निर्वाचन गराउन नसके प्रचण्डले सरकार छोडे हुन्छः भट्टराई
भक्तपुरः नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचन गराउन नसक्ने भए सरकार छोड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।
रफत सञ्चार क्लवले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा प्रचार विभाग प्रमुख भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पदमा बस्नुको औचित्य नभएको बताएका हुन्। संविधान निर्माण गर्ने मुख्य राजनीतिक दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको बताए। मधेसवादी दलले पनि चुनावमा भाग लिएर आफ्ना एजेन्डा टेष्ट गर्न उनले आग्रह गरे। संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको बताउँदै उनले संशोधन तुल्सीको बोटमा सास ढुकढुकी भएको अवस्थामा पुगेको बताए।
उनले संविधान संशोधन प्राकृतिक हिसावले मरिसकेको र प्राविधिक हिसावले ढुकीढुकी रहेको संशोधन संसदको शैयामा सुताइएकाले निर्वाचनको माध्यमबाट आउँदो संसदमा सो विधेयकलाई अगाडि बढाउन आग्रह गरे।
सवै पार्टी मिलेर भाग लिनुपर्ने बताउँदै निर्वाचनको वातावरण बनाउन सबै लागिपर्नुपर्ने उनले बताए। शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने राजनीतिक दलहरु निर्वाचनदेखि नभाग्ने बताउँदै संसदले संविधान संशोधनलाई अस्वीकार गरिसकेकाले निर्वाचनबाट बहुमत ल्याएर संशोधन गर्न आग्रह गरे।