पहिलोपटक आर्थिक गणना
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालले सन् २०१८ मा पहिलोपटक आर्थिक गणना गर्ने भएको छ । आर्थिक गणनामा देशको आर्थिक क्रियाकलापसम्बन्धी सम्पूर्ण तथ्यांक संकलन तथा टेबुल गरी व्याख्या गर्ने र निचोड निकाल्ने गरिन्छ । अन्त्यमा निचोडलाई जनसमक्ष ल्याइन्छ ।
आर्थिक गणनाको मुख्य उद्देश्य देशमा भएका सम्पूर्ण व्यवसाय नछुटाई गरिने गणना हो । किनकि साना वा ठूला व्यवसायले अर्थतन्त्रको सूक्ष्मदेखि बृहत् स्तरसम्म त्यत्तिकै प्रभाव पारेको हुन्छ । ती आर्थिक क्रियाकलापले देशको आर्थिक विकास र आर्थिक वृद्धिदरमा योगदान पुर्याएका हुन्छन् । साथै यसले उद्योगहरूको योगदानको कदर गर्न सहयोग हुनेछ ।
नेपालमा भर्खरै सुरु हुन लागेको आर्थिक गणना अन्य केही राष्ट्रभन्दा पछाडि नै हो, तर पनि यसको सुरु हुनु थियो र अब हुँदैछ । विकसित एवं अविकसित राष्ट्रमा आर्थिक गणनाको कति प्रयोगमा छ वा छैन भन्नुभन्दा पनि सार्क राष्ट्रमा मात्रै हेर्दा पनि आर्थिक गणना कहिले भएछ भनेर हेर्न सकिन्छ ।
सार्क राष्ट्रमध्ये भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानमा आर्थिक गणनाको थालनी भइसकेको छ । भारतमा आर्थिक गणनाको सुरुआत सन् १९७७ मै भएको थियो । त्यहाँ आजसम्म छैटौंपटक आर्थिक गणना भइसकेको छ । उक्त गणनामा कृषि तथा गैरकृषि क्षेत्रको योगदानबारे गणना गरिएको थियो । गैरकृषि क्षेत्रअन्तर्गत साना, घरेलु उद्योग तथा अन्य उद्योगहरूको स्थापना र त्यसमा संलग्न रोजगारको अवस्था महिला उद्यमशीलतासम्बन्धी ह्यान्डिक्राफ्टसम्बन्धी विषयबारे छन् ।
त्यस्तै बंगलादेशको पहिलो आर्थिक गणना सन् १९८६ मा गैरकृषि क्षेत्रको आर्थिक क्रियाकलापबारे भएको थियो । उक्त गणना डिसेम्बर २७-२९ भित्र पूरा गरेको थियो । दोस्रो आर्थिक गणना मे २७-३१, २००१ मा सहरमा र अप्रिल २०-२६, २००३ मा गाउँमा भएको थियो । तेस्रो आर्थिक गणना मार्च ३१-मे ३१, २०१३ मा गरेको थियो । उक्त आर्थिक गणनाको तथ्यांक संकलनमा पहिलो चरणमा १५-२४ अप्रिल २०१३ मा ३७ जिल्लामा र दोस्रो चरणमा १५-२४ मे, २०१३ मा २७ जिल्लामा सम्पन्न भएको थियो ।
त्यस्तै पाकिस्तानमा पहिलो आर्थिक गणना अप्रिल २००१ देखि डिसेम्बर २००३ मा भएको थियो । उक्त आर्थिक गणनामा विस्तृत रूपमा सम्पूर्ण आर्थिक क्रियाकलापका तल्लोदेखि माथिल्लो स्तरसम्मको तथ्यांक संकलन गरेका थिए । नेपालको आर्थिक विकासको सन्दर्भमा देशको आर्थिक क्रियाकलापसम्बन्धी सम्पूर्ण क्षेत्रहरूको योगदानलाई गणना गरी देशको आर्थिक वृद्धिदरमा समावेश हुन नितान्त आवश्यक छ । त्यसैले यस गणनामा देशमा रहेका साना-ठूला सबै उद्योगहरूको विस्तृत जानकारी गरिने मुख्य उद्देश्य छ ।
गणनाले देशको आर्थिक अवस्थाको सत्यतथ्य ज्ञान दिनेछ । यही गणनाका आधारमा देशले आर्थिक नीति तथा योजना निर्माण र कार्यान्वयन क्षेत्रमा जटिल भूमिका खेल्नेछ ।
हुन त नेपालमा कृषि गणना, उद्योगसम्बन्धी गणना भइराखेकै छन्, तर पनि यो आउँदो आर्थिक गणनामा १५ आर्थिक क्षेत्र समावेश गरिने थाहा हुँदा खुसी नै लागेको छ । जस्तै- त्यस गणनामा कृषि, खानी, यातायात, उद्योग, पर्यटन तथा आदि क्षेत्रमा संलग्न रोजगारको अवस्थाबारे समावेश गरिँदैछ । सम्पूर्ण क्षेत्रमा समावेश भएका महिला तथा पुरुषको योगदानलाई स्पष्ट रूपमा सत्यतथ्य तथ्यांकलाई समावेश गराउनु नै यस आर्थिक गणनाको सफलताको प्रतीक मानिनेछ ।
नेपालको रोजगारको अवस्था हेर्दा बिनाज्यालामा पुरुषभन्दा महिलाको संख्या बढी छ । सन् २००१ को जनगणनाअनुसार करिब ६४ प्रतिशत महिला बिनाज्यालाको काममा संलग्न छन् । बाँकी ३६ प्रतिशत पुरुषहरू बिनाज्यालामा काम गर्छन् । बिनाज्यालाको काम भन्नाले घरदेखि आफ्नो जग्गामा काम गर्छन् तर पनि यही काममा घरबाहिरको मान्छे आएर गरेको ज्याला दिन्छन्, तर घरभित्रकाले मात्रै बिनाज्यालामा काम गर्छन् । त्यसैले यस्ता योगदानलाई महिला र पुरुष दुवैको कदर यस आर्थिक गणनाले गर्नु जरुरी छ ।
केन्द्रीय तथ्यांक विभागले यस आर्थिक गणनामा कृषिअन्तर्गत मत्स्यपालन, वनसम्बन्धी उद्योगहरूलाई समावेश नगरिने प्रस्ताव छ । तर पनि नेपालमा गरिने पहिलो आर्थिक गणना हुनाले यस आर्थिक गणनाको आर्थिक पक्षका सम्पूर्ण क्षेत्रहरू समावेश गर्नु नितान्त आवश्यक छ ।
यस गणनाले देशको आर्थिक अवस्थाको सत्यतथ्य ज्ञान दिनुका साथै सम्पूर्ण आर्थिक क्षेत्रको वृद्धिदर समेत स्पष्ट पार्नेछ । गणनामा महिला र पुरुषले गरेको योगदानलाई स्पष्ट रूपमा समेट्नसमेत आवश्यक छ । यही गणनाका आधारमा देशले आर्थिक नीति तथा योजना निर्माण र कार्यान्वयन क्षेत्रमा जटिल भूमिका खेल्नेछ । अन्त्यमा आर्थिक गणनाको सुरुआतको सँगसँगै देशको आर्थिक पक्षको समेत फड्को मार्न सजिलो हुनेछ । आशा एवं विश्वास छ- यस आर्थिक गणनाले देशको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो भूमिका खेल्नेछ ।