विप्लव निकट विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए
दमक : नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोक्न माग गर्दै दमक बुहमुखी क्याम्पसका प्रमुख उत्तम भट्टराईको कुर्सी जलाएका छन् ।
विप्लव माओवादीका विद्यार्थीले कुर्सी जलाएपछि अखिल क्रान्तिकारीका नेताले भने कुर्सी जलाउनेलाई कारबाही नगरे आफैँ कारबाही गर्ने चेतावनी दिएका छन्।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रवि बस्नेतले भने, ‘क्याम्पस प्रमुखको कुर्सी जलाउनेलाई कारबाही गर्न नसके हामी आफैँ कारबाही गर्छौँ ।’
सँगै तीन विद्यार्थी संगठनले दमक बहुमुखी क्याम्पसमा लगाएको ताला पाँच विद्यार्थी संगठनले तोडेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक माग गर्दै नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायत विद्यार्थी संगठनले क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति र स्ववियु निर्वाचन समितिमा लगाएको ताला नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, वैद्य नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियनले ताला तोडेको हो ।
बाहिरका विद्यार्थी क्याम्पस परिसरमा पसेर निर्वाचन भड्काउन खोजेको नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति मिन्टु दुलालले बताए । अनेरास्ववियुका सन्तोष दुलालले गैर विद्यार्थीको प्रवेश रोक्नका लागि पनि ताला तोड्नु परेको बताए ।
विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण फागुन १ गते प्रकाशित हुनुपर्ने मतदाता नामवली समेत प्रकाशन हुन सकेको छैन् ।