एमालेले मैनालीलाई कारबाही गर्ने 

एमालेले मैनालीलाई कारबाही गर्ने 

काठमाडौः कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले हालै प्रकाशित पुस्तकमा आफ्नो बारेमा लेखेको कुरा झूटो भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएपछि एमालेले मैनालीलाई कारबाही गर्ने भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्युरो बैठकमा नेपालले पार्टीको केन्द्रीय सदस्यसमेत रहेका मैनालीले लेखेको पुस्तकमा उल्लिखित अंश झूटो, पूर्वाग्रह, बदनाम र तेजोवध गर्ने हिसाबले आएको भन्दै आपत्ति जनाएका थिए । मैनालीले हालै सार्वजनिक गरेको ‘नलेखिएको इतिहास' पुस्तकमा ०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालीन मालेको केन्द्रीय समिति बैठकमा नेपालले भारतका सेनाको सहयोगमा नेपालमा गणतन्त्र स्थापना गर्ने प्रस्ताव गरेको उल्लेख छ ।

‘त्यसबेलाका केन्द्रीय समितिका कामरेडहरू यहाँ हुनुहुन्छ, अध्यक्ष कामरेड पनि यहाँ हुनुहुन्छ । ल तपाईंहरू नै भन्नुस्, त्यसबेला मैले त्यस्तो प्रस्ताव कहिले ल्याएको थिएँ ? ', नेपालको भनाइ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने ।
त्यसपछि अध्यक्ष ओलीले जवाफमा मैनालीले पुस्तकमा उल्लेख गरेको माधव नेपालबारेको उक्त अंश झूट भएको र त्यस्तो कुनै प्रस्ताव नआएको भन्दै पार्टीले त्यसको औपचारिक खण्डन गर्ने र मैनालीलाई सचेत गराउने आश्वासन दिएका थिए । मैनाली ०५९ सालमा एमाले छाडेर तत्कालीन राजाको शाही कदमको समर्थनमा गएका थिए । उनी ०६१ मा ज्ञानेन्द्र शाहको सरकारमा मन्त्री भएका थिए । गणतन्त्र स्थापनापछि माओवादी प्रवेश गरेका मैनाली करिब एक वर्ष अघिमात्र एमालेमा फर्किएका थिए ।

बैठकले स्थानीय निर्वाचन जेठमा नभएमा अरू कुनै पनि निर्वाचन नहुने र देश संकटमा जाने निष्कर्ष निकालेको छ । बैठकमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले यस्तो चेतावनी दिएको एमालेका एक नेताले बताए । ‘जेठमा स्थानीय तहको निर्वाचन नभए आगामी माघभित्र प्रदेश सभा र संघीय संसद्को पनि निर्वाचन हुँदैन, अनि देश ठूलो संकटमा धकेलिन्छ', अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले बताए ।

बैठकमा १० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले तीनै तहको निर्वाचनका लागि अन्य दलसँग छलफल गरेर सरकारलाई दबाब दिन आवश्यक रहेको बताएका थिए । ‘संविधानले समेत निर्दिष्ट गरेबमोजिम २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकाय निर्वाचनको माध्यमबाट गठन गर्नु अनिवार्य छ, स्थानीय तह र केन्द्रीय तहका निर्वाचनका मिति अविलम्ब घोषणा गर्न त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्नुपर्छ', ओलीले बैठकमा भने ।


मैनालीको पुस्तकमा उल्लिखित अंश झूट, पूर्वाग्रह, बदनाम र तेजोवध गर्ने हिसाबले आएको भन्दै माधव नेपालद्वारा आपत्ति ।

अध्यक्ष ओलीले बुधबार पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकार परिवर्तनपछिका ६ महिना अवधि व्यर्थ सावित भएको उल्लेख छ । सरकार र सत्तरुढ दलको ध्यान निर्वाचनको तयारीमा नभई सत्ता लम्ब्याउने र विभिन्न शक्तिकेन्द्रलाई रिझाउने काममा केन्द्रित भएको उल्लेख छ ।

त्यसैगरी अहिलेको सरकारले बाह्य सम्बन्धमा पनि गम्भीर असन्तुलन पैदा गर्ने काम गरेको ओलीले आरोप लगाएका छन् । प्रतिवेदनमा राज्यका विभिन्न निकायमा जथाभावी राजनीतिक हस्ताक्षेप भएको, उच्च अदालका न्यायाधीश नियुक्तिमा सत्ता गठबन्धनको हस्तक्षेपकारी भूमिका भएको र पछिल्लो समय नेपाल प्रहरीभित्र पनि त्यस्तै भएको उल्लेख छ ।

बैठकमा फागुन २१ देखि सञ्चालन हुने मेची-महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजना, स्वतन्त्र विद्यार्थीको निर्वाचन र त्यसमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.