राप्रपाको अध्यक्षमा निर्विरोध भनिएका थापासँग लोहनी भिड्ने
काठमाडौं : गएको बुधबार राप्रपाको एकता महाधिवेशनमा कमल थापालाई अध्यक्षमा सर्वसम्मत छाड्ने सहमति शुक्रबार बाट भंग भएको छ। अध्यक्षका दावेदार रहेका डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेपछि सहमति तोडिएको हो।
बुधबार मात्रै अध्यक्ष थापा, पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा र डा. लोहनी बसेर थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पद छाड्ने टुंगो गरेर सबै नेताले हस्ताक्षर गरेका थिए।
डा. लोहनीले विज्ञप्ति सार्वजनिक गर्दै एकतन्त्रीय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन अध्यक्षमा उम्मेदवारी दिन लागेको उल्लेख गरेका छन्।
राप्रपा र राप्रपा नेपालबीच एकता हुँदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उल्लंघनभएकाले लाखौँ कार्यकर्ताको उत्साह मर्ने भएकाले आफूले कार्यकर्ताको उत्साह भर्न तथा पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारी दिने निधो गरेको डा. लोहनीको दाबी छ।