स्ववियु चुनावको सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि सबै किसिमका सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
फागुन १४ गतेका लागि निर्धारण गरिएको स्ववियु चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका बिषयमा छलफल गर्न बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन्।
छलफलमा सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखको उपस्थिति थियो ।
गृहमन्त्री निधिले स्ववियु चुनाव गर्ने बिषयमा राजनीतिक तहमा छलफल भएको उल्लेख गर्दै मधेशी मोर्चाका नेतासँग समेत यस बिषयमा पर्याप्त छलफल भएको जानकारी गराएका छन्।
छलफल कार्यक्रममा केही क्याम्पस प्रमुखहरुले सुरक्षा चुनौती रहेको भन्दै केही दिन पर सारेर जानु पर्ने सुझाव राखेका थिए । तर, गृहमन्त्री निधिले भने तोकिएको चुनाव सार्नु राजनीतिक र शैक्षिक हिसाबले पनि उपयुक्त नहुने भन्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले तोकिएको मितिमै चुनाव गराउनु पर्ने धारणा राखेका छन्।