साओमीको एमआइ ५ एस सार्वजनिक
काठमाडौं: साओमीले एमआइ सिरिजअन्तर्गत नेपाली बजारमा एमआइ ५ एस स्मार्टफोन सार्वजनिक गरेको छ।
विश्व बजारमा विभिन्न स्मार्टफोन र इलेक्ट्रोनिक सामानको डिजाइन, उत्पादन तथा प्रवद्र्धन गर्दै आएको साओमीले आफ्नो नयाँ उत्पादन एमआइ ५ एस बजारमा ल्याएको हो।
कम्पनीले नेपाली बजारमा रुचाइएको एमआइ ब्रान्डअन्तर्गत रेडमी ४ ए र मी सिरिजका मी ५ लाई परिमार्जित गरी एमआइ ५ एस बजारमा ल्याएको हो। नयाँ सुविधा र प्रविधि थप गरी बजारमा ल्याइएको एमआइ ५ एसमा ५.५ इन्चको डिस्प्ले रहेको छ।
क्वालकम स्न्यापड्रयागन ८२५ प्रयोग गरिएको स्मार्टफोन पूर्ण रूपमा मेटल वडिमा आधारित छ। ड्युल सिम, फोर जी, फिंगर प्रिन्ट सेन्सरजस्ता सुविधा रहेको स्मार्टफोनमा ३२ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ।
तीन जीबी र्याम र ६४ जीबी रोम रहेको एमआइ ५ एसमा १२ मेगापिक्सलको मुख्य क्यामरा र चार मेगापिक्सलको फ्रन्ट क्यामरा छ। यसको बजारमा मूल्य ४९ हजार नौ सय ९९ तोकिएको छ।
साथै कम्पनीले सस्तो मूल्यमा रेडमी ४ ए पनि सार्वजनिक गरेको छ। दुई जीबी र्याम र १६ जीबी रोममा आधारित उक्त स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ। ३१ सय २० एमएएच ब्याट्री रहेको रेडमी ४ एको बजार मूल्य १४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।