नेपालको संविधान समावेशी प्रजातन्त्रमध्ये विश्वकै नमुना : परराष्ट्रमन्त्री महत

नेपालको संविधान समावेशी प्रजातन्त्रमध्ये विश्वकै नमुना : परराष्ट्रमन्त्री महत

काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले नेपालले शान्ति वार्ताबाट द्वन्द्वको समाधान गरी संविधान सभाबाटै निर्माण गरेको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमूना रहेको बताएका छन् ।

बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा मङ्गलबार ब्रसेल्समा आयोजित ‘नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रुपान्तरण’ विषयक अन्तरक्रियामा मन्त्री डा.महतले त्यस्तो बताएका हुन् ।

‘विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधानसभा मार्फत निर्माण गरेको संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक छ’ महतले भने ।

महतले नेपालले संसारममा नै उदाहरण दिन मिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेको बताए । ‘हामीले संविधानमा नै संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । त्यसैगरी राज्यका विभिन्न अंगमा समावेशिताका आधारमा सबै बर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व गराउने गरेका छौँ’ उनले भने ।

राज्यका नीतिहरुमा समाजमा पछि परेका महिला तथा समुदाय, दलित समुदाय, आदिवासी जनजाति, मधेशी, थारु तथा अल्पसंख्यकको हित प्रवर्धनको व्यवस्था गरिएको र यस्ता समुदायको आधिकारको रक्षागरी उनीहरुको उत्थानका लागि अलग्गै संवैधानिक आयोगहरुको पनि गठन गरिएको जानकारी पनि उनले दिए ।

नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश र संसदको सभामुखमा महिला रहेको बताउँदै भने ‘ नेपालको इतिहासमा राज्यका यी महत्वपूर्ण निकायमा यसरी महिलाको नेतृत्व प्राप्त भएको यो पहिलो घटना हो । त्यस्तै नेपालको इतिहासमा यो अवधिमा देशका नीति निर्माण लयागतका विभिन्न तहमा महिलाको प्रतिनिधित्वमा बृद्धि भइरहेको छ ।’

महतले समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तिकरणका लागि आवश्यक नीति र कार्यक्रमहरुको निर्माण गरेको जानकारी दिए ।

नेपाल सधैं शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रही हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मान गरेको भन्दै मन्त्री डा महतले भने ‘ नेपालको संविधानले प्रजातान्त्रिक मूल्य मान्यताका आधारमा नागरिक अधिकार, मौलिक हक, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र कानुनको शासनजस्ता विषयलाई प्रस्तावना तथा मौलिक हक अन्तर्गत नै राखेको छ ।’

महतले नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा राखे ।

नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व, समावेशीता तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उहाँले प्रजातन्त्र, कानुनी शासन, बहुलबाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट अन्तर्राष्ट्रिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको महतले बताए ।

मन्त्री डा.महतले नेपालको संविधान समावेशी र उत्कृष्ट हुदाहुदै पनि यसप्रति देखापरिरहेका असन्तुष्टिको सम्बोधन सरकारले गर्ने बताए । ‘यी असन्तुष्टिहरुलाई पनि यथोचित रुपमा सम्बोधन गरी आगामी निर्वाचनमा जाने तयारी सरकारले गरेको छ’ उनले भने ।

कहिले द्वन्द्व त कहिले राजनीतिक अस्थिरताजस्ता कारणहरुले गर्दा नेपाल आर्थिक विकासका रुपमा पछि परिरहेकोले नयाँ संविधानको निर्माणपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेकोले नेपालको विकास प्रयासमा सघाउन मन्त्री डा.महतले विश्व समुदायलाई पनि आग्रह गरे ।

नेपालको आर्थिक, सामाजिक र अन्य विविध क्षेत्रमा सहयोग पुर्‍याउदै आएको विश्व समुदायलाई विशेष धन्यवाद ज्ञापन गर्दै नेपाल यतिखेर आर्थिक विकास र रुपान्तरणको चरणमा रहेकोले सबैको सहयोग र सद्भावको आवश्यकता रहेकोमा महतले जोड दिए ।

परराष्ट्र मन्त्री डा महत शान्ति र मध्यस्थतासम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि गत शनिबार बेल्जियम पुगेका हुन् । उनले सोमबार बेल्जियमका बिदेशमन्त्री सँग भेटेका थिए । भेटमा नेपाल र बेल्जियबीच संयुक्त परामर्श संयन्त्र गठन गर्ने लगायत बिषयमा कुराकानी भएको थियो ।

युरोपेली कमिसनका अध्यक्ष जँ क्लाउडे जन्कर र युरोपेली युनियन (इयू) की विदेश नीति उच्चायुक्त फेडेरिका मोघेरिनी संग भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्रमन्त्रीले युरोपेली कमिसनका अध्यक्षसँग भेटवार्ता गर्न लागेको यो नै पहिलो अवसर हुने बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले बताए ।

मन्त्री महतले बेल्जियमका राजा फिलिपसँग संक्षिप्त भेट गर्नेछन् । महतले बेल्जियमका बिदेशमन्त्री डिडियर रेन्डर्ससंग द्विपक्षिय भेटवार्ता गर्नेछन् ।
इयुको लगानीमा नेपालमा संचालित परियोजना, पुर्ननिर्माण सहयोग शान्ति लगायत बिषयमा भ्रमणमा कुराकानी हुने भएको छ । भेटहरुमा मन्त्री महतले नेपालको शान्ति प्रक्रिया र संबिधान निर्माणमा इयुले दिंदै आएको सहयोगका लागि धन्यवाद दिनेछन् ।
युरोपेली युनियन नेपालको एक विकास साझेदारका रुपमा रहेको छ । उसले शुसाशन, शिक्षा, मानवअधिकार, लोकतन्त्र र शान्ति प्रक्रियाका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ ।

मन्त्री महत बेल्जियम भ्रमण सकेर लक्जेम्बर्ग जानेछन् । उनले त्यहाँका प्रधानमन्त्री जेभियर विट्टल, बिदेशमन्त्री जँ एसेलबर्न र विकास सहकार्यमन्त्री रोमेन सचेइन्डरसंग भेटवार्ता गर्ने भएका छन् । महतको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव भरत कुमार रेग्मी, उपसचिव तेज बहादुर क्षेत्री लगायत रहनेछन् । युरोप भ्रमण सकेर मन्त्री महत फागुन ७ गते स्वदेश फर्किनेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.