संशोधन प्रस्तावमा ओली लचक
काठमाडौः प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् ।
बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यस्तो संकेत दिएको एक पोलिटब्युरो सदस्यले अन्नपूर्णसँग जानकारी दिए । एमालेले संविधान संशोधन प्रस्ताव पेस हुनै नदिने अडान राख्दै आएको छ ।
संशोधन प्रस्तावमा दुई तिहाइ बहुमत नपुग्ने पक्कापक्की भएपछि एमालेले यसलाई छलफलमा ल्याउन दिने भन्दै लचकता अपनाउन थालेको थियो ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच बुधबार बिहान भएको बैठकमा संविधान कार्यान्वयनका लागि निर्वाचन अत्यावश्यक भएकोमा जोड दिँदै स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकसाथ अघि बढाउन सहमति जनाएका छौं', ओलीको भनाइ उद्धृत गर्दै स्रोतले अन्नपूर्णसँग भन्यो ।
एमाले र मधेसी मोर्चाबीच केही दिनयता भएका छलफलपछि एमाले मोर्चाका मागमा लचक हुँदै गएको देखिएको छ । पोलिटब्युरो बैठकमा ओलीले भनेका थिए, ‘प्रधानमन्त्री दाहालले बिहीबार मधेसी मोर्चासँग वार्ता गर्ने र उनीहरू निर्वाचनमा सहभागी हुन नमाने पनि चुनाव मिति घोषणा गरेर जाने सहमति आफूहरूबीच भएको छ ।'
वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले ओलीलाई उद्धृत गर्दै भने, ‘ स्थानीय निर्वाचन र संविधान संशोधन एकसाथ जान एमाले तयार भए पनि मोर्चा निर्वाचनमा आउने संकेत देखिँदैन । मोर्चा निर्वाचनमा आउने जिम्मेवारी कसले लिन्छ भन्ने ओलीको प्रश्नमा प्रधानमन्त्री दाहालले मोर्चालाई निर्वाचनमा ल्याउने जिम्मेवारी आफूले लिने बताएपछि वातावरण सहज बनेको थियो ।'
निर्वाचन आयोगले दुई चरणमा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको जानकारी समेत पोलिटब्युरो बैठकमा ओलीले दिएका थिए ।
नयाँ वर्ष २०७४ निर्वाचन वर्ष हुने पनि ओलीले बताए । उनले पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने, ‘नयाँ वर्ष २०७४ निर्वाचन वर्ष हुनेछ ।'
डेढ वर्षअघि घोषणा भएको संविधान कार्यान्वयनका लागि आगामी माघ ७ भित्र स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन भइसक्नुपर्ने संवैधानिक प्रावधान छ । वैशाखमा स्थानीय तह र त्यसपछि प्रान्तीय हुँदै केन्द्रीय संसद्को निर्वाचन गर्नैपर्नेमा उनले जोड दिए ।
ओलीले भने, ‘वर्तमान सरकारले निर्वाचन गर्न सक्दैन भने बाटो खुला गरोस्, एमाले तयार छ ।'
दुई चरणमा निर्वाचन ः प्रमुख आयुक्त
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलबीचको छलफलका आधारमा आफूले आगामी साता स्थानीय निर्वाचनका लागि मिति घोषणा गर्न लागेको बताएका छन् ।
निर्वाचनबारे आयोग तथा सरकारको तयारीसम्बन्धी परामर्शमा आएका प्रमुख निर्वाचन आयुुक्त अयोधिप्रसाद यादवसँगको छलफलमा प्रधानमन्त्री दाहालले निर्वाचन मितिबारे यस्तो धारणा व्यक्त गरेको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।
बालुवाटार छलफलमा प्रधानमन्त्री दाहालले प्रजातन्त्र दिवसका अवसरमा आगामी जेठमा स्थानीय निर्वाचन घोषाण गर्ने जानकारी प्रमुख निर्वाचन आयुक्तलाई दिएका थिए ।
प्रमुख आयुक्त यादवले भने आयोगले स्थानीय निर्वाचन दुई चरणमा गर्ने गरी गृहकार्य गरिरहेको र त्यसैअनुसार मिति घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउन आफूले संशोधन प्रस्तावलाई निर्णयमा पुर्याउन एमालेसँग सकारात्मक छलफल गरिरहेको जानकारी समेत प्रमुख निर्वाचन आयुक्तलाई दिएका थिए ।
स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने पाँचवटा विधेयकमध्ये राजनीतिक दल दर्तासम्बन्धी विधेयकको थ्रेस होल्डलगायतका केही प्रावधानका कारण राज्यव्यवस्था समितिमा विचाराधीन छ ।
चुनाव मिति घोषणाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालबीच छलफल भएको थियो ।
यसपछि एमाले अध्यक्ष र प्रधानमन्त्रीबीच बालुवाटारमा नै परामर्श भएको थियो । मंगलबार साँझ प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छुट्टै कुराकानी भएपछि प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्तामा संशोधनमा एमाले लचक भएको थियो ।