ट्रकको ठक्करले दुई महिलाको मृत्यु
काठमाडौः काठमाडौंको बालाजुमा ट्रकको ठक्करबाट शुक्रबार स्कुटरमा सवार दुईजना महिलाको मृत्यु भएको छ । बालाजुको गंगाहलअघि बा ५ ख ८४६५ नम्बरको मालवाहक ट्रकले बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सोनिया थापा मगर र पछाडि बसेकी रिनाकुमारी राईको मृत्यु भएको हो ।
घटनापछि उपचारका लागि अस्पताल लैजाने क्रममा दुवैको बाटोमै निधन भएको बालाजु प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष तामाङले जानकारी दिए । स्कुटरलाई ठक्कर दिएर फरार ट्रक चालक रामबहादुर थिङ शुक्रबार साँझ प्रहरी सम्पर्कमा आएको जनाइएको छ । सोनिया र रिना गोलडुंगामा आयोजित महिलासम्बन्धी कार्यक्रममा सहभागी भएर ललितपुरमा त्यस्तै अर्को कार्यक्रममा सहभागी हुन जाँदै थिए ।
३८ वर्षीय रिना महिला उत्थान तथा सीप विकास केन्द्रकी कर्मचारी हुन् । उनका १७ वर्षीय छोरा छन् । मकवानपुर मनहरी स्थायी घर भएकी रिना श्रीमान् सुवास राई र छोरासँग काठमाडौंमा बस्दै आएकी थिइन् । सुवास गरिबी निवारण कोषका कर्मचारी हुन् ।
यसैगरी ३५ वर्षीया सोनियाका ६ र ११ वर्षका दुई छोरी छन् । उनी दुई छोरी र श्रीमान् गोरखबहादुर दर्लामी मगरसँग तारकेश्वर ९ मिलन बस्तीमा बस्दै आएकी थिइन् । प्रहरीले ठक्कर दिने चालक र ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।