‘नेपालको इतिहासमा सिन्धुलीगढी’ पुस्तक सार्वजनिक
काठमाडौं : तत्कालीन अंग्रेज सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढी बारे अनुसन्धान गरिरहेका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ नामक पुस्तक बजारमा ल्याएका छन् ।
समृद्ध सिन्धुली अभियानले आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका संचालक सदस्य घनेन्द्र श्रेष्ठ, बोर्डका निमित्त निर्देशक सुनिल शर्मा, साइकल यात्री देवेन्द्र बस्नेत र डाउनहिल साइक्लिङकी नेपाल च्याम्पियन लक्ष्मी मगरले पुस्तक सार्वजनिक गरे ।
पुस्तकले सिन्धुलीगढीसँग सम्बन्धित महत्वपूर्ण पक्षलाई उजागर गरेको छ । पुस्तकमा सिन्धुलीगढी क्षेत्रको अस्तित्व र धार्मिक महत्वलाई उजागर गरिएको छ।
सिन्धुलीगढी क्षेत्र वरपर रहेको धार्मिक तथा पुरातात्विक महत्वका दुर्लभ सन्दर्भ पुस्तकमा प्रस्तुत गरिएकोछ । पुस्तकमा नेपाल एकीकरणको समयमा सिन्धुलीगढी क्षेत्रमा पृथ्वीनारायण शाहले निर्माण गरेको भद्रकाली मन्दिरलगायतका सन्दर्भ पुस्तकमा समेटिएका छन् ।
पुस्तकमा नेपालको एकीकरणमा बाधा अड्चन पुर्याउने अभियानमा आएका अंग्रेजी फौजसँगको गोर्खालीको युद्घको विस्तृत विवरण उपलब्ध छ ।