप, अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा उडान भर्ने योजना छ । निगमले सबैभन्दा बढी नाफा हुने गन्तव्य तय गरिसकेको छ। निगमले सधैं नाफा गर्ने लक्ष्य पनि राखेको छैन, सबै ठाउँमा घाटाको व्यापार गरेर पनि अगाडि बढ्न सकिँदैन। नाफा हुने ठाउँमा व्यावसायिक उडान भर्दै घाटा हुने गन्तव्यमा जनतालाई सुविधा दिने हाम्रो सोच हो।

सबैभन्दा बढी नाफा हुने क्षेत्र युरोप र अमेरिका नै हो । त्यहाँ पनि निगमले सिधा उडानको तयारी गर्दैछ । यसका लागि धेरै समम कुर्नुपर्ने छैन । केही समय भने पक्कै लाग्छ । युरोपमा नेपाली विमान उडाउन पाइँदैन । युरोपेली मुलुकको कालोसूचीबाट बाहिर निस्केर युरोपमा उडान भर्ने प्रयत्नमा हामी छौं । हामी जति छिटो युरोपियन स्टान्डर्डमा गयौं, त्यति नै धेरै नाफा कमाउन सक्छौं । चाँजोपाँजो मिलाउँदा केही समय लाग्ने देखिन्छ ।

हामी जसरी पनि वाइडबडी विमान चलाएर देखाउँछौ । हामी वाइडबडी चलाउन सकिँदैन भन्दै बस्ने अवस्था छैन । हामी पर्दा पछाडिको आरोपमा रोकिने छैनौं । विश्वका प्रायः सबै मुलुकले वाइडबडी उडाउन सक्दा हामीले नसक्ने भन्ने कहाँ छ ? अब निगमको आँखा सिधा युरोप उडानमा गएको छ । यसका लागि व्यावसायिक अध्ययन भइरहेको छ । सबैभन्दा कम खर्चमा धेरै नाफा कमाउन सकिने गन्तव्य लन्डन हो । तर, कालोसूचीकै कारण तत्काल जान सक्ने अवस्था छैन । निगमको विमान सेफ्टी कन्सर्न लिस्टमा परेको छ । नयाँ वाइडबडी विमान आइपुग्दासम्म सेफ्टी लिस्टबाट बाहिर निस्किसकेका हुनेछौं । अनि लन्डन तथा युरोपेली मुलुकमा उडान सुरु हुन्छ ।

हामीले खर्चालु पर्यटक भित्र्याउनका लागि पनि युरोप तथा अमेरिकामा सिधा उडान गर्नु आवश्यक छ । यसो भन्दैमा भारत र चीनमा कमी गर्ने भन्ने होइन । हामीले पर्यटक भित्र्याउने हो, पर्यटकको खानी कहाँ छ भनेर खोतल्ने हो । विकसित तथा धेरै आयस्रोत भएका मुलुकमा उडान भरेर त्यहाँका पर्यटक नेपाल भित्र्याउने हो । अहिले विश्वकै सबैभन्दा महँगो भाडा भएको देशमा नेपाल पनि पर्छ । त्यसो हुँदा मध्यम वर्गका पर्यटक नेपाल आउन सकेका छैनन् । हाम्रो उडानपश्चात भाडादर सस्तो हुनेछ, मध्यम वर्गका पर्यटक नेपाल आउन थाल्नेछन् ।

निगमसँग अबको केही वर्षमा एयरबस मात्र हुनेछन् । निगमले कम्तीमा वर्षमा एउटा भए पनि एयरबस थप्दै जानेछ । पुराना बोइङ लिलाम गर्नेछ । निगमले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँगको चालीस वर्षदेखिको सहयात्रा तोड्दै छ । योसँगै निगमले व्यवस्थापनमा रणनीतिक साझेदार भित्र्याउने कुरा पनि चलिरहेको छ । यसको पनि एक महिनाभित्रै टुंगो लाग्छ ।

पाइलटको व्यवस्थापन

निगममा धेरै सिनियर पाइलटले जागिर छोडिसकेका छन् । पाइलटलाई उत्साहित बनाउन भत्ता वृद्धि गर्ने तयारी भइसकेको छ । यसले निगमका पाइलटको आकर्षण बढाउनेछ । अहिले खरिद गर्न लागेको एयरबस नेपाल आउनासाथ सवा सयभन्दा बढी पाइलटको आवश्यकता पर्छ । यसका लागि नयाँ भर्ना लिने प्रक्रियासमेत भइसकेको छ । नयाँ एयरबसमा विदेशी पाइलट मात्रै हुनेछन् । हाल निगमसँग ७४ जनामात्र पाइलट छन् । अहिले ट्विनअटर चलाउनेले पछि एयरबस चलाउन पाउनेछन् । तर, पाइलटमा धैर्यता र इमान्दारिता हुन आवश्यक हुन्छ ।

ग्राउन्ड ह्यान्डलिङ

विश्वको हवाई इतिहास हेर्दा जुनसुकै देशमा राष्ट्रिय ध्वजावाहकले नै ग्राउन्ड ह्यान्डलिङ गरिरहेको हुन्छ । नेपालमा पनि सुरुदेखि नै निगमले ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ । यो प्रक्रिया अझै केही वर्षसम्म निरन्तर रहन्छ । कसैले ग्राउन्ड ह्यान्डलिङबाट निगमले पैसा धेरै असुली गरिरहेको भन्छ भने त्यसमा सत्यता छैन ।

निगम पनि एउटा व्यवसायी संस्था हो, सबै ठाउँमा घाटा सहने कुरा हुँदैन । हामीले ग्राउन्ड ह्यान्डलिङमा अन्य देशकोभन्दा बढी रकम लिएको जस्तो लाग्दैन । निगमले शुल्क बढी भए/ नभएको अनुसन्धान गरिरहेको छ । महँगो नै भएको ठहर भएमा घटाउँदै जानेछ ।निगमले ग्राउन्ड ह्यान्डलिङका लागि अन्तर्राष्ट्रिय गुणस्तर मापदन्ड पुर्‍याएर निकट भविष्यमै गुणस्तर चिन्ह ल्याउँछ ।

-उत्तम काप्रीसँगको कुराकानीमा अाधारित।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.