'नेपाल-चीन सम्बन्ध गहिरिएको छ'
काठमाडौः नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले नेपाल-चीनबीचको राजनीतिक, आर्थिक, ब्यापारिक र सांस्कृतिक सम्बन्ध हालैका बर्षहरुमा गहिरिंदै गएको बताएकी छिन् ।
चीनको स्वशाषित क्षेत्र तिब्बतमा मनाइने ल्होसारका अवसरमा काठमाडौस्थित चिनियाँ दूतावासले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत युले त्यस्तो बताएकी हुन् । ‘चीन र नेपाल पहाड र नदीले जोडिएका मित्रवत् छिमेकी मुलुक हुन्' उनले भनिन् ‘हाम्रो संबन्ध स्थिर रुपमा राजनीतिक, आर्थिक, ब्यापारिक र सांस्कृतिक क्षेत्रमा गहिरिंदै गएको छ ।'
राजदूत युले नेपालमा रहेको स्वशाषित क्षेत्र तिब्बतका नागरिकलाई ल्होसारको अवसरमा शुभकामना दिंदै तिब्बतको विकासमा गरिरहेको योगदानका लागि धन्यवाद दिइन् । नेपाल र चीनबीचको संबन्ध मजबुत बनाउन नेपालस्थित तिब्बती समुदायको भूमिका अहम् रहेको उनले बताइन् । चीनको तिब्बत क्षेत्रले हालैका बर्षहरुमा पूर्वाधार निर्माण र आर्थिक क्षेत्रमा द्रुततर विकास गरिरहेको उनले बताइन् । उनले तिब्बतको स्थायित्व र प्रगतिका लागि तिब्बती समुदाय एक हुनुपर्ने बताइन् ।
बिदेशमा रहेर पनि तिब्बती समुदायले तिब्बतको विकास, प्रगति, र जातिय एकता चाहेकोमा उनले धन्यवाद दिइन् । ‘चीनका ग्वाङडोङ् प्रान्तबाट तिब्बत हुंदै नेपाल सीमा केरुङ्सम्म ६ हजार ७० किलोमिटर रेल सेवा संचालन हुन थालिसकेको छ । त्यस्तै चीन र नेपालको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको प्रारम्भिक उडान भइसकेको छ ' उनले भनिन् ‘यसले हाम्रो द्विपक्षिय ब्यापार र संबन्धलाई अझै विस्तार गर्न सहयोग गरेको छ ।'