अञ्जली अाँट
नेपाल हुँदासम्म अर्थात् गत नोभेम्बरसम्म अञ्जली लामा मोडलिङमा रुचि राख्ने सामान्य तेस्रो लिंगी थिइन् । तर अहिले उनको परिचय यतिमा मात्र सीमित छैन । उनको पहिचान पनि अब देशको सीमाभित्रमात्रै सीमित छैन । र्याम्प नाप्ने सपना बोकेर हिँडेकी अञ्जलीले दोस्रो प्रयासमा भारतमा प्रतिष्ठित मानिने ‘ल्याक्मे फेसन विक'मा आफ्नो कमाल प्रस्तुत गर्ने मौका पाएपछि उनको चर्चा दिनमा दुई गुना रातमा चौगुना भने झै भयो ।
उक्त फेसन सप्ताहमा र्याम्म नाप्ने उनी पहिलो तेस्रो लिंगी मोडेल हुन् । ‘र्याम्म मोडलिङ गर्न चाहनेहरूका लागि भारतको ल्याक्मे फेसन विकमा सहभागी हुने सपना हुन्छ । मेरो चाहना पनि त्यही थियो', अञ्जलीले भनिन, ‘त्यो सपना यस पटक पूरा भयो ।' एउटा सपना पूरा भए पनि अझै थुप्रै सपना पूरा गर्न बाँकी रहेको उनको भनाइ छ । यो अवस्थासम्म आइपुग्न आफूले निकै अप्ठ्यारो र कठिन बाटो तय गरेको उनले स्मरण गरेकी छन् । ‘समाजले बुझ्दै नबुझ्ने पीडा एकातिर । अपहेलित भएर बाँच्नुपर्ने परिस्थिति अर्कोतिर', उनले भनिन्, ‘तर आँट, साहस र मेहनतले ती कठिन बाटाहरू तय गर्दै आएकी छु ।'
भारतीयमात्रै होइन संसारभरका सञ्चारमाध्यममा स्थान पाएकी उनले अन्नपूर्णसँग इमेलमा कुरा गर्दै उनले आगामी जुलाईसम्म भारत नै बस्ने योजना रहेको जानकारी दिइन् । ‘रुम भाडामा लिएर बस्दै आएकी छु', उनले भनिन् । नेपालको तुलनामा भारतीय फेसन एवं मोडलिङ उद्योग धेरै ठूलो भएकाले प्रतिभावान् मोडेलहरूसँग प्रतिस्पर्धामा उत्रिनु निकै चुनौतीपूर्ण भएको उनको भनाइ छ । ‘मैले जे जति उपलब्धि हासिल गरेकी छु त्यो चानचुने मेहनतले भएको होइन । यहाँसम्म आइपुग्न रातदिन खटेकी छु', उनले भनिन् ।
नेपालमा पनि धेरै र्याम्म नापेकी अञ्जलीले ल्याक्मे फेसन विकमा सहभागी भएपछि धेरै अनुभव सँगाल्ने मौका पाइन् । ‘फेसन शो भनेको एकछिन मेकअप गरेर नयाँ पहिरनमा सजिएर र्याम्पमा हिँड्नुमात्रै हैन रहेछ' अञ्जली आफ्नो अनुभव सुनाउँछिन्, ‘हामीले बिहानदेखि बेलुकासम्म मेहनत गर्नुपथ्र्यो । पहिरन फिटिङ, मेकअपदेखि हरेक सिक्वेन्समा उत्तिकै ध्यान दिनुपर्थ्यो । रिहर्सल धेरै हुने भएकाले व्यस्तताको कुरै नगरौं ।' उक्त फेसन सप्ताहमा अञ्जली पाँच दिनसम्म फरकफरक तर चर्चित फेसन डिजाइनरको पहिरनमा प्रस्तुत भएकी थिइन् ।
नुवाकोटमा जन्मेकी ३२ वर्षीया अञ्जलीले मोडलिङमार्फत आफूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएकी छन् । ल्याक्मे फेसन विकको अठारवर्षे इतिहासमा यसअगाडि कुनै पनि तेस्रो लिंगीहरूले र्याम्म नाप्ने अवसर पाएका थिएनन् । ‘तेस्रो लिंगी समुदायबाट ल्याक्मेको र्याम्ममा हिँड्ने म पहिलो हुँ' उनले भनिन् । गत वर्ष पनि उनले यस फेसन विकमा जाने प्रयास गरेकी थिइन् तर उनी असफल भइन् । त्यसलाई सकारात्मक रूप लिएर दोस्रो पटक प्रयास गरेकी हुन् ।
गाउँमा छँदा आफू के हो भन्ने अन्योलमा परेको बेला काठमाडौंमा आएकी उनले आफूजस्ता समुदायको मानिससँग भेट भएपछि तेस्रोलिंगी भएको थाहा पाएकी हुन् । परिवारको समेत साथ नपाएकी उनलाई साथीहरूले उनको क्षमता बुझेर अझै अगाडि जान प्रोत्साहन गरेपछि ल्याक्मे फेसन शोमा सहभागी हुने अठोट लिएको थिइन् ।