आशा लघुवित्तको दुई नयाँ शाखा
काठमाडौः आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्ना दुई शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले चितवनको भरतपुरमा र नवलपरासीको जहरमा शाखा सञ्चालनमा ल्याएको हो । चितवन भरतपुर-२२ मा सञ्चालनमा आएको शाखाको उद्घाटन संस्थाका सञ्चालक समिति अध्यक्ष रामबहादुर पाण्डेले गरेका छन् भने नवलपरासी रजहर-०१ को शाखा कार्यालयको उद्घाटन संस्थाका सञ्चालक निर्गुणप्रसाद भट्टचनले गरे ।
उक्त कार्यक्रममा सञ्चालक खगेन्द्र भट्टचन, शंकरप्रसाद कालिकोटा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवीका साथै स्थानीयको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । यस राष्ट्रिय स्तरको वित्तीय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलालाई व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यलाई उद्यमशील बनाई उनीहरूको सामाजिक तथा आर्थिक स्तरवृद्धि गर्न चितवन र नवलपरासीमा शाखा कार्यालय खोलेको संस्थाका प्रबन्धक जीवन खनालले जानकारी दिएका छन् । साथै, रुपन्देही, कपिलवस्तु, धादिङ, सुनसरी तथा अन्य स्थानमा पनि छिट्टै शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।