अब हुम्लामा पनि गाडी
सिमकोटः हिल्सा-सिमकोट सडक आयोजना सुरु भएको १९ वर्षपछि हुम्ला सदरमुकाम सिमकोट एक साताभित्रै सडक सञ्जालमा जोडिने भएको छ । आव ०५३/५४ मा हरित सडकबाट सुरु भएको बहुप्रतिक्षित ९० किलोमिटरको हिल्सा-सिमकोट मोटर बाटोअन्तर्गत तुम्कोटको पुल बन्न ढिलाइ हुनु र च्या छहरा खण्डको १३ किलोमिटर चट्टान फोड्न समय लाग्दा उत्तरी क्षेत्रको ९० किलोमिटर लिमी-लाप्चा सडकमार्फत एक साताभित्रै सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिन लागेको हो ।
लिमी-लाप्चा-सिमकोट सडकअन्तर्गत कुल ९० किलोमिटर लामो सडकमध्ये ८२ किलोमिटरमा एक्साभेटरको (बे्रकर) र बकेटको सहायताले ट्रयाक खोल्ने काम अहिले डाँडाफयाको भालदुलामा पुगेको छ ।
सदरमुकाम सिमकोटसँग जोडिएको डाँडाफयामा धमाधम मोटरबाटो खन्ने कामले तीव्रता पाएपछि दशकौंदेखि सडकको महिमा गाएर बसेका माथिल्लो हुम्लाका बासिन्दाको सडक सपना साकार हुन लागेको डाँडाफया-३ की ६३ वर्षीया गेडी शाहीले बताइन् ।
तन्नेरी अवस्थामै हिल्साबाट गाडी आउने सुनेकी शाहीले अन्नपूर्णसँग भनिन्, ‘यत्रो वर्षसम्म आज आउला, भोलि आउला भनेर दिन गन्दा निरास भएका हामी डोजरले बाटो खनेको देख्दा निकै हौसला मिलेको छ ।'
डाँडाफयाको ओखरथलामा सडक खन्ने काम पुगेदेखि दिनको दुईपटक लौरो टेकेर एक्साभेटरले सडक खनेको हेर्न गएकी उनले गाडी देखेर मर्ने आफ्नो सपना पूरा भएको बताइन् ।
सदरमुकाम सिमकोटसँग जोडिएको डाँडाफयामा मोटर बाटो खन्ने कामले तीव्रता पाएपछि माथिल्लो हुम्लाका बासिन्दाको सडक सपना साकार हुन लागेको हो ।
आफू १३ वर्षको भएदेखि नै घरपरिवारका लागि लुगाफाटो र अन्य सामान पिठ्यूँमा बोकेका डाँडाफया-४ का प्रकाश सिंह पनि आफ्नै आँगनमा गाडी गुड्ने सडक बनेकोमा प्रफुल्लित छन् ।
बझाङ जिल्लामा नाता जोडेका प्रकाश बझाङ गएका बेला तिमी त गाडी नपुगेको हुम्ली भन्दा निकै पिरोलिएका थिए । पटक पटक बझाङीले यो कटु शब्द दोहोर्याएको झल्झली सम्झेका उनलाई अब आफ्नै घरअगाडि गाडी गुडाएर बझाङ जान मन लागेको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्ला कोटबाट बोकेर सामान ल्याउँदा निकै कष्ट भोगेका उनले आँगनमै गाडीमा सामान आउने भएपछि होटल र पसल खोल्ने योजना बनाएका छन् ।
उनी भन्छन्, ‘अन्य काममा सिन्को नभाँच्ने गाउँले अहिले एक्साभेटरले सडक खन्दै फालेका ढुंगा र माटो श्रमदानमै थन्क्याउन जुटेका छन् ।'
९० किलोमिटरको लिमी-लाप्चामा धमाधम ट्र्याक खोल्ने काम भएकाले अबको एक सातामै चीनको स्वशासित क्षेत्र तिब्बतका सवारीसाधन लिमी लाप्चा हुँदै हुम्ला सदरमुकाम सिमकोट पुग्ने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख विजय थापाले बताए ।
लिमी-लाप्चाको ९० किलोमिटरमा ८२ किलोमिटर खन्ने काम सम्पन्न भई डोजर र ट्र्याक्टर चलिरहेको थापाले बताए । उनका अनुसार सिमकोट पुग्न अब ५ किलोमिटर बाटो मात्रै खन्न बाँकी छ ।
सिमकोटदेखि लाग्नासम्मको ३ किलोमिटर बाटो यसअघि नै निर्माण भई ट्र्याक्टर र साना जिप चलिरहेको उनले बताए । भने, ‘अबको एक सातामा ट्र्याक जोड्ने काम भए पनि फागुनभित्र कम्तीमा यो बाटोमा ट्र्याक्टर र जिप चल्नेछ ।'
सडक नजिकै आयो भन्ने खबर सुन्दा निकै हौसिएकी सिमकोट-२ की काली रोकायालाई डाँडाफया-४ को भालदुलामा सडक पुगेको देखे पनि पत्यार लागेन । जमानादेखि हिल्साबाट सडक आउँछ भन्ने सुनेकी उनलाई दुई दशक पुग्दासमेत नआएपछि अहिले पुगेको छ भनेर पत्याउन निकै मुस्किल भएको छ ।
सिमकोटदेखि ३ किलोमिटरको दूरीको लाग्नासम्म ट्र्याक्टर चल्दा मात्रै पनि दाउरा, ढुंगा ओसारपसारमा निकै सहज भएको बताउँदै कालीले यससँगै हुम्लीका दिन पनि फिरेको प्रतिक्रिया दिइन् ।
ट्र्याक ओपनिङमा ५ मिटर बाटो काटिएको हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ । ट्र्याक्टर, र ट्रक गुड्न साढे २ मिटर बाटो आवश्यक पर्ने बताउँदै आयोजना प्रमुख थापाले दोस्रो चरणको ८ मिटरको डबल लेनको बाटो बनाउने जनाए ।
हिल्सा-सिमकोट मोटरबाटोभन्दा ३ किलोमिटर लामो यो सडक सिमकोटमा जोडिएसँगै सिमकोटको जीवनशैलीमा सहजता आउने हेप्काका सोनाम ग्याल्जन लामा विश्वास व्यक्त गर्छन् ।
अहिले गाडी र खच्चडमा गरी प्रतिकेजीको सय रुपैयाँमा सामान आफ्नो घरमा पुग्ने गरेको बताउँदै लामाले भने, ‘यो सडक पुगेसँगै चिनियाँ बजारदेखि सिकनोटसम्म प्रतिकेजी ३० रुपैयाँका दरले सामान ढुवानी हुनेछ ।'
तुम्कोट पुल बन्ने अझै अनिश्चित
चार वर्षदेखि निर्माणाधीन मुचुको तुम्कोट बेलिब्रिज निर्माणबारे भने अझै अन्योल छ । पुल नबनेका कारण १९ वर्षअघि निर्माण सुरु भएको हिल्सा-सिमकोट मोटरबाटो निर्माण कार्य अवरुद्ध भएको छ । पुल अझै कसले बनाउने भन्नेबारे टुंगो नलागेको हिल्सा-सिमकोट सडक आयोजना प्रमुख थापा बताउँछन् ।
चीनसँगको सिमाना हिल्सादेखि ल्याउने भनिएको ९५ किलोमिटर लामो सडक आयोजनाको बीचमा पर्ने तुम्कोट पुल लामो समयसम्म सम्पन्न नहुँदा सडक निर्माण सामग्री आयातमा समस्या भएको छ ।
हिल्सा-सिमकोट सडक आयोजनाको ३८ किलोमिटरमा पर्ने उक्त पुल निर्माणको जिम्मा लिएको कंग्री निर्माण सेवाले पुल निर्माण कार्य बीचमै रोकेको छ । यो कार्यले २ वर्षमा हुम्लालाई सडक सञ्जालमा जोड्ने सरकारी लक्ष्य पूरा नहुने देखिएको छ । यद्यपि, लिमी र लाप्चा सडक आयोजनाको बाटो सिमकोट पुर्याउने काम अन्तिम चरणमा पुगेको प्रमुख थापाले जानकारी दिए ।
स्विस सरकारको आर्थिक सहयोगमा २ वर्षमा निर्माण पूरा गर्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको सडक पुल सहयोग एकाइ एलआरबीएसयूमार्फत ६ करोड ४० लाखमा २०१३ मा सम्झौता भएको थियो । पुल निर्माण कार्य सम्पन्न गर्न लाग्ने रकम भुक्तानी नभएकाले काम पूरा नभएको ठेकेदार कम्पनी कंग्री निर्माण सेवाका छिरिङ मुटुक लामाले बताए ।
पुलको अधिकांश काम सकिएको जनाउँदै लामाले भने, ‘पुल निर्माणको ८५ प्रतिशत काम पूरा भएको छ । पुल जोड्ने काम अर्को कल्सन्टेन्सीलाई दिएको हो । पुलको ग्याबिन लगाउन बाँकी छ । सिलिङ, जन्जिर सबै तयार छ ।'
पुल जोडेपछि मात्रै आफूले थप काम गर्न बाटो खुल्ने उल्लेख गर्दै लामाले पुल नै नजोडेका कारण आफूले योजनास्थलमा लगेको सिमेन्ट बिग्रिएको दुखेसो गरे ।
०७२ कात्तिकमै सबै काम सक्ने गरी सम्झौता भएको पुल आर्थिक अभावका कारण बीचमै रोकिएको समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशन गरेपछि सडक विभागले चासो देखाएको थियो ।