गरिमाको शाखा स्याङ्जाको विर्घामा
काठमाडौं: गरिमा विकास बैंकले स्याङ्जाको विर्घामा ३८ औं शाखा कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेले एक समारोहबीच बैंकको शाखा कार्यालय उद्घाटन गरेका थिए।
शाखा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले बैंकले गाउँ–गाउँमा शाखा विस्तार गरेकोका खुसी व्यक्त गरे । बैंकका अध्यक्ष दिलिपप्रताप खाँणले विर्घालाई केन्द्र बनाई कृष्णगण्डकी, विर्घा, आलमदेवीदेखि चण्डिभञ्ज्याङसम्म वित्तीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको उल्लेख गरे । उक्त शाखाबाट गुल्मी र पाल्पाका सेवाग्राहीसमेत लाभान्वित हुनेछन् ।
पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकमा तत्कालिन निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंक गाभिएपछि सशक्त बनेको हो । बैंकका राजधानीलगायत देशका विभिन्न ठाउँमा ३८ वटा शाखा सञ्चालित छन् । बैंकले काठमाडौंको लाजिम्पाट, चावहिल र कलंकी, कास्कीको तल्लो गगनगांैडा, रूपन्देहीको फर्साटिकर, मणिग्राम र खैरेनी, गुल्मीको तमघास र शान्तिपुर र कपिलवस्तुको चन्द्रौटामा आफ्नो शाखा विस्तार गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म करिब १३ अर्ब ३७ करोड निक्षेप संकलन गरी १२ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । यस अवधिमा बैंकले २५ करोड सात लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।