दार्जीलिङबाट अलग्गियो कालिम्पोङ, छुट्टै जिल्लाको घोषणा
विर्तामोडः 'टेक केयर अफ माइ न्यु बर्न बेबी' भन्दै भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालभाषी गोर्खाली बाहुल्य रहेको पश्चिम बंगालको पहाडि इलाका कालिम्पोङ नयाँ जिल्ला घोषणा गरेकी छिन् । उनले मंगलबार कालिम्पोङमा आयोजित एक समारोहमा उक्त घोषणा गरिकी हुन् ।
दार्जीलिङ जिल्लाको एउटा महत्वपूर्ण भाग रहेको कालिम्पोङलाई नयाँ जिल्ला घोषणा गरिएपछि छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डको माग तुहिने हो कि भन्ने आशंका कतिपयले गर्न थालेका छन् । कालिम्पोङ अब पश्चिम बंगालको २१ औं जिल्ला भएको छ ।
जिल्ला घोषणा कार्यक्रममा मुख्यमन्त्री बेनर्जीले कालिम्पोङका जनतालाई सुविधाका लागि जिल्ला बनाइएको बताइन् । उनले भनिन्, 'तपाईंहरु सानो कामका लागि पनि दार्जीलिङ जानुपर्थ्यो । त्यही असुविधा नहोस् भनेर नयाँ जिल्ला बनाइएको हो ।'
कालिम्पोङलाई जिल्ला बनाउने कुरा १४ महिना अघि राज्यको मन्त्री मण्डलले पारित गरेको थियो । राज्य विधानसभाका सदस्य हर्कबहादुर क्षेत्रीले राज्य सरकारले गरेको निर्णय प्रशंसनीय भएको बताएका छन् । कालिम्पोङ जिल्ला भएपछि दार्जीलिङ अब साँघुरिएको छ ।