म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लियो
काठमाडौंः बोर्नमाउथलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा बोर्नमाउथलाई उसकै घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
खेलको २९ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सुन्य गोलको अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो गोल भने उपहार पाएको हो।
६९ औं मिनेटमा बोर्नमाउथका टाइरोन मिङ्गसले आत्मघाती गोल गरेपछि सिटी २–० को जित निकाल्न सफल भयो। जितपछि सिटी टोटनह्यामलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लियो।
दोस्रो स्थानमा उक्लिएको सिटीको २५ खेलबाट ५२ अंक भएको छ शीर्ष स्थानमा रहेको चेल्सीको समान खेलबाट ६० अंक छ। तेस्रो स्स्थानमा रहेको टोटनह्यामको समान खेलबाट ५० अंक छ।