उपचार पाउनै मुस्किल
साल्मेचाकलः काभ्रेको विकट डाँडापारि क्षेत्रमा पर्ने दर्जन गाविसका बासिन्दा स्वास्थ्यसंस्था अभावमा सामान्य उपचार पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिसमेत बिरामीले पाउन सकेका छैनन् ।
सूचना, सञ्चार तथा यातायातको पहुँच पुग्न नसकेको डाँडापारि क्षेत्रका बिरामीले समयमै उपचार पाउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको स्थानीय गुनासो गर्छन् । ‘ज्वरो आएको चार दिन भयो, १० घन्टा पैदल हिँडेर स्वास्थ्यचौकी पुगेँ तर औषधोपचार केही भएन', तालढुंगा स्वास्थ्यचौकीमा औषधोपचारका लागि आएका डाँडागाउँ गाविस ९ का कमलबहादुर घलानले भने, ‘डाँडापारि क्षेत्रमा न यातायातको पहुँच न त नजिक मेडिकल नै छ । अस्पताल त धेरै टाढाको कुरा ।
स्वास्थ्यचौकी पुग्न चार घन्टा लाग्छ भने फर्किन पाँच घन्टा लाग्छ ।' उनले भने, ‘समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनेको संख्या प्रतिदिन बढ्दै छ ।' घलानका अनुसार जिल्ला अस्पताल पुग्न एक दिनभरि पैदल हिँड्नुपर्ने हुन्छ । त्यस्तै, स्वास्थ्य संस्था नजिक नभएका कारण सुत्केरी हुन नसकी दुई दिनदेखि घरमै छट्पटाउनुपरेको डाँडागाउँ गाविस-८ की लीलामाया घलानले बताइन् ।
‘बेथा लागेको दुई दिनसम्म बच्चा पाउन सकिनँ, सात घन्टाको पैदलपछि स्वास्थ्यचौकी त पुगेँ तर त्यहाँका स्वास्थ्यकर्मीले केस जटिल भएको भन्दै अस्पताल जान सिफारिस गरे,' उनले दुखसो पोख्दै भनिन्, ‘समस्यामाथि समस्या थपियो, सुत्केरीलाई डोकोमा ७ घन्टा बोकेर अस्पताल पुर्याइयो ।' समयमै उचित उपचार नपाएका कारण धेरैको अकालमै ज्यान जाने गरेको उनले बताइन् । भनिन्, ‘आफूजस्तै धेरै महिलाले सुत्केरी अवस्थामा सास्ती खेप्नुनपरोस् ।'
मिल्चे गाविसका ३७ वर्षीय रणध्वज तामाङलाई विषालु सर्पले डस्यो तर स्वास्थ्य संस्था नजिक नभएकाले उनले पनि उपचार पाएनन् । उनलाई परिवारले घरेलु उपचार गरेर बचाएको बताए । ‘पीडा सहनु हाम्रो रहर नभई बाध्यता हो,' तामाङले भने, ‘स्वास्थ्य संस्था जाऊँ पूरै दिन लाग्छ, मर्ने-बाँच्ने कुनै ठेगान हुँदैन ।' रोग बिसेक भए वा नभए पनि घरेलु उपचार गर्नु बाध्यतामा परेको उनले बताए । थपे, ‘उपचार अभावमा मर्नेबाहेक अरू विकल्प रहँदैन ।' घरेलु उपचार भन्दै सर्पको गिदी र केही झारपात कुटेर डसेको ठाउँबाट विष झारेर बाँचेको तामाङले अनुभव सुनाए ।
जिलाका विकट क्षेत्रमा यातायात र व्यवस्थित स्वास्थ्य संस्था नभएकै कारण कैयौं बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।
तामाङ र घलान त प्रतिनिधि पात्र मात्र हुन्, जिलाका विकट क्षेत्रमा यातायात र व्यवस्थित स्वास्थ्य संस्था नभएकै कारण कैयांै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको फलामेटार गाविसका गोपाल स्याङताङ बताउँछन् । ‘साँझ, बिहान र राति दुर्घटनामा परियो भने तत्काल उपचार पाउन सकिँदैन,' उनले भने, ‘नजिक अस्पताल छैन, स्वास्थ्यचौकीमा स्रोतसाधन र जनशक्ति अभाव छ ।' विशेषगरी वृद्धवृद्धा, सुत्केरी, बालबालिकालाई अप्ठ्यारो पर्ने गरेको उनले बताए । उनका अनुसार सदरमुकामको अस्पतालमा उपचारका लागि १२ घन्टासम्म जंगलको बाटो पैदल हिँडेर जिल्ला र सदरमुकाम अस्पताल पुग्न स्थानीय विवश छन् ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुन सापकोट भने जिल्लाको भौगोलिक अवस्थाका कारण सेवाग्राहीलाई उपचारमा समस्या भएको स्विकार्छन् । यातायात तथा सञ्चार नपुगेका गाविसका स्वास्थ्य संस्थामा औषधिलगायत सामग्री ढुवानी गर्न कठिन भएको उनले बताए । थपे, ‘अन्य मेडिकल र अस्पताल नभएकाले बिरामीको चापसमेत बढी हुने हँदा समस्या आएको हो । विकट क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको पूर्वाधार र दक्ष जनशक्तिका लागि केन्द्रीय स्तरको बजेट र नीति आवश्यक पर्छ ।' तालढुंगा स्वास्थ्यचौकीका सिनियर अहेव रामपुकार यादव स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार र स्रोत-साधन नभएका कारण समस्या हुने गरेको बताउँछन् ।
जिल्लाको विकट डाँडापारी क्षेत्रमा पर्ने गाविसमध्ये मिल्छे, साल्मेचाकल, घर्तीछाप, बन्खु, फोक्सिङटार र बुढाखनी र दुर्गम कोसीपारी क्षेत्रमा रहेका १७ गाविसमध्ये कात्तिके-देउराली धुसेनी शिवालय, बिर्तादेउराली, बेगसिम्ले, सानो बाङथली, भुम्लुटार र कालाँतीभुम्लु गाविसका स्थानीयले बढी सास्ती व्यहोर्नुपरेको बताए । पर्याप्त पूर्वाधारविना सञ्चालन भएका जिल्लाका अधिकांश स्वास्थ्यसंस्थाले आवश्यक पूर्वाधार र दक्ष जनशक्ति अभावमा सेवा प्रभावकारी नभएको स्थानीयको भनाइ छ । जिल्लामा एक सय ११ सरकारी स्वास्थ्य संस्था सञ्चालित छन् ।