वीरगञ्जमा रेल दुर्घटना : सुख्खा बन्दरगाहको कामकाज प्रभावित
वीरगञ्ज : वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहामा रेल दुर्घटना हुँदा मंगलबार दिनभर मालवाहक रेलको आवागमन अवरुद्ध भएको छ । मंगलबार बिहान चार बजे बन्दरगाहाबाट खाली डिब्बाहरु लिएर भारत फर्कन लागेको रेल बन्दरगाहा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै दुर्घटनामा परेको हो ।
रेलको डिब्बाका चक्का लिकबाट बाहिर गएका कारण दुर्घटना भएको हो । दुर्घटनामा परेको रेल्वको डिब्बा लिकमा धसारिदा लिकमा रहेका २० वटा स्लिपर क्षतिग्रस्त भएका छन् ।
भारतबाट बन्दरगाहामा छिर्ने मुख्य प्रवेशद्वारमै रेल दुर्घटनामा परेका कारण मंगलबार भारतबाट एउटा पनि मालवाहक रेल बन्दरगाहामा आउन नसकेको बन्दरगाहा सञ्चालक हिमालयन टर्मिनल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए ।
यस्तै बन्दरगाहा परिसरमा पनि मालबाहक रेलका करिब दुई सय खाली डब्बा र कन्टेनरहरु थन्किएका छन् । रेलको डब्बा हटाउनका लागि भारतको नरकटीयागन्ज रेल्वे जक्सनबाट भारतीय रेल्वे कम्पनीको क्रेनसहितको प्राविधिक टोली मगाइएको छ ।
नरकटीयागञ्जबाट मंगलबार साँझ आएका प्राविधिकले दुर्घटनामा परेको रेलको डिब्बा हटाउनका लागि काम गरिरहेको र अवेर रातिसम्म मुख्य प्रवेशद्वारको अवरोध हटाइने प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए । अवरोध हटाइए लगत्तै बन्दगाहामा मालबाहक रेलको आवागमन सुचारु हुने उनले जानकारी दिए ।
सुख्खा बन्दरगाहमा दैनिक दुईदेखि तीन वटा मालबाहक रेल भारतबाट आउने गरेका छन् । एउटा मालवाहक रेलमा ९० वटा डिब्बा हुन्छन्।
गत आर्थिक वर्ष २०७२÷०७३ मा सिर्सिया सुख्खा बन्दरगाहामा माल सामान बोकेका सात सय नौ वटा मालबाहक रेल र ३० हजार ६ सय ८४ वटा कन्टेर आएको थियो ।
भारत तथा तेश्रो मुलुकका सामान भारतीय रेलमार्गमार्फत् सिर्सिया सुख्खा बन्दरगाहा नाका हुदै नेपालमा आयात हुने गरेको छ ।