टहराभित्र समस्यै समस्या
आरुआर्बाङ (गोरखा): २०७२ वैशाख १२ को भूकम्पले भत्काएका घरको समयमै पुनर्निर्माण हुन नसक्दा पीडित लामो समयसम्म टहरोमै जीविका चलाउन बाध्य छन्।
धेरै पीडितमध्येकी एक आरुआर्बाङ ५ आर्बाङ गाउँकी वुद्धिमाया नगरकोटी पनि हुन् जो दुई वर्षदेखि त्रिपालमा बस्दैआएकी छन्। दुई वर्षअघि पाएको त्रिपालले बारेको होचो टहरो, झुत्रिसकेको टाट, पानी चुहिने, पाखेभल पसेर चिसो हुने भुइँ, चैतवैशाखमा बतास चल्दा घर जोगाउनै गाह्रो, गर्मीमा भित्र बस्नै नसक्ने गर्मी, तातोचिसो सहन नसक्दा निरन्तर बालबच्चा बिरामी हुने सकस उनको परिवारले खेपिरहेको छ।
‘गाउँघरमा त धेरै गाह्रो छ हजुर', वुद्धिमाया भन्छिन्,'धेरथोर अन्नपात हुन्छ, राख्ने कहाँ। परिबार ठूलै छ। सुत्ने बस्ने कहाँ ? पकाएर खाने कहाँ ? बालबच्चा पढ्न खोज्छन्। कहाँ पढ्ने ? पाहुनापासा आउँदा कहाँ सुताउने? ' परिबारले दुःखसुख पचाउन सके पनि पाहुनाका अघि लाजमर्दो भएको उनको दुखेसो छ।'हामी त बाहिर बारीको कुनामा पकाएर खान्थ्यौं', उनी भन्छिन्,'पाहुनापासा आउँदा पनि बाहिरै पकाएर खुवाउनुपर्छ। लाजमर्नु हुन्छ।'
गाउँको लघु जलविद्युत् भुइँचालोले भत्काइदिएपछि आरुआर्बाङ दुई वर्षदेखि टुकीकै भरमा छ। लामो समयदेखि सकसपूर्ण जीवन बिताइरहेको उनी सुनाउँछिन्।
पालभित्र ढोका नलगाई सुत्दा असुरक्षा हुने उनको अनुभव छ।'यस्तो पालमा ढोका हुँदैन', उनी भन्छिन्,'कतैकतै त चोर लागेको छ रे भन्ने पनि सुनिन्छ।
हुर्किएका छोरी सुत्नुपर्छ। घरमा ढोका छैन। नाक कानमा धेरथोर गहना छन्। अलिअलि भने पनि गोजीमा पैसा हुन्छ।' सुरक्षाका लागि पतिपत्नी सबैभन्दा छेउमा सुत्ने गरेको उनी सुनाउँछिन्।'स्याल, कुकुर, बिरालु नपसोस् भनेर अलिअलि प्लास्टिकका टुक्रा गाँठो पारेर छेकथुन गरेर राख्छु। छेउमा नानीको बाबु सुत्नुहुन्छ। नानीहरू खाटमा सुत्छन्', उनी भन्छिन्।
गाउँमा गएका प्राविधिकले उनको नाम पनि लाभग्राहीको सूचीमा छुटाएका थिए।'पछि अनेक गरेर पारेको हो', उनले भनिन्,'अब पैसा पाए घर थाल्ने भनेको, खै कहिले पो पाउने होला।'आम्दानीको स्थायी स्रोत नहुँदा दिनहुँ छाक टार्न उनलाई धौ छ।'आउने बाटो कतै केही छैन।
बूढाले अलिअलि ढुंगा माटोको काम गरेर ल्याएको कमाइले छाक टरिरहेको छ', उनले भनिन्। लाभग्राहीको सूचीमा र राहतमा पनि आफ्नो परिवार छुटेको उनले बताइन्। ६ सन्तानमध्ये उनका दुई छोरीले बिहे गरेर गए। दुई छोरा र दुई छोरी साथमा छन्।