एसटिसीका २५ डिलर फ्याक्ट्री भिजिटमा
काठमाडौं: भेरोकको नेपालका लागि आधिकारिक बिक्रेता श्री एसटिसी प्रालिका २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बई गएका छन्।
प्रोडक्ट तथा टेक्निकल सीप हासिल गर्ने उद्देश्यसाथ पुने, अरंगाबाद र मुम्बईस्थित भेरोकको फ्याक्ट्री भ्रमणमा सो टोली गएको हो। भ्रमण आठ दिनसम्म चल्नेछ। वार्षिक एक अर्ब ५० करोडको कारोबार गरिरहेको एसटिसीले नेपालमा भेरोक ब्रान्ड मात्र वार्षिक १४ करोडको कारोबार गरिरहेको एसटिसी प्रालिका प्रबन्ध-निर्देशक सुरेश उप्रेतीले जानकारी दिए।
इटालीलगायत २३ वटा देशमा आफ्नो उत्पादन प्लान्ट रहेको भेरोकले पहिलो पटक नेपालबाट २५ जना डिलरलाई फ्याक्ट्री भ्रमणका लागि आमन्त्रण गरेको हो। दुईपांग्रे तथा ४ पांग्रे सवारी साधनका लागि भेरोकले जेन्युन पार्टस उत्पादन गरिरहेको छ।
एसटिसीले नेपालमा इएनआइ लुब्रिकेन्टस, सिएट टायर, भेरोकलगायत अन्य सवारीसाधनमा प्रयोगमा आउने पार्टसको कारोबार गरिरहेको छ। यसअघि एसटिसीले आफ्ना डिलरलाई युरोपलगायत एसियाका विभिन्न देशको भ्रमण गराइसकेको प्रबन्ध-निर्देशक उप्रेतीले जानकारी दिए।