‘अब राजासहितको लोकतन्त्र

‘अब राजासहितको लोकतन्त्र

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा अब वैधानिक रूपमा राजासहितको लोकतन्त्र स्थापना गर्ने घोषणा गरेको छ । राजधानीमा शुक्रबार आयोजित एकता महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पदका प्रत्यासी कमल थापाले भने, ‘अहिले मुलुकमा गणतन्त्र स्थापना भएको छ । संविधानसभाको दुई तिहाइभन्दा बढीले पारित गरेको अहिलेको संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं । हामी निर्वाचनमार्फत संसद्मा हैसियत बनाएर मुलुकमा राजासहितको लोकतन्त्र कायम गर्छौं ।'

प्रधानमन्त्री पुष्पकमल दाहालतर्फ संकेत गर्दै थापाले भने, ‘तपार्इं बेला-बेलामा चमत्कार गर्नुहुन्छ, अब यो कार्यमा पनि तपार्इं-हामी मिलेर चमत्कार गरौं ।' उनले मुलुकमा चुनावी राजनीति भन्दामाथि रहने सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था स्थापनाको आवश्यकता भएको बताए । थापाले नेपालको इतिहासमा लामो समय योगदान पुर्‍याएको संस्थाको सदुपयोग गर्न पनि आग्रह गरे ।

आफूले प्रधानमन्त्री दाहालसँग छलफल र काम गर्दा प्रधानमन्त्री आफूनिकट भएको अनुभूति हुने गरेको र यसका लागि राष्ट्रियताको मुद्दाले काम गरेको थापाको धारणा छ । अहिलेको परिवर्तनकारी शक्ति र राजसंस्थावादी शक्ति एकअर्कासँग टाढा नहुन अग्रह गर्दै उनले भने, ‘अब राजसंस्थावादी शक्ति गणतन्त्रवादीसँग नतर्स, गणतन्त्रवादी शक्ति राजसंस्थासँग नझस्क ।'

संविधान संशोधन गरेर मधेसवादी शक्तिका माग सम्बोधन गरिने भनिए पनि अहिले दर्ता भएको प्रस्तावको पक्षमा राप्रपा नभएको उनले बताए ।

उनले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न माग गर्दै त्यसो गरे सबैभन्दा पहिला आफ्नो पार्टीले स्वागत गर्ने घोषणा गरे । महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले कुनै आवेग र उत्तेजनामा निर्णय गर्ने पार्टी नभएको भन्दै राप्रपाको प्रशंसा गरे ।

‘संविधान जारी गर्दा राप्रपा र हामीबीच केही कुरामा मतभेद थिए तर राप्रपाले निर्वाह गरेको भूमिकापछि मलाई लाग्यो, अनुभवी र पाका नेताको सुझबुझपूर्ण निर्णय थियो', उनले भने । संविधान कार्यान्वयन नभए देश राजनीतिक दुर्घटनामा पर्ने भएकाले त्यसलाई जोगाउने गरी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीले राप्रपा नेतृत्वसँग आग्रह गरे ।

मलाई राप्रपा नजिकको लाग्छ, मिलौं-मिलौंजस्तो, सहकार्य गरौं-गरौंजस्तोः दाहाल
‘तपाईंहरूले सही नीति लिनुभयो भने एमालेबाहेक अरूलई उछिन्नुहुन्छः ओली

प्रधानमन्त्री दाहालले संविधान जारी गर्ने बेला आफू र केपी ओलीको सल्लाहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रतिबद्धताअनुरूप भएको दाबी गरे । संविधान संशोधन र निर्वाचन एकै साथ अगाडि बढ्ने घोषणासमेत उनले गरे ।

राप्रपा अध्यक्ष थापा र आफूबीच भावनात्मक एकता भएको सन्दर्भ सुनाउँदै प्रधानमन्त्री दाहालले भने, ‘म कम्युनिस्ट विद्रोही, वैचारिक रूपमा उहाँसँग धेरै फरक छौं, त्यो दर्शनका कारणले पनि होला । तर, किन हो मलाई राप्रपा भनेपछि नजिकको जस्तो लाग्छ, मिलौं-मिलौं जस्तो लाग्छ, सहकार्य गरौंगरौं जस्तो लाग्छ, तपाईंहरू हामीबाट टाढा नभइदिनुहोला ।'

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा दर्ता भएको संशोधन प्रस्तावका विषयमा प्रस्ट भएर आउन राप्रपालाई सुझाव दिए । ओलीले भने, ‘कसैलाई कुनै कुरा आवश्यक भयो भन्दैमा अरूले जबर्जस्ती मानिदिनुपर्ने भन्ने कुरा कताबाट आयो ? '

ओलीले जनताको भावनाविपरीत आएको संशोधन प्रस्ताव पास नहुने दाबी गरे । उनले राप्रपाले सही नीति लिए एमालेबाहेक अरूलाई धक्का दिने दाबी गरे । ‘तपार्इंहरूले सही नीति लिनुभयो भने एमालेबाहेक अरूलई धक्का मात्र होइन, उछिन्न सक्नुहुन्छ ।'

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अनिवार्य भएको बताए । ‘निर्वाचनमा सबैको सहभागिताका लागि संविधान संशोधन अनिवार्य छ । त्यसैले यो पारित गरेर सहभागिता जुटाऊँ' देउवाले भने ।

तराई-मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधन गरी प्रदेशको सीमा हेरफेर गर्दा देश टुक्र्याउने आरोप लगाउनु हास्यास्पद भएको टिप्प्णी गरे ।

‘तराईमा जब औलोको महामारी चलेको थियो त्यसबेला मधेसी, आदिवासी, थारू भन्दा कोही थिएनन्, त्यसबेला तराईको रक्षा तिनैले सिमानामा उभिएर गरेका हुन्, त्यसबेला वन फाँडेर बस्नेहरू कोही थिएनन्,' त्रिपाठीले भने । मधेसी जनाधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि तीन ठूला दल मिल्न सुझाव दिए ।

बन्दसत्र सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शुक्रबार साँझ भृकुटीमण्डपमा आयोजित बन्दसत्रमा अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन र डा.प्रकाशचन्द्र लोहनीको आर्थिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको सहायक महामन्त्री राजेश गिरीले जानकारी दिए । एकता महाधिवेशनमा ३ हजार ५० प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.