कञ्चन डेभलपमेन्ट बैंक आफ्नै भवनमा
काठमाडौं कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नै स्वामित्वको भवनबाट कारोबार सुरु गरेको छ । बैंकले एक कार्यक्रम गरी नयाँ भवनमा सरेको जनाएको छ । सुरुमा भीमदत्त–४ स्थित घर भाडामा लिई बैंकको प्रधान कार्यालय राखेर काम गर्दै आएको बैंकले आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले कञ्चनपुरको महेन्द्रनगर, झलारी, बेल्डाँडी, बेलौरी, कैलालीको आई बिआरडी, धनगढी, अत्तरिया, डडेल्धुराको अमरगढीमा गरी ९ वटा शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
साथै, ३ महिनाभित्र कैलालीको टिकापुर, लम्की, सुखद र बौनियामा थप चार शाखा खोल्ने गरी आवश्यक स्वीकृति गरी घर भाडामा लिइसकेको र शाखाको सजावट र भौतिक पूर्वाधार बनाउने कार्य भइरहेको बैंकले जनाएको छ । बैंकले हालसम्म ८१हजार ६ सय ३४ जना ग्राहकबाट २ अर्ब ३१ करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यस क्षेत्रका विपन्न वर्गमा पर्ने ग्राहकलाई समूह गठन गरी समूहगत जमानीमा विनाधितो कर्जा प्रवाह गरेको छ ।