विषाक्त घरेलु मदिराको मार

विषाक्त घरेलु मदिराको मार

महोत्तरीः महोत्तरीको सहसौला ६ बिर्तामा असारको पहिलो साता विषाक्त घरेलु मदिरा पिएर एकै परिवारका पाँचजनाको ज्यान गयो । सहसौला ६ का ७० वर्षीय रामवृक्ष डोम, रामवृक्षका ३५ वर्षीय छोरा रामप्रकाश, गौशाला नगरपालिका ७ का उनका ज्वाइँ पञ्चा, छोरी (पञ्चाकी श्रीमती) ४० वर्षीया कलाबती र रामवृक्षका सम्धी औरही ३ का बद्रीको विषाक्त मदिरा पिएर ज्यान गएको थियो ।

रामवृक्षका नातिको विवाहको लागि उनलाई हेर्न जनकपुरको रामपुर कुवाबाट कुटुम्भ आएका थिए । त्यसै अवसरमा भेला भएका उनीहरूले स्थानीय विनोद महराको भट्टीमा मदिरा खाएका थिए ।

बर्दिबास नगरपालिका १ बस्ने कविता डोमका श्रीमान् परमेसर डोमको ३ महिना अघि २२ वर्षकै उमेरमा घरेलु मदिरा पिएर ज्यान गयो । परमेसरको ज्यान गएपछि कविता अहिले समस्यामा परेकी छन् । २१ वर्षकै उमेरमा कविता विधवा भइन् । उनले गाउँमा सरसफाइको काम गरेर सात वर्षीया छोरी सविता र अढाइ वर्षका दूधे बालक राजनको पालन पोषण गरिरहेकी छन् ।

काखे छोरा राजनलाई छोरी सविताको जिम्मा लगाएर गाउँमा सेफ्टीट्यांकी सरसफाइको काममा कविता खटिन्छिन् । सविता पनि स्कुल जान पाएकी छैनन् । सविताले भनिन्, ‘आमाको नागरिकता छैन । मेरो जन्म दर्ता छैन । स्कुलमा नाउँ लेखाउन जन्मदर्ता माग्छन् । कसरी जानु पढ्न? ' परमेसरको नागरिकता नभएकाले कविताको नागरिकता पनि बन्न सकेको छैन । कविताले छोराछोरीको जन्मदर्ता पनि गराउन सकेकी छैनन् ।

१५ वर्षकै उमेरदेखि घरेलु मदिरा खान थालेका नवटा सदा मुसहर अहिले जीवन मरणको दोसाँधमा छन् । बिरामी परेर नटवा पराले छाप्रोमा अचेत अवस्थामा पल्टेका छन् । उमेरले ४५ वर्ष पुगेका बर्दिबास नगरपालिका २ का नटवाले पाँच दिनअघि गाउँकै भट्टीमा घरेलु मदिरा पिएका थिए । कडा मदिरा खाएपछि उनलाई पखाला लाग्यो । परिवारले बर्दिबासको सरकारी अस्पतालमा उपचारका लागि लगे । त्यहाँ उनलाई १५ बोतल सलाइन चढाइयो । तीन दिनअघि अस्पतालबाट घर फर्केका उनी अर्धजीवित अवस्थामा छन् ।

यी घटना महोत्तरीमा घरेलु मदिरा सेवनका प्रतिनिधि घटना मात्रै हुन् । अवैध भट्टीमा उत्पादित विषाक्त मदिरा पिएर २०६५ सालयता महोत्तरीमा पाँच दर्जनभन्दा बढीको ज्यान गइसकेको विभिन्न तथ्यांकलले देखाएको छ ।

महोत्तरीमा सयभन्दा बढी अवैध मदिरा भट्टी सञ्चालनमा छन् । ती भट्टीबाट उत्पादित मदिरा सेवन गर्दा बर्सेनि मान्छे मर्ने क्रम जारी छ । स्थानीय प्रहरी, प्रशासनले ती अवैध मदिरा भट्टी बन्द गर्न तदारुकता नदेखाँउदा विषक्त मदिरा सेवन गरेर ज्यानै जाने घटना भइरेको स्थानीयले बताएका छन् ।

औरही बजारमा घरेलु मदिरा बिक्री गर्ने व्यापारिका अनुसार मदिरा सेवन गर्नेमध्ये कोहीले खुसी मनाउन, कोहीले दुःख भुलाउन तथा चाडवाड मनाउन पिउने गर्छन् ।

मदिरा स्वास्थ्यका लागि हानिकारक भए पनि मानिसले यसलाई धर्मको नाममा, भोजको बहानामा र साथीसँगको जमघटमा प्रयोग गर्ने गरेको पाइन्छ ।

मदिरा सेवनकै कारण धेरैजसो घरेलु तथा महिला हिंसाका घटना हुनेको गरेको मानवअधिकारकर्मी अजयकुमार साह बताउँछन् । उनका अनुसार सन् २०१६ मा महोत्तरीमा भएका विभिन्न घरेलु हिंसामध्ये ३३ वटा मादिरा सेवन गरेर भएका छन् ।

अवैध भट्टीमा उत्पादित विषाक्त मदिरा पिएर २०६५ सालयता महोत्तरीमा पाँच दर्जनभन्दा बढीको ज्यान गइसकेको विभिन्न तथ्यांकलले देखाएको छ ।

मदिरा पिउने व्यक्तिले आपराधिक क्रियाकलाप गर्ने र बढी जोखिम मोल्न तम्सने जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दीपक पोखरेलले बताए । ‘समान्य मान्छेले मदिरा पिएपछि अघिपछिभन्दा बढी जोखिम मोल्न मानसिक रूपमा तयार हुन्छ जसका कारणले विभिन्न आपराधिक घटना हुन्छन्', डीएसपी पोखरेलले भने, ‘रक्सी खाएपछि सवारी दुर्घटना, यौनजन्य अपराध हुन्छ ।'

उनले भने, ‘हामीले अवैध मदिरा उत्पादनमा रोक लगाएका छौं । बेलाबखत मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्ने अभियान पनि चलाएका छौं ।' सस्तो र सहजै गाउँमै पाइने घरेलु मदिराले ज्यानै जाने कयौं घटना भइरहेका छन् तर प्रहरी प्रशासन भनेर रमिते भएको छ । डोम, चमार, पासवान, बातर, डाँगरलगायत गरिब तथा विपन्न समुदायका मानिसले घरेलु मदिरा सेवन गर्ने गरेको पाइन्छ । गरिबीको रेखामुनि रहेका जिल्लाको तथ्यांकअनुसार महोत्तरी तेस्रो स्थानमा पर्छ । तथ्यांकअनुसार घरेलु मदिराको मारमा महोत्तरीका गरिब तथा विपन्न छन् ।

महोत्तरीमा वर्षौदेखि सञ्चालनमा रहेका अवैध मदिरा भट्टीको जालो भत्काउन स्थानीय प्रशासन असफल छ । मदिरा पिएर मान्छे मरेपछि केही दिन महोत्तरी प्रहरीले रक्सी उत्पादन गर्ने भट्टी भत्काउँछ । माहोल सेलाएपछि भत्काइएका रक्सी भट्टी पुनः त्यही ठाउँमा सञ्चालन हुने गर्छन् । जिल्लमा रक्सी खाए मान्छेको मृत्यु हुने घटना स्थानीयका लागि समान्य भइसेको छ । यस कारण पनि रक्सी पिएर मान्छे मरेका घटना प्रहरीसम्म पुग्दैन ।

जिल्लाको पडौल, सहसौला, गोनरपुरा, औरही, रामगोपालपुर, मझौराविष्णुपुर, गोवरौरा, महदैयातपुर, धबौली, मटिहानी, गौशाला, जलेश्वर, बर्दिबासलगायतका ठाउँमा मदिरा भट्टी संचालनमा रहेका छन् । मदिरा भट्टीबाट उत्पादित मदिरा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा खुलेआम बिक्री हुने गरेको छ ।

युरिया, खाध, सख्खर, प्लास्टिक, चप्पल, मोजा र अन्नपातलाई महिनौं दिनसम्म जमिनमुनि खाल्डो खनी गलाएर अखाद्यय पदार्थ मिसाई बनाइने मदिरा पिउनाले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ ।

पहिले नष्ट गरिएका अवैध मदिरा भट्टी सञ्चालकले स्थानीय प्रहरीचौकी, सशस्त्र प्रहरी र जिल्लाका प्रहरी युनिटसम्म महिनावारी रकम बुझाई पुनः भट्टी सञ्चालन गर्दै आएको स्रोतको दाबी छ ।

चिकित्सकका अनुसार घरेलु मदिरामा मिथाइल अल्कोहल हुन्छ जसले रगतमार्फत मष्तिस्क र आँखामा सोझै असर गर्छ । मदिरा सेवनकर्तामध्ये कतिपयको मष्तिस्कको कोष मरेर बेहोस भएको पाइएको छ । मदिरा सेवनले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । मदिराले शरीरका अंगमा क्यान्सर हुने, कलेजो सुन्निने, उच्च रक्तचाप हुने, मष्तिस्क घात हुनेजस्ता स्वास्थ्य समस्या ल्याउने बर्दिबास अस्पतालका जनस्वास्थ्य निरीक्षक मीनबहादुर सेन ठकुरीले बताए ।

जलेश्वरका स्थानीय राजनीतिककर्मी सुरेश पाण्डेले प्रशासनको लापरबाहीका कारण स्थानीय मदिरा उत्पादन, बिक्री वितरणमा नियन्त्रण हुन नसकेको बताए । उनले भने, ‘स्थानीय प्रशासनले तत्काल जिल्लाभरि सञ्चालनमा रहेका अवैध मदिरा भट्टी र त्यसको बिक्री वितरणमा रोक लगाउनुपर्छ ।'

आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्यांकअनुसार धनुषामा छिरेश्वर डिस्टिलरी प्रालि, सांग्रिला डिस्टिलरी प्रालि, छिन्नमस्ता डिस्टिलरी प्रालि र धनुषा डिस्टिलरी प्रालिले मात्र मदिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रालिले हरिवनमा रक्सीको कच्चा पदार्थ स्प्रिट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ ।

यसबाहेक अन्यत्र उत्पादन हुने रक्सी धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छ । तर महोत्तरीमा वार्षिक करिब ३ करोडभन्दा माथिको नक्कली मदिरा उत्पादन र बिक्री वितरण हुने अनुमान छ । आन्तरिक राजस्व कार्यालय जनकपुरका अनुसार महोत्तरीमा १३ वटा थोक वितरक र १ सय ६५ वटा खुद्रा मदिरा पसल दर्ता भएका छन् ।

अन्तः शुल्क ऐन २०५५ मा बिनाइजाजत मदिरा उत्पादन तथा बिक्री गर्ने व्यक्तिको बिगो जफत गरी जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्राबधान छ । यो प्राबधान लागू नहुँदा लाखौं राजस्व बुझाउने वैद्य मदिराको कारोबारसमेत घटेको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.