संकटा विजयी
धरानः सिमरा गोल्डकप विजेता संकटा क्लब काठमाडौंले १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको बिहीबारको उद्घाटन खेलमा संकटाले पाहुना टोली भारतको कोलकातास्थित दुर्गापुर स्टिल फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । क्वार्टरफाइनलमा संकटाको भेएपीएफ क्लबसँगको भेट पक्का गरेको छ ।
संकटाको जितमा खेलको दोस्रो मिनेटमा अफ्रिकन खेलाडी मार्टिन अजयले पहिलो गोल गर्दै खेललाई १-० को अग्रता दिलाएका थिए । मार्टिनले कोलकाताका रक्षापंक्तिका खेलाडीलाई छक्याउँदै गोल गरेका थिए । पहिलो गोल खाएर दबाबमा रहेको कोलकाताका आक्काले संकटाविरुद्ध खेलको २४ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए । आक्काले सुशान्त हेम्ब्रिनले दिएको पासलाई सदुपयोग गर्दै हेड गोल गरेका थिए ।
३६ औं मिनेटमा संकटाका अनिल गुरुङले दोस्रो गोल गर्दै खेललाई २-१ को अग्रता दिलाए । मार्टिनले दिएको पासलाई सदुपयोग गर्दै अनिलले गोल गरेका थिए । पहिलो हाफमा २-१ गोलले पछि परेको कोलकाता दोस्रो हाफमा संकटाविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएको थियो । ५२ औं मिनेटमा कोलकाताका सलादुन मिर्दाको २५ यार्ड लामो फ्रिकिक प्रहार विपक्षीलाई ठोकिएर गोलमा परिणत भयो ।
७७ औं मिनेटमा संकटाका सुशील केसीले तेस्रो गोल गरेका थिए । उनले राज पौडेलको पासलाई सदुपयोग गरी गोल गरेका थिए । कोलकाताका सुबन्दु घोसी म्यान अफ दी म्याच घोषित भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए । १० टोली सहभागि प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । शुक्रबार नेपाल पुलिस र आयोजक धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।