उपत्यकामा धारा माग बढ्दो

उपत्यकामा धारा माग बढ्दो

सुर्खेतः सुर्खेत उपत्यकामा आउँदो असार महिनाभित्र करिब पाँच हजार नयाँ धारा थप हुने भएका छन् । उपत्यकामा वर्षेनी खानेपानीको संकट बढ्दै जाँदा नयाँ धाराको संख्या पनि थप हुन लागेको हो । एक वर्षअघि नयाँ धाराको लागि निवेदन दिएका उपभोक्ताले आउँदो असारभित्र धारा पाउने भएका हुन् ।

उपत्यकामा खानेपानी आपूर्ति गर्दै आइरहेको झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निवेदन दिएका सबै उपभोक्ताको घरमा धारा जडान गर्ने तयारी गरेको छ । संस्थाका अनुसार आगामी असार मसान्तसम्म सबै नयाँ धारा जडान गरिनेछ । अघिल्लो वर्ष नयाँ धाराका लागि संस्थामा चार हजार पाँच सय उपभोक्ताले निवेदन दिएका थिए । निवेदन दिने सबै उपभोक्ताले असारभित्र धारा पाउने संस्थाले जनाएको छ ।

खानेपानीको संकट रहेका कारण धारा जडानमा ढिलाइ भएको भन्दै संस्थाले खरी र बोरीखोला आयोजनाको पानी थप हुने भएपछि नयाँ धारा जडानको प्रक्रिया सुरु भएको संस्थाको भनाइ छ । जनसंख्या वृद्धिसँगै उपत्यकामा घरधुरी बढेको र सोही अनुसार नयाँ धाराको पनि माग बढ्दै गएको छ । संस्थाले नयाँ धाराका लागि अघिल्लो वर्ष आवेदन संकलन गरेको भए पनि त्यसपछि आवेदन खुला गरेको छैन । पानीको स्रोतअनुसार धाराको संख्या थप गरिने संस्थाले जानकारी दिएको छ । नयाँ धारा जडानका लागि गत वर्ष आवदेन दिएका सबै उपभाक्ताको नाममा जडान गर्न नामावली प्रकाशन गरिएको भन्दै संस्थाले हाल धारा जडानको कार्य चलिरहेको जनाएको हो ।

हाल उपत्यकामा १२ हजार पाँच सय धारा जडान भएका छन् । अब नयाँ धारा जडान भएपछि उपत्यकामा १७ हजार धारा हुनेछन् । आवेदन दिएकामध्ये हालसम्म एक हजार पाँच सय नयाँ धारा जडान भइसकेको र बाँकी तीन हजार जति धारा पनि असार मसान्तसम्म जडान गर्ने लक्ष्यसहित काम भइरहेको संस्थाका इन्जिनियर डम्बर गौतमले बताए ।

उपभोक्ताले गतवर्ष नै नयाँ धारा जडानको लागि प्रतिधारा १५ हजार रुपैयाँ संस्थालाई अग्रिम शुल्क बुझाएका थिए । नामावली प्रकाशित भएका उपभोक्ताले धारा जडानका लागि मुख्य लाइनमा जीआइपाइप भएको ठाउँमा एक हजार रुपैयाँ र एचडीभी पाइप भएको ठाउँमा पाँचसय रुपैयाँ जडान शुल्क तिरेपछि धारा जडान गरिने इन्जिनियर गौतमको भनाइ छ । उपभोक्ताले धारा जडान गर्ने बित्तिकै धारामा पानी वितरण गरिनेछ । हालसम्म नयाँ जडान भएका धाराहरुमा पनि पानी उपलब्ध गराइएको संस्थाले बताएको छ ।

गत वर्ष ६० घन्टामा एकचोटि पानी भर्नको लागि पालो कुरेका वीरेन्द्रनगरवासीले यसपटक त्योभन्दा धेरै अभाव खेप्नुपर्ने देखिएको छ । पुरानै हालतमा त सुख्खा मौसममा पानीको अभाव भएको उपत्यकामा यसवर्ष झन् नयाँ धारा जडानका कारण पानीको अभाव झन बढ्ने सम्भावना देखिएको छ । उपत्यकाको खोनपानी समस्या समाधानका लागि हेरिएको खरीखोला र बोरीखोलाको पानी यसवर्ष पनि सुख्खा मौसममा आउनेमा निश्चित छैन ।

‘खरी र बोरीको पानी आउँदा प्रतिसेकेन्ड ३० लिटर थप हुन्छ', उनले भने, ‘तर सुख्खा मौसमको बेला करैखोलासम्म त्यो पानी आउँने निश्चित छैन, खरी र बोरीको पानी फागुनभित्र नआएमा । गतवर्ष भन्दा यसवर्षको खडेरीमा उपत्यकामा पानीको अभाव बढी नै हुनसक्छ, खानेपानीको संकट टार्न वैकल्पिक स्रोतको जोहो गर्दैछौं ।'

संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार खरी र बोरीखोला आयोजनाको एक हजार सात सय मिटर जीआई पाइप जडान बाँकी रहेकाले उपत्यकामा पानीको मात्रा थप हुन समय लाग्ने भएको हो । फागुन मसान्तसम्म करैखोलासम्म पानी पुर्‍याउने लक्ष्य राखिए पनि आयोजनाको केही प्राविधिक काम बाँकी रहेकाले लक्ष्यभन्दा ढिलो हुनसक्ने अध्यक्ष देवकोटाको भनाइ छ । तर नयाँ जडान भएका धाराले खानेपानीको वितरणलाई भने खासै असर नपार्ने उनले दाबी गरे ।

हाल उपत्यकामा दैनिक एक करोड २७ लाख लिटर खानेपानीको माग छ भने आपूर्ति केवल ८५ लाख लिटरसम्म हुने गरेको छ । उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी ल्याउने तयारीमा संस्था जुटेको छ । यसको आवश्यक प्रक्रिया अगाडि बढाइएको अध्यक्ष देवकोटाले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.