नेपाली विमानमाथिको प्रतिबन्ध हटाउन युरोपेली युनियनसँग आग्रह
काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले युरोपेली युनियन (इयु) ले नेपाली विमानलाई युरोपेली आकाशमाथि उड्न लगाएको प्रतिबन्ध हटाउन युरोपेली कमिसनका अध्यक्षसँग आग्रह गरेका छन् ।
युरोपेली आयोगका अध्यक्ष जँ क्लाउड जंकरसँग बिहीबार ब्रसेल्समा भएको भेटवार्तामा महतले सो आग्रह गरेका हुन् ।
नेपालको उड्डयन अवस्था कमजोर रहेको तथा अन्तराष्ट्रिय उड्डयन सुरक्षा मापदण्डको पालना नेपालले नगरेको निष्कर्ष निकाल्दै सन् २०१३ डिसेम्बरदेखी इयुले नेपाली विमानलाई युरोपेली आकाशमाथि उड्न लगाएको प्रतिबन्ध लगाउँदै आएको छ।
इयुका अध्यक्ष जंकरले यो प्रावधानको आवश्यक अध्ययन गरी नेपाल सरकारले उपलब्ध गराउने तथ्यका आधारमा पुनर्विचार गर्ने आश्वासन दिएको ब्रसेल्सस्थित नेपाली दूतावासले विज्ञप्तिमा जनाएको छ ।
डा.महतले नेपालमा पूर्वाधार निर्माणका साथै भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग बढाउन युरोपियन युनियनलाई आग्रह गरेका थिए ।
युरोपमा नेपालको निर्यात प्रोत्साहन हुनेगरी बजारको पहुँच र थप सहुलियत, ठूला आयोजनाका साथै पूर्वाधारमा लगानी एवम् शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा थप सहयोगका लागि आग्रह गर्दै मन्त्री डा.महतले युरोपेली युनियनले लामो समयदेखि नेपालको विविध क्षेत्रमा गर्दै आएको आर्थिक लगायतको सहयोगका लागि धन्यवाद दिएका थिए ।
भेटका क्रममा मन्त्री डा.महतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै संविधानको कार्यान्वयन एवम् आगामी केही समयमा हुन लागेका निर्वाचनको बारेमा पनि जानकारी गराएका थिए ।
युरोपियन आयोगका अध्यक्ष जंकरले नेपालको विकास प्रयासमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताएका थिए । उनले आगामी दिनमा युरोपियन युनियनले गर्ने सहयोगका क्षेत्रको विस्तारका सम्भावना तथा सहयोगमा वृद्धि गर्ने प्रतिबद्धता जनाएको दूतावासले जनाएको छ ।
मन्त्री महतले इयुकी उपाध्यक्ष तथा विदेश नीति प्रमुख फेडेरिका मोघेरेनीसँग पनि भेटे । भेटमा मन्त्री महतले नेपाल सरकारले आगामी माघ महिनासम्म स्थानीय, प्रान्तीय र संसदीय निर्वाचन गर्न तयारी अघि बढाएको जानकारी गराए ।
विदेश नीति प्रमुख फेडेरिकाले नेपालको संविधान कार्यान्वयन, भूकम्प पछिको पुनर्निमाण र निर्वाचन प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।
मन्त्री महतल ब्रसेल्समा आयोजना भएको ‘राष्ट्रसंघीय हाइ लेभल कन्फ्रेन्स अन मेडिएसन’ मा मुख्य वक्ता थिए । उनले नेपालको शान्ति प्रक्रिया विश्वमै नमुना रहेको बताएका थिए ।
परराष्ट्र मन्त्री महत लक्जेम्बर्गमा
परराष्ट्र मन्त्री डा. महत बेल्जियम भ्रमण सकेर लक्जेम्बर्ग पुगेका छन् । उनले त्यहाँका प्रधानमन्त्री जेभियर विट्टल, विदेशमन्त्री जँ एसेलबर्न र विकास सहकार्यमन्त्री रोमेन सचेइन्डरसँग भेटवार्ता गर्ने दूतावासले जनाएको छ ।
महतको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव भरत कुमार रेग्मी, उपसचिव तेज बहादुर क्षेत्री लगायत छन् । युरोप भ्रमण सकेर मन्त्री महत शनिबार स्वदेश फर्किनेछन् ।