विद्यालयबाट बेपत्ता चार बालिका रक्सौल पुगेपछि...
सिमरा: विद्यालयमा अध्ययनरत साना बालबालिकालाई सोधिने औसत प्रश्न हो, ‘ठूलो भएपछि के बन्छौ ? ’ उनीहरूले दिने औसत जबाफ हुन्छ, ‘डाक्टर, पाइलट, इन्जिनियर र नर्स ।’ योभन्दा फरक जबाफ कमै बालबालिकाको होला । धनी बन्नुपर्छ भन्नेबारे धेरैजसो बालबालिकाले भन्ने गरेको त्यति सुनिँदैन । सिकाएको र सुनेको कुरा गर्ने कलिलो दिमागका बालबालिकाले सानो उमेरमै धनी बन्ने सपना देख्दा के होला ? पक्कै पनि परिणाम गलत निस्कन्छ । यस्तै भएको छ, बाराको सिमरामा ।
गत शुक्रबार सिमरा पब्लिक इङ्लिस स्कुलका कक्षा पाँचमा अध्ययनरत सिमराकी १० वर्षीया स्नेहा सिंह, ११ वर्षीया रविना श्रेष्ठ, जितपुरकी ११ वर्षीया रिया गुप्ता र उनकी ६ वर्षीया बहिनी पिहु गुप्ता अचानक बेपत्ता भए । विद्यालयबाट निस्किएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी सुरु भयो । अभिभावक आत्तिए । प्रहरी खोजीमा जुट्यो । विद्यालयका शिक्षक तनावमा देखिए । रातिसम्म नभेटिएपछि अपहरणको आशंकासमेत गरियो ।
चारजना बालिका बेपत्ता भएको घटना देशभर फैलियो । जिल्लाको प्रहरीले भारतका प्रहरीसँग समन्वय गरी खोजी सुरु ग¥यो । खोजीका क्रममा शनिबार बिहान उनीहरू भारतको सीतामढीमा फेला परे । अभिभावक र विद्यालयका शिक्षक पुगेर मंगलबार राति चारजनालाई सकुशल घर ल्याए । कसैले फकाएर भारत लगेको हुन सक्ने आशंका त्यतिखेर समाप्त भयो, जब उनीहरूले भारत पुग्नुको उद्देश्य सुनाए ।
‘यसरी गयौं हामी’
सानो उमेरमै धनी बन्ने र ठूलो मान्छे बन्ने सपनाले उनीहरूलाई भारत डोहो¥याएको रहेछ । दिल्लीको गोलबजारनजिकै रहेको झरनामा हीरा भेटिन्छ भन्ने सुनेका उनीहरू त्यही हीरा खोज्न भारत गएका रहेछन् । ‘एउटा साथीले भन्यो, त्यहाँ हीरा पाइन्छ, अनि हामी हीरा खोज्न दिल्ली जान लागेका थियौं’, १० वर्षीया स्नेहाले भनिन्, ‘तर हामीलाई बीच बाटोमै प्रहरीले रोक्यो, हामी जान पाएनौं ।’
वीरगन्जबाट दुई सय रुपैयाँ तिरेर रक्सौल पुगे। रिक्साचालकलाई बालिकाहरूले आफ्ना अभिभावक स्टेसनमा रहेको भन्दै झुटसमेत बोले।
हीरा खोज्न दिल्ली जाने सल्लाह स्नेहा र रबिनाबीच कक्षामै भएको थियो । रिया र पिहु सिमराबाट घर फर्कन लाग्दा जोडिएका थिए । रिया र पिहु सिमराबाट पढाइ सकेर सधैं सार्वजनिक यातायातमा जितपुरस्थित घर फर्कने गर्थे । कक्षामै सल्लाह भएअनुसार स्नेहा र रबिना सिमरा चोक पुगे अनि जिया र पिहु चढेकै भ्यानमा बसे ।
जितपुरमा ओर्लनुपर्ने रियालाई स्नेहा र रबिनाले वीरगन्ज गएर फर्कने कुरा सुनाए । सानी बहिनीलाई लिएर वीरगन्ज जान रिया पनि राजी भइन् । वीरगन्ज पुगेपछि रक्सौलमा रहेको रेलवे स्टेसनमा पुगेर रेल हेरेर फर्कने नयाँ योजना बनाए । वीरगन्जबाट उनीहरू दुई सय रुपैयाँ तिरेर रक्सौल पुगे । रिक्साचालकलाई उनीहरूले आफ्ना अभिभावक स्टेसनमा रहेको भन्दै झुट बोले ।
रक्सौल स्टेसन पुगेपछि स्नेहा र रबिनाले रियालाई आफूहरू दिल्ली जान लागेको र हीरा लिएर पाँच दिनमा फर्कने योजना सुनाए । सानी बहिनी पिहु साथमा लिएर हिँडेकी रिया पनि राजी भइन् । विद्यार्थीलाई रेलमा टिकट नलाग्ने कुरा स्नेहालाई थाहा रहेछ । स्कुल पोसाकमै रक्सौल पुगेका उनीहरूमध्ये रबिनासंग तीन सय, रियासँग ५० र स्नेहासँग १५ रुपैयाँ रहेछ ।
रेल जाने बाटोबारे स्नेहा अलि बढी जानकार थिइन् । स्नेहाकै सल्लाहमा बनेको योजनाअनुसार रक्सौलबाट दरभंगा जाने रेल चढे । दरभंगाबाट अर्को रेल चढेर दिल्ली जाने उनीहरूको सोच थियो । रक्सौलबाट रेल चढेको केही घन्टामा पिहु अस्वस्थ भइन् । पेट दुखेका कारण उनी रुन थालिन् । रेलमै चढेका अन्यले सोधपुछ गर्न थाले । सबैले अभिभावकबारे सोध्न थालेपछि एक व्यक्तिले आफूहरूलाई अपहरण गरेर ल्याएको झुटो कुरा उनीहरूले बताए ।‘पिहु रुन थालेपछि हामीलाई सबैले सोध्न थाले । हामीलाई अपहरण गरेर ल्याइएको भन्दै झुटो बोल्यौं’, स्नेहाले भनिन्, ‘अनि उहाँहरूले पुलिसलाई खबर गर्नुभयो र पुलिसले हामीलाई जनकरपुर रोडमा ओराल्यो । एक रात राखेर भोलिपल्ट सीतामढी पठायो ।’
सीतामढीस्थित चाइल्ड हेल्प केयरमा प्रहरीले बुझाएपछि रियाले आफ्नो बुबा शम्भुप्रसाद गुप्तासँग फोन सम्पर्क गरिन् । हेल्प केयरको संरक्षणमा सुरक्षित रहेको थाहा पाएपछि अभिभावक र विद्यालयका शिक्षक पुगेर उनीहरूलाई घर ल्याए । विद्यालयका शिक्षकले बुधबार पत्रकार सम्मेलन गरी बालबालिकाको अवस्था सार्वजनिक गरे ।
पत्रकार सम्मेलनमा स्नेहा, रबिना र रिया उपस्थित थिए । पिहु अस्वस्थ भएका कारण उपचारका लागि अस्पताल लगिएको थियो । अभिभावकसहित पत्रकार सम्मेलनमा आएका उनीहरूले धनी बन्न दिल्ली जान लागेको कुरा सुनाए । ‘झरना नेपालमा पनि थियो, हामीले पोखरामा पनि झरना छ भन्ने सुनेका थियाैं’, स्नेहाले भनिन्, ‘तर पोखरामा हीरा छ भन्ने सुनेका थिएनौं । त्यसैले दिल्लीको झरना खोज्न गएका थियौं । तर अहिले गल्ती गरेको महसुस भएको छ । अब त्यसरी जाँदैनौं ।’