सिंचाइ आयोजना बनेपछि किसानको जीवनमा आमुल परिवर्तन
चरीकोट : रुखो र फुस्रो रहेको दोलखाको फस्कु गाविसमा अहिले हरियाली छाएको छ। धान, गहुँ र मकैमात्र उत्पादन हुने फस्कु गाउँका धेरै किसान अहिले नगदेबाली उत्पादनमा दिलोज्यानले लागेका छन्।
सिंचाइ डिभिजन कार्यालय चरीकोटबाट सञ्चालित बुढाथोकी सिंचाइ कुलो आयोजना निर्माण कार्य सम्पन्न भए सँगै फस्कु गाविसमा रहेका दुई सय ५० घर धुरी लाभान्वित भएको डिभिजन कार्यालयका प्रमुख कृष्णप्रसाद रिजालले जानकारी दिए।
आयोजना निर्माण सँगै त्यस क्षेत्रका किसानको जीवनमा आमुल परिवर्तन हुने विश्वास गरेको रिजालले सुनाए। तरकारी खेतीगर्ने तयारीमा जुटेका फस्कु ३ का वासिन्दा विष्णु बस्नेतले बर्षातमा पर्ने आकाशे पानीको भरमा खेती गर्नुपर्दा पर्याप्त पानीको अभावमा दुःख पाएको बताए।
त्यतिबेला लगानी अनुसारको उब्जनी नभएको भएपनि अहिले भने सिंचाइको पानीले नगदेबालीमा स्थानीयको आकर्षण बढेको छ।
वारी छेउमै सिंचाइ आयोजना आएपछि अहिले आफ्नो बारीमा मटरकोसा, प्याज, लसुन र खुर्सानी खेती सुरु गरेको बस्नेतले बताए। फस्कु २ मा बस्दै आएका कुलबहादुर बस्नेतले सिंचाइ योजना निर्माणले किसानलाई ठूलो राहत मिलेको सुनाए।
‘आकाशे पानीको मात्र भर पर्दा जहिले पनि तरकारीवारी सिंचाइ गर्ने पानीको अभाव हुन्थ्यो’, प्रफुल्ल मुद्रामा भेटिएका बस्नेतले भने, ‘सिंचाइ योजनाले गहुँबाली र धानवालीलगायत सबै तरकारीले सिंचाइ पाएकोमा खुशी लागेको छ।’
त्यसैगरी, परम्परागत खेती गर्दै आएका फस्कु ४ का स्थानीय रत्नबहादुर बुढाथोकीले सिंचाइ आयोजना आएसँगै बारीमा तरकारी खेतीको सुरुवात गरेका छन्।
सिंचाइ योजनाले उनी जस्ता धेरै किसानलाई खेती गर्न सहयोग मिलेको छ।
सिंचाइ योजनाकै कारण फस्कु गाविसमा धान, गहुँ र मकैलगायत तरकारीवाली उत्पादनमा वृद्धि हुने र जिविकोपार्जनमा समेत टेवा पुग्ने विश्वास स्थानीय किसानको छ।