प्रजनन् केन्द्रमा गिद्धले ८ चल्ला कोरल्यो
पोखराः लोपोन्मुख पन्छी गिद्धको संख्या बढाउने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध प्रजनन् केन्द्रमा हुर्किएका गिद्धले ८ चल्ला कोरलेपछि संरक्षणकर्मी माझ खुसीयाली छाएको छ । दस वर्षदेखि कसरामा विश्वमै लोपोन्मुख गिद्धको संख्या बढाउने उद्देश्यले गिद्ध प्रजनन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
सन् २००८ देखि २०१० सम्म विभिन्न जिल्लाका गुँडबाट गिद्धका बच्चा ल्याएर कसरामा प्रजनन् गराउन सुरु गरिएको थियो । २०१२ मा पहिलोपटक प्रजनन् केन्द्रका गिद्धले अन्डा पारेको थियो । प्रजनन् केन्द्रमा सन् २०१३ मा पहिलोपटक एउटा बच्चा कोरल्न सफल भएको नेपाल पन्छी संरक्षण संघ (बीसीएन) का कार्यकारी अधिकृत नरेन्द्रबाबु प्रधानले बताए । त्यो बच्चा अहिले हुर्किरहेको छ ।
सन् २०१४ मा गिद्धले प्रजनन् केन्द्रमा कुनै पनि बच्चा कोरल्न सकेको थिएन २०१५ मा एउटा बच्चा कोरल्न सफल भए पनि मरेको थियो । २०१६ को अन्तिम महिनामा ८ अन्डा पार्न सफल भई २०१७ को फेब्रोवरी महिनादेखि चल्ला कोरल्न थालेकामा अहिलेसम्मकै धेरै संख्यामा आइतबारसम्म ८ वटा चल्ला कोरलेको छ । यसले लोपोन्मुख गिद्धको संख्या बढाउन ठूलो मद्दत पुग्ने भएकाले संरक्षणकर्मीमाझ खुसी छाएको हो ।
गिद्धको संख्या बढाएर प्राकृतिक बासस्थानमा छोड्ने उद्देश्यले सञ्चालित प्रजनन् केन्द्रमा अहिले दुईवटा खोरमा २५ भाले २५ पोथी छन् । १३ वटा पोथी गिद्ध ओथारो बसिरहेको सहित ५७ गिद्ध रहेको बीसिएनका गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए । एउटा खोरमा एउटा भाले र एउटा पोथी राख्नुपर्नेमा सुरुका दिनमा जंगलबाट ल्याउँदा भालेपोथी छुट्याउन समस्या परेको भुसालले बताए । गत दुई वर्षदेखि भाले र पोथी मिलाएर जोडी राख्न थालेपछि सफलता मिल्दै गएको केन्द्रले बताएको छ ।
पछिल्लो समयमा प्राकृतिक बासस्थानमा पनि गिद्ध घट्ने क्रम रोकिएकाले नेपालमा गिद्ध संरक्षणको प्रयास प्रभावकारी हुँदै गएको संरक्षणकर्मी डा. हुमबहादुर गुरुङले बताए । प्रजनन् केन्द्रमा राखिएका गिद्धले पनि सफलताका साथ अन्डा कोरल्न थालेपछि गिद्ध संरक्षणको काममा सफलता मिल्दै गएको बीसिएनका पूर्वकार्यकारी अधिकृतसमेत रहेका गुरुङले बताए ।
केन्द्रमा यसरी हुर्कने गिद्धलाई पुनः प्राकृतिक बासस्थानमा छाडिने भएकोले नेपालमा गिद्धको संख्या बढ्ने विश्वास गरिएको छ ।सन् १९९० को दर्शकमा दक्षिण एसियामा करोडौं र नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध घटेर अहिले हजारमा सीमित भएको विज्ञहरू बताउँछन् । नेपालमा सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट गिद्धको संख्या ९१ प्रतिशतले घटेको पाइएको थियो ।
नेपालमा ठूलो संख्यामा गिद्ध घटेपछि सिनो खाएर वातावरण स्वच्छ राख्न मद्दत गर्ने गिद्धको संख्या बढाउन विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र नेपाल पन्छी संरक्षण संघ (बीसीएन) को सक्रियतामा प्रजनन् केन्द्र सञ्चालनमा आएको हो ।
दक्षिण एसियामा गिद्धको संख्यामा अप्राकृतिक ढंगले ह्रास आउनुको मुख्या कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक रहेको वैज्ञानिकहरूले पत्तालगाएपछि सरकोले २०६३ जेठ २३ देखि यो औषधि प्रतिबन्ध लगाएको छ । यसको विकल्पमा चराचुरुंगी र वन्यजन्तुलाई असर नगर्ने मेलोक्सिक्याम उत्पादन र प्रयोगमा आएको छ । नेपालमा गिद्धलाई सुरक्षित आहारा उपलब्ध गराउने उद्देश्यले विभिन्न जिल्लामा गिद्धका लागि जटायु रेस्टुरेन्ट पनि सञ्चालनमा आएकाले पनि गिद्ध संरक्षणमा थप मद्दत मिलेको बीसीएनका गिद्ध संरक्षण अधिकृत भुसालले बताए । गिद्धको सामान्य आयु ४० वर्ष हुने बताइएको छ ।