चितुवाको आक्रमणबाट वन कर्मचारीसहित चार घाइते
विराटनगर : मोरङको राजघाटमा चितुवाले आक्रमण गर्दा बिहीबार बिहान वनका कर्मचारीसहित चारजना घाइते भएका छन् ।
खुल्ला ठाउँमा अचानक देखिएको चितुवाले बिहान साढे सात बजेतिर आक्रमण गर्दा खेतमा काम गरिरहेका दुई घाइते भएका हुन् । चितुवाले आक्रमण गरेको खबर पाएर पुगेका अन्य दुई वन कर्मचारी समेत घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।
उनका अनुसार चितुवाको आक्रमणबाट राजघाट १ अठियावारीका ५० वर्षीय खुशीलाल धिमाल र ५५ वर्षीय टंकबहादुर धिमाल घाइते भएका छन् । त्यस्तै सेक्टर वन कार्यालय मंगलबारेका फरेस्टर हेमसागर न्यौपाने र वन रक्षक वीरबहादुर कटवाललाई पनि घाइते भएका छन्।
खुशीलाललाई चितुवाले आक्रमण गरेको खवर सुन्नेर घटनास्थलमा पुगेका टंकबहादुरलाई पनि आत्तिएको अवस्थामा रहेको चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
मोरङका जिल्ला वन अधिकृत डा. विनोद देवकोटाले भने, ‘गाउँमा राति आएर बसेको चितुवा उज्यालो भएका कारण मानिसको घेरा तोडेर बाहिर जान सक्ने अवस्था नभएपछि आक्रमणमा उत्रिएको अनुमान गरिएको छ ।’
आक्रमण गर्ने सम्भावना बढेपछि प्रहरीले ठूलो संख्यामा भेला भएका स्थानीय बासिन्दालाई चितुवा भएको एक किलोमिटर परै राखेको छ । नियन्त्रण गर्न सक्ने प्राविधिक टोली नभएकाले चितुवा नियन्त्रणका लागि चितवनबाट प्राविधिक टोली बोलाइएको डा. देवकोटाले जानकारी दिए।