सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन : कानुन नमान्नेसँग सम्झौता नगर्नू
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी काम गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
मंगलबार दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री निधिले यस्तो निर्देशन दिएका हुन्।
हिजोमात्र नयाँ जिम्मेवारी पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए ।
सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि उनले तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । सुन तस्करी, लागु औषध एवम् सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी संहालेको नेतृत्वलाई निर्देशन दिएका छन्।
यसैबीच, गृहमन्त्री निधिले नागरिकता संशोधन सम्बन्धी विधेयक र विपद् व्यवस्थापन सम्बन्धी विधेयक ततल पेश गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्।
उनले विगतमा मधेशी मोर्चासँग भएको सहमति अनुसार मुद्दा फिर्ताको प्रकृया तत्काल टुङ्याउन पनि सचिव रेग्मीलाई निर्देशन दिए।