जुन दिनबाट सुरु भयो अछामको दुर्गति

 जुन दिनबाट सुरु भयो अछामको दुर्गति

मंगलसेनः तात्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो आक्रमण मानिएको अछाम आक्रमणको बुधबार १५ वर्ष पूरा भएको छ । अछाम र २०५८ फागुन ४ गते राति जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो ।

आक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए भने ध्वस्त बनेको १५ वर्ष र पुनर्निर्माण सुरु भएको आठ वर्षसम्म पनि दरबार निर्माणको काम अधुरै रहँदा त्यहाँ पुग्ने जो कोही खिन्न मन लिएर फर्कन्छन् । पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भनी काम थालिए पनि जिम्मा लिने ठेकेदारको लापरबाहीले दरबार अझैँ अधुरै छ । आवश्यक काठको अभाव देखाउँदै ठेकेदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ भने यसै कारणले दरबार पुनर्निर्माण कार्य अनिश्चित बनेको छ ।

अछाम दरबारमा सुरुमा जिल्ला प्रशासन कार्यालय, तात्कालीन जिल्ला पञ्चायत कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालतलगायतका कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने त्यहाँ जिल्ला प्रशासन कार्यालय मात्र सञ्चालमा थियो । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए । पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो । क्याप्टेनसहित तात्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म सखाप भयो । क्याप्टेनसहित ५३ जना सेना मारिए । ५९ प्रहरी, निजामतीका दुई र सर्वसाधारण आठ गरी मंगलसेनमा एक सय २२ को ज्यान गएको थियो । माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गरेको थियो । विमानस्थल सुरक्षा गार्ड साँफेबगरमा कार्यरत २७ जना प्रहरी पनि त्यसै रात मारिए ।

राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालीका र कुँवर गरी पाँचवटा निर्माण कम्पनीले दुई करोड २५ लाखमा दरबार निर्माणको ठेक्का लिएका थिए । सुरुमा मीनबहादुर कुँवरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरियो । हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएको छ । जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माणमा तोकिएको समय सीमा नाघेमा जिल्ला पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जना तिराए पनि दरबार राष्ट्रिय महत्ववको क्षेत्र भएकाले हालसम्म हर्जना तिराइएको छैन । पुरानै संरचनाअनुसार दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक सालको काठ सजिलै उपलब्ध नहुँने भएकाले दरबार निर्माणको काम ढिलो भएको बहाना सुनाउँछन् निर्माणको जिम्मा लिएका साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद ।

जिल्लाबाट ठूलो परिणाममा बर्सेनि सालको काठ जिल्लाबाहिर निकासी भइरहे पनि दरबारका लागि काठ उपलब्ध नभएको भन्ने ठेकेदारको जवाफप्रति विश्वस्त हुने ठाउँ भने छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोजले २०६९ सालमा निर्माणसम्बन्धी सम्पूर्ण फाइल लगेर अनुसन्धान गरिरहेको छ । ऐतिहासिक दरबार निर्माणको कार्य रोकिनु दुखद् भएको बताउँछन् तात्कालीन अछामी राजाका सन्तानमध्येका वीरेन्द्रबहादुर शाह । १५ वर्षअघिको त्यो रात सम्झँदै मंगलसेनवासी अहिले पनि भक्कानिन्छन् । कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका अछामीका काला दिन त्यही घटनाबाट सुरु भए । भएभरका सरकारी संरचना नष्ट भए । भयावह मानवीय क्षति भयो । जायजेथा सबै गुम्यो । बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटेर लिए । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । अछाम पूरै तहसनहस भयो ।

पहुँच पुर्‍याउन सक्ने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाएका छैनन् । ‘द्वन्द्वकालमा विस्थापित भएर भारत पसियो, पछि आउँदा बैंकले जम्मा गरेको रकम दिन मानेन', बर्दादेवी १ का लोगबहादुर कुँवरले भने, ‘राष्ट्रिय वाणिज्य बैंकमा मुद्दती खातामा राखेको ६० हजार रुपैयाँ अहिलेसम्म फिर्ता पाएको छैन । जग्गाधनी प्रमाणपुर्जा नभएकाले बैंकसँग कारोबार गर्न पाएको छैन ।'

बडीमालिका, खप्तड र रामारोशनको केन्द्र भागमा पर्ने साँफेबगर एयरपोर्ट अझै सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रकै आर्थिक, सामाजिकसँगै पर्यटन विकासमा बाधा पुगेको स्थानीय बासिन्दा बताउँछन् । सँगै मिलेका कार्यालय र बीचमा ऐतिहासिक मंगलसेन दरबार सुन्दर र सहज थियो अछाम सदरमुकाम ।

आक्रमणपछि सबै तहसनहस भयो । १५ वर्षको अवधिमा मंगलसेनको भौतिक स्वरूप फेरिए पनि नागरिकलाई भने सास्ती थपिएको छ । बजारभन्दा एक घन्टामाथि ठाडो डाँडामा अधिकांश सरकारी कार्यालयका नयाँ भवनहरू निर्माण भएका छन् । शिक्षा कार्यालयबाट प्रशासन पुग्न घन्टौं हिँड्नुपर्ने अवस्थाबाट सर्वसाधारण आक्रोशित छन् । मुख्य आकर्षणका रूपमा रहेको दरबारको पुनर्निर्माण अलपत्र छ । साँफेबगरबाट विस्थापित कार्यालय पुनः स्थापित हुन सकेका छैनन् ।

भएभरका सरकारी संरचना नष्ट भए । भयावह मानवीय क्षति भयो । जायजेथा सबै गुम्यो । बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटे । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । अछाम पूरै तहसनहस भयो । पहुँच पुर्‍याउन सक्ने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाएका छैनन् ।

अछाम आक्रमण नै अछाम र अछामीको प्रगतिको लागि प्रमुख बाधक बनेको बताउँछन् अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगाना । घटनापछि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा महत्वव राख्ने अधिकांश मानिस विस्थापित भएर जिल्लाबाहिर गएकाले जिल्लाको सम्वृद्धि पछडि धकेलिएको उनको बुझाइ छ । आक्रमणपछि अछामले विशेष योजनामा प्राथमिकता नपाएको कतिपयको गुनासो छ ।

प्राप्त योजनामा समेत अनियमितता भएको अर्काथरीको आरोप छ । पुनर्निर्माणका क्रममा मंगलसेन भ्रष्टाचारको अखडा बनेको प्रमाण जिल्ला प्रशासन कार्यालयको चुहिने भवनले देखाउँछ । छत भत्किने डरले प्रजिअ कक्षको बीचबाट टेको दिएर अड्याइएको छ । अछामका अधिकांश निर्माण व्यवसायी ठेक्का हातपार्न मरिहत्ते गर्ने तर काम समयमै सम्पन्न गर्नतर्फ चासो नदिने समस्या व्याप्त छ । एउटै ठेकेदारले धेरै ठेक्का ओगट्ने तर समयमै निर्माण सम्पन्न गर्न नसक्ने कारणले नै जिल्लाका अधिकांश योजना निर्माणको काममा ढिलाइ हुने गरेको छ । जिल्ला पुनर्निर्माणअन्तर्गत नयाँ निर्माण भएका २२ वटा कार्यालयमध्ये १५ भन्दा बढी कार्यालय निकै ढिलो मात्र निर्माण सम्पन्न भएका छन् ।

अछाम सदरमुकाम ध्यवस्त भएपछि जिल्ला ५० वर्ष पछाडि धकेलिएको छ । अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तात्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहको पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको हो भन्ने इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको बताउँछन् अछामी इतिहासका जानकार सुरतबहादुर शाह । योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए ।

२०१४ सालअघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था रहेको इतिहास छ । तात्कालीन राजा महेन्द्र डोटी आउँदा अछामीले अछाममै मालपोत बुझाउन पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै दिलबहादुर बुढ्थापाको नेतृत्वमा गएकाहरूले राजाको घोडा रोकेपछि राजाले मालपोत बुझाउने व्यवस्था अछाममै गरेको पूर्वसांसद गोविन्दबहादुर शाह बताउँछन् । त्यो बेला तत्काल अछामको रिडिकोट बयलपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको शाह बताउँछन् । २०१८ सालमा ३३ जिल्लाबाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो । अछामको बीच भाग भएकाले केही समय सदरमुकाम कागालाउमा पनि बसेको थियो । पछि जिल्ला सदरमुकाम बयलपाटामा सार्ने निर्णय भए पनि दरबार भएकै कारणले मंगलसेनमा नै कायम भएको हो ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.