धर्मेन्द्र झालाई ‘विकास पत्रकारिता सम्मान’
काठमाडौं : नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा सम्मानित भएका छन्। विकास पत्रकार मञ्च (फोडेज) नेपालको पहिलो वार्षिकोत्सवको अवसरमा पूर्वअध्यक्ष झा ‘विकास पत्रकारिता सम्मान-२०७३’ बाट सम्मानित भएका हुन्। झालाई व्यवस्थापिका संसद् विकास समितिका सभापति रविन्द्र अधिकारीले सम्मान गरेका हुन्।
विकास पत्रकारितामा विशेष योगदान पु्र्याएवापत पत्रकार झालाई सम्मान गरेको फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानाले बताए। उनले आगामी वार्षिकोत्सवदेखि वर्षेनी ‘विकास पत्रकारिता पुरस्कार’ प्रदान गरिने पनि जानकारी दिए। उनले भने, ‘अब विकासबारे रिसर्च फेलोसिप प्रदान गर्ने र प्रत्येक महिना विकास बहस गर्ने योजना छ।’
विकास समितिका सभापति अधिकारीले आमसञ्चार माध्यममा विकासका विषय नउठाएसम्म अब सामाजिक र राजनीतिक व्यतिm टिक्नै नसक्ने बताए। ‘विकास अबको केन्द्रीय विषय हो, विकासका विषय नउठाएसम्म अब सामाजिक र राजनीतिक व्यतिm टिक्नै सक्दैनन्’, उनले भने।
अधिकारीले अबको राजनीति विकासमा केन्द्रित हुनुपर्नेमा समेत जोड दिएका छन्। ‘अबको राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ तर राजनीति समाजलाई बदल्ने, अधिकार उपयोग गर्नेभन्दा पनि पदका लागि भइराखेको छ’, नेता अधिकारीले भने, ‘हामी जेलाई राजनीति भन्दैछौं त्यो राजनीति होइन, राजनीतिलाई विकासमा केन्द्रित गर्नुपर्छ।’
सम्मान ग्रहणपछि पत्रकार झाले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्न सक्ने विषयमात्र विकास पत्रकारिता हुन सक्ने बताए। ‘जनताको जीवनस्तरमा सकारात्मक परिवर्तनमात्र विकास पत्रकारिता हो’, पत्रकार झाले भने।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले जनताको चाहना नै सञ्चारमाध्यमका मुद्दा बन्नुपर्नेमा जोड दिए। उनले भने, ‘मिडियाका आयाम परिवर्तन हुँदैछन्। राष्ट्र र जनताको चाहना नै मिडियाको विषय बन्नुपर्छ अनिमात्र पत्रकारिताको सकारात्मक विकास हुन्छ।’
कार्यक्रममा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुँयाल, पूर्वस्थानीय विकाससचिव खेमराज नेपाल, नगरपालिका संघका कार्यकारीसचिव कलानिधि देवकोटा, जिविस काठमाडौंका स्थानीय विकास अधिकारी गोपाल अधिकारी, फोडेजका सचिव चन्द्रमणि भट्टराईलगायतले विकास पत्रकारिताको महत्वबारे धारणा राखेका थिए।
फोडेजको बार्षिकोत्सवको अवसरमा 'विकास सञ्चार' स्मारिका समेत सार्वजनिक भएको छ। स्मारिकामा विकास र विकास पत्रकारिता सम्बन्धी १७ वटा लेख समेटिएका छन्।