म्याराडोनाले किन कुटे प्रेमिकालाई
म्याड्रिडः रियल म्याड्रिडविरुद्ध बुधबार भएको युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगको खेलमा नापोलीको पाहुना बनेर म्याड्रिड पुगेका म्याराडोनाले होटेलमा प्रेमिकालाई पिटेका छन् । म्याराडोना आफ्नी प्रेमिका रोसियो ओलिभालाई लिएर बुधबार राति भएको खेल हेर्न मंगलबार नै म्याड्रिड पुगेका थिए । नापोलीका अध्यक्ष युरेलियो डी लउरेन्टिसको विशेष निमन्त्रणामा म्याराडोना रियलविरुद्धको खेलमा नापोलीका खेलाडीको हौसला बढाउन म्याड्रिड पुगेका थिए ।
नापोलीले म्याराडोना र उनकी प्रेमिका ओलिभालाई उत्तरी म्याड्रिडको युरोस्टार सुइट्समा राखेको थियो । मंगलबार अपराह्न ओलिभाले म्याराडोनासँग होटेलको स्पामा सँगै रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी थिइन् । तर, बुधबार बिहान ओलिभाले होटेलको रिसेप्सनमा म्याराडोनाले आफूलाई पिटेको भन्दै फोन गरेपछि प्रहरी पुगेको थियो । यद्यपि प्रहरीसामु झगडा परेको स्वीकार गरे पनि दुवैले रिपोर्ट गर्न नचाहेको भन्दै प्रहरी फर्किएको थियो ।
स्पेनी मेडियाले जनाएअनुसार म्याराडोनाले त्यसअघि म्याड्रिडमै पत्रकारमाथि पनि आक्रमण गरेका थिए । कोपका पत्रकार एञ्जेल गार्सियालाई अन्तर्वार्ता लिने प्रयास गर्दा म्याराडोनाले उनीमाथि आक्रमण गरेको जनाइएको छ । सन् १९८० देखि ९० को समयमा आफ्ना स्टार खेलाडी रहेका म्याराडोनालाई नापोलीले सम्मानस्वरूप महत्ववपूर्ण खेलका लागि लिएर गएको थियो ।
म्याराडोनाले नापोलीबाट रियल म्याड्रिडविरुद्ध पनि खेलेका थिए । सन् १९८७ मा युरोपियन कपअन्तर्गत भएको खेलमा रियल समग्रमा ३-१ ले विजयी बनेको थियो । यस पटक नापोलीलाई समर्थन गर्न १० हजार समर्थन म्याड्रिड पुगेका छन्, जुन क्लको इतिहासमै देश बाहिरको प्रतिस्पर्धामा यत्ति धेरै समर्थक पुगेको पहिलो अवसर हो ।