छोरा पाउने आसमा ज्यान जोखिममा
अछामः पारू बोगटीले पहिलो सन्तानका रूपमा छोरा जन्माइन् । पहिलो सन्तान नै छोरा जन्मिएपछि घरपरिवारमा निकै खुसियाली छायो तर उनको परिवारमा छोरा जन्मिएको खुसीयालीले धेरै समय बास गर्न सकेन । जन्मिएको तीन महिनामा छोराको मृत्यु भएपछि खुसी पीडामा परिणत भयो । १० महिना गर्भमा र तीन महिना लालनपालन गरेको घरपरिवार सबैको खुसी बोकेको छोराको मृत्युपछि पारूका दुःखका दिन सुरु भए ।
मार्कु-१ का नौराज बोगटी र पारू बोगटीले दोस्रो सन्तानको जन्म दिए तर दोस्रो सन्तान उनीहरूको चाहनाविपरीत जन्मियो, छोरा नभई छोरी । छोराको आसमा उनका आठजनासम्म छोरी जन्मिए । पारूले जन्म दिएका सन्तानको संख्या आठ मात्र थिएन, उनले १३ सन्तान जन्माइन् जसमा तीन सन्तान गर्भमै तुहिए, एक छोरी बीचमा जन्मेपछि बितिन् । छोरा पाउने आसमा करिब दर्जन छोरीको जन्म दिएपछि मात्र बल्ल छोरा जन्मियो ।
‘छोरी त जति भए पनि बिहे गरेर अर्काको घर जाने हुन्, बुढेसकालको सहाराका लागि एक मात्र भए पनि छोरा त चाहियो नि', नौराजले सुनाए, ‘वंश चलाउन पनि त छोरा नभएर कहाँ हुन्छ र ? ' करिब दुईदुई वर्षको अन्तरालमा १० सन्तानलाई जीवितै जन्म दिएकी ४५ वर्षीया पारूको ज्यान सन्तान जन्माउँदैमा बित्यो ।
‘छोरीछोरी मात्र जन्माउँदा समाजले पनि हेय दृष्टिले हेर्ने र छोरा पाउने जेठानी-देउरानीको अगाडि जान पनि आफैंलाई सरम लाग्ने गथ्र्यो,' पारूले सबैभन्दा कान्छो सन्तानका रूपमा जन्मिएको छोरालाई सुमसुम्याउँदै भनिन्, ‘छोराको आसमा छोरी जन्माउँदा ज्यान नै खत्तम भइसक्यो ।' छोरीछोरी मात्र जन्मिँदा छोरा नजन्मिएपछि कहिलेकाहीँ त आत्महत्या गरौँ कि भन्ने सोचसमेत मनमा आएको उनले सुनाइन् ।
बिन्ध्यवासिनी-९ की गंगा विकले पनि छोरा पाउने आसमा १२ छोरीलाई जन्म दिएकी छन् । ‘एक छोरी बितिसकी ११ बचेकै छन्,' गंगाले भनिन्, ‘अब त छोरा हुन्छ कि भन्ने आसै छैन ।' १२ छोरी जन्मिसक्दा पनि छोरा नहुँदा गंगाका पति गगनले गत वर्ष मात्र अर्को बिहे गरे । छोराको आसमा ल्याएकी कान्छी बूढी तीन-चार महिनामै छाडेर हिँडेपछि गगनको छोरा पाउने आस पनि मरेको छ । ‘के गर्ने हजुर वंश चलाउन पनि छोरा हुनै पर्ने रहेछ,' गगनले भने, ‘अब त छोरा पाउने आस पूरा नभएरै मरिने भइयो ।'
साँफेबगर नगरपालिका नवाठानाकी राधिका कुँवरले पनि छोरा पाउने आसमा नौ छोरी जन्माइन् । उनको छोरा पाउने आस १० औँ सन्तान जन्मिँदा मात्र पूरा भएको छ । ‘छोरा जन्मिन्छ भनेर आस गर्दा-गर्दा नौ छोरी जन्मिए,' राधिकाले भनिन्, ‘एकातर्फ पटक-पटक गर्भवती हुनु र अर्कोतर्फ छोरीको लालनपालन गर्र्दैमा जिन्दगी त बाँच्नु र मर्नुमा कुनै फरक भएन ।'
नन्देगडा-५ कि बिन्द्रा लुहारले छोरा पाउने आसमा ६ छोरीको जन्म दिइसकेकी छन् । अहिलेसम्म छोरा नजन्मिँदा उनले सन्तान पाउन रोकेकी छैनन् । ‘कान्छी छोरी गर्भमै हुँदा भारत गएका पति छोरा जन्मिए घर फर्किने नत्र नफर्किने भनेका थिए, दुई वर्ष भयो घर फर्किनुभएको छैन,' विन्द्राले भनिन्, ‘छोरा नहुँदा गाउँ समाजले पनि हेय दृष्टिले हेर्न थालेको छ ।'
छोराको आसमा ल्याएकी कान्छी बूढी तीन-चार महिनामै छाडेर हिँडेपछि गगनको छोरा पाउने आस पनि मरेको छ ।
पारू, गंगा, राधिका र बिन्द्रा प्रतिनिधि पात्र मात्र हुन् । वंश चल्ने परम्परालाई निरन्तरता दिन र समाजको अगाडि शिर ठाडो पारेर हिँड्न मात्र भए पनि छोरा हुनै पर्ने मान्यताका कारण महिला सन्तान जन्माउने मेसिन बन्न विवश छन् । ‘पछिलो पुस्ताका पढेलेखेका मानिसले प्रायः गर्भ परीक्षण गरेर छोरा भए राख्ने र छोरी भए भ्रुणहत्या गर्ने क्रम बढेकाले कम सन्तान जन्मिएको देखिएको हो,' जिल्ला जनस्वास्थ्य निरीक्षक झपट ढुंगानाले भने, ‘अशिक्षित र अघिल्लो पुस्ताका मानिसले भने छोरा नजन्मिँदासम्म जति पनि छोरी जन्माउने प्रचलन छ ।'
छोरा पाउने आसमा धेरै सन्तान जन्माउँदा एकातर्फ महिलाको ज्यानै जोखिममा हुने गर्छ भने अर्कोतर्फ पोषिलो खानेकुरा अभावमा बच्चा कुपोषित हुने गरेको ढुंगानाले जानकारी दिए । महिलाले जति सन्तान जन्माए पनि घरधन्दा मेलापात गर्नै पर्ने बाध्यताका कारण पनि महिलाको स्वास्थ्य निकै कमजोर हुने गरेको ढुंगानाले बताए ।