त्रिवि सेवा आयोगमा अख्तियारको छापा

त्रिवि सेवा आयोगमा अख्तियारको छापा

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा छापा मारेको छ । सेवा कार्यालय स्रोतका अनुसार अख्तियारको टोलीले त्रिविले विशेष आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि आह्वान गरेको उपप्राध्यापक पदका विभिन्न २२ वटा विषयको उत्तरपुस्तिका नियन्त्रणमा लिएको छ । अख्तियारबाट एक महिला र एक पुरुष बेलुका पाँच बजेतिर ‘केही कागजात अध्ययन गर्नु छ' भन्दै सेवा कार्यालय गएका थिए ।

कागजात अध्ययन गरिसकेपछि उनीहरूले ती विषयको उत्तरपुस्तिका तथा अन्य कागजात लिएर गएको त्रिविका एक कर्मचारीले बताए । अख्तियार टोलीले लगेको २२ वटा विषयका कागजातमध्ये १४ वटा विषयको लिखित परीक्षा र अन्तर्वार्ताको नतिजासमेत सार्वजनिक भइसकेको उनको भनाइ छ । यी विषयमा पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र, फिजिक्स, केमेस्ट्री, फुड टेक्नोलाजीलगायत छन् ।

लिखित परीक्षाको नतिजा सार्वजनिक भएर अन्तर्वार्ता हुन बाँकी आठ विषयको उत्तरपुस्तिका पनि अख्तियार टोलीले लगेको छ । त्यसमा नेपाली, गणित, विज्ञान, गणित, तथ्यांकशास्त्र, कानुनलगायत विषयका कागजपत्र छन् । यी सबै विषयका लागि गतवर्ष नै लिखित परीक्षा भए पनि गत साउनमा मात्र नतिजा सार्वजनिक भएको थियो । लिखित परीक्षाको उत्तरपुस्तिका र अन्तर्वार्तामा समेत नियमविपरीत परीक्षार्थी उत्तीर्ण गराएको उजुरीका आधारमा अख्तियारले छापा मारेको आशंका गरिएको छ ।

अख्तियारको टोलीले ‘केही कागजात अध्ययन गर्नु छ' भनेर लगेको त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले बताए । बुधबार त्रिविअन्तर्गतका सम्पूर्ण कार्यालय बिदा रहे पनि सेवा आयोगले भने पूर्वनिर्धारित तालिका भन्दै अन्तर्वार्ता सञ्चालन गरेको थियो । विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष सूर्यलाल अमात्यको निधन भएको शोकमा सम्पूर्ण क्याम्पस तथा कार्यालय बुधबार बन्द गरिएको थियो ।

अख्तियारले यसअघि पनि पटकपटक गरेर त्रिविमा क्याम्पस सम्बन्धनको नाममा आर्थिक चलखेल हुने गरेको उजुरीका आधारमा थुप्रै कागजपत्र नियन्त्रणमा लिएको थियो । गतवर्ष नै नियन्त्रणमा लिइएका ती कागजातमध्ये केही अझै फिर्ता गर्न बाँकी छ ।

त्रिविमा कर्मचारी तथा उपप्राध्यापकको खुला र आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गर्ने क्रममा आफन्त, नातोगाता र आर्थिक प्रलोभनका आधारमा उत्तीर्ण गराइएको गुनासो सार्वजनिक हुँदै आएको छ । यसपटक त्रिविले विभिन्न संकायका गरेर ६८ विषयमा विशेष आन्तरिक र खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक नियुक्ति गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.