राप्रपाले स्वीकार गर्यो संघीयता
काठमाडौः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ । ‘संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले कम क्षति हुने यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ ।
राप्रपा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । पटकपटकको एकता र विभाजनबाट गुज्रिएको राप्रपाको भावी नेतृत्व महाधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि सर्वसम्मत भएको हो । थापालाई अध्यक्ष पदमा निर्विरोध गराउन बुधबार अध्यक्ष पदका प्रत्याशी मानिएका पशुपतिशम्शेर राणा तथा डा.प्रकाशचन्द्र लोहनीले संयुक्त हस्ताक्षर गरी समर्थनको प्रतिबद्धता जनाएका थिए । पार्टी नेता लोकेन्द्रबहादुर चन्दले पनि सोही सहमतिमा हस्ताक्षर गरी थापालाई समर्थन गरेका थिए । महाधिवनेश सुरु हुनुअघि नै अध्यक्ष पदमा निर्विरोध नेतृत्व चयन गरेको इतिहास अन्य दलका लागि पनि ऊर्जा हुने विश्वास थापाले व्यक्त गरे ।
महाधिवेशनको दुई दिनअघि अध्यक्ष पदमा निर्विरोध निर्वाचित थापाले संघीयता सिद्धान्ततः आवश्यक नभए पनि अहिले यो राष्ट्रिय यथार्थ बनिसकेको बताए ।
‘संघीयता तत्काल फर्काउन सक्ने स्थितिमा हामी छैनौं । राप्रपाको प्रयास संघीयता कार्यान्वयनमा राष्ट्रलाई कमभन्दा कम क्षति हुने गरी राष्ट्रिय एकता, अखण्डतामा आँच नपुर्याउनेतर्फ केन्द्रित हुनेछ । संघीयता कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईको सम्बन्ध नटुटोस् । आर्थिक रूपमा सक्षम होउन् भन्ने हाम्रो प्रयास हुनेछ', अध्यक्ष थापाले अन्नपूर्णसँग भने ।
‘पार्टी एकताको मुख्य उद्देश्य र आधार भनेकै देशमा उत्पन्न संकटबाट राष्ट्र र जनतालई मुक्त गराउनु हो । यसबाहेक एकताका लागि कुनै दृश्य/अदृश्य कारण र आधार छैन । राजसंस्था पुनर्बहालीका लागि मात्र होइन', थापाले भने ।
थापासँग अन्नपूर्णले गरेको संक्षिप्त अन्तर्वार्ता
तपाईं अध्यक्ष हुनुको अर्थ के हो ?
म अध्यक्ष हुनुको अर्थ पार्टी एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई देशको एउटा बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्ने अभियानलाई मूर्त रूप दिने कार्यलाई पूर्णता दिनु हो । एकीकरण प्रक्रियालाई सम्मान गर्दै राप्रपा नेतृत्वबाट यो जिम्मेवारी दिने निर्णय भएअनुसार म निर्विरोध भएँ जस्तो लाग्छ । मैले आज जे जसरी जिम्मेवारी पाएँ, त्यसलाई पूर्णता दिनेछु ।
अध्यक्ष नै निर्विरोध हुने सञ्जिवीनी बुटी खुलासा गर्नुहोस् न ?
पार्टीका लाखौं कार्यकर्तादेखि नेतृत्व तहसम्मको भावना नै एकीकरण र एकीकृत महाधिवशेनका लागि सर्वसम्मत नेतृत्व चयन हुनु हो । मुलुकलाई अत्यन्त जटिल, संकटपूर्ण र गम्भीर अवस्थाबाट मुक्त गर्न पनि अध्यक्ष पदमा निर्विरोध भयो । यो प्रक्रिया नै एकताको सञ्जिविनी बुटी हो । यसबाहेक कुनै कारण छैन ।
नेतृत्व चयनमा प्रतिस्पर्धा नहुनु आन्तरिक प्रजातन्त्र संकटमा हो कि नीतिगत सहमति ?
नीतिगत सहमति । कार्यकर्ता र राप्रपाका शुभचिन्तक, शुभेच्छुक आम सर्वसाधारणको चाहनालाई दृष्टिगत गर्नु नै हो । आन्तरिक प्रजातन्त्रमा संकट आएको होइन । प्रतिस्पर्धा गर्न नसकेको पनि होइन । राप्रपाभित्र पार्टीलाई मात्र होइन, देशलाई नै नेतृत्व दिन सक्ने, सक्षम र इमान्दारको कमी छैन । आन्तरिक प्रतिस्पर्धाभन्दा पनि राष्ट्र र जनताबीच आइरहेको संकटको निकास दिने मान्यता सफल हुनु हो । प्रतिस्पर्धाभन्दा ठूलो एकता नै हो भन्ने सहमतिको परिणाम पनि हो । संघीयता, राजतन्त्र र धर्मनिरपेक्षतामा दुई राप्रपाबीच फरक फरक दृष्टिकोण थिए ।
यी महत्वपूर्ण राष्ट्रिय मुद्दामा तपाईंहरूबीच कसरी समान धारणा बन्यो ?
यो विषयमा महाधिवशेनबाट अन्तिम निर्णय हुन बाँकी नै छ तर केन्द्रीय कार्यसमितिको बैठकले सिद्धान्त, नीति र कार्यदिशालाई सर्वसम्मतिले पारित गरिसकेको छ । हामीबीच संघीयता, धर्मनिरपेक्षता र राजतन्त्रमा अब समस्या हुँदैन । सबै धर्मको सम्मान, सबै धर्म स्वतन्त्रसहित समान हिन्दु धर्ममा हामीबीच सहमति भएको छ । राजसंस्था र संघीयताबारे समान र सर्वसम्मत धारणा कायम गर्न सफल भयौं ।
संघीयता नेपालका लागि अपरिहार्य हो ?
संघीयता सिद्धान्तत आवश्यक थिएन तर अहिले संघीयता राष्ट्रिय यथार्थता बनिसकेको छ । तत्काल फर्काउन सक्ने स्थितिमा पनि छैनौं । राप्रपाको प्रयास अब संघीयताको कार्यान्वयनमा राष्ट्रलाई कमभन्दा कम क्षति हुने गरी राष्ट्रिय एकता, अखण्डतामा आँच नपुर्याउनेतर्फ निरन्तर सजग र सचेत रहन्छ । संघीयता कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईको सम्बन्ध नटुटोस् । आर्थिक रूपमा सक्षम होऊन् भन्ने हाम्रो प्रयास हुनेछ ।
मुलुकको सार्वभौमिकता साँच्चिकै खतरामा हो ?
विगत दश वर्षलाई हेर्दा निश्चय नै हो । बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र भएको छ । कतिपय समय राष्ट्रिय दलका नेताहरूको आत्म समर्पणवादी मानसिकता हावी भएको छ । नेपालको राष्ट्रिय अखण्डतामाथि नै अहिले सूक्ष्म रूपमा भए पनि प्रश्नचिह्न खडा भएको छ । यसबारेमा सबै राजनीतिक दलहरू सचेत हुनुपर्छ ।
सार्वभौमसत्तामाथिको खतरा हाम्रो आफ्नै करणबाट मात्र कि बाह्य कारण पनि छ ?
यसको मुख्य कारण २०६२।६३ को परिवर्तनपछि परिर्वतनलाई संस्थागत गर्ने नाममा भएका त्रुटि र कमजोरी, परम्परागत मूल्य मान्यता र संस्थालाई विस्थापित गरेपछि उत्पन्न रिक्ततालाई उचित ढंगले समायोजन र व्यवस्थापन गर्न नसक्दा आएको हो ।
सरकारबाट फिर्ता हुने सम्बन्धमा के हुँदै छ ?
अहिले हाम्रो मुख्य ध्यान २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सुनिश्चित गराउने र त्यसका लागि जेठ महिनाभित्र स्थानीय निर्वाचन सम्पन्न गरिसक्नेतर्फ केन्द्रित छ । यसबारेमा सरकारले के कस्तो निर्णय गर्दछ । त्यसका आधारमा सरकारमा हाम्रो सहभागिता निर्भर रहन्छ ।
पराजतन्त्रप्रति तपाईं बढी आशावादी हुनुहुन्छ । अन्तर्राष्ट्रिय जगत् पनि राजतन्त्रप्रति सकारात्मक देखिन्छ ?
राप्रपा अहिलेको संविधानलाई आफ्नो असहमतिका बाबजुद स्वीकार गरेर अघि बढेको दल हो । हाम्रो पार्टीले संविधान र संवैधानिक व्यस्थासँग सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन गरेको छ । यो संविधानले राजनीतिक दल र व्यक्तिहरूलाई विचार स्वतन्त्रताको सुनिश्चितता गरेको हुँदा हामीले नेपालका निम्ति राजसंस्थासहितको लोकतन्त्र उपयुक्त हुन्छ भन्ने मान्यता राखेका छौं । परिवर्तन पक्षधरहरूलाई पनि चित्त बुझाएर, चित्त बुझ्ने गरी संविधानअन्तर्गत र संसद्को परिधिभित्र रहेर हामीले राजसंस्था परिकल्पना गरेका हौं । हाम्रो मुद्दाप्रति अर्थात् सहमति र सम्झौताको राजसंस्थामा देशभित्र सकारात्मक जनमत बढ्दै गएको छ । हामी यसमा सन्तोष व्यक्त गर्दछौं ।
राजतन्त्र आउने सुनिश्चिततामा यो एकता भएको हो ?
पार्टी एकताको मुख्य उद्देश्य, कारण र आधार भनेकै देशमा उत्पन्न संकटबाट राष्ट्र र जनतालाई मुक्त गराउनु मात्र हो । यसबाहेक एकताको अर्को कुनै दृश्य/अदृश्य कारण र आधार छैन । राजसंस्थाको पुनर्बहालीका लागि मात्र होइन ।