मागेको पाइने किँरातेश्वर धाम
‘आजको यो सेवामा हामी धेरैजसो पुनर्जन्म पाएकाहरु छौं', झन्डै चार घन्टाको सेवा (पूजा) लगाएपछि गुरु ज्योतिमाङ्छाले भनिन्, ‘पूर्ण आत्मविश्वासले प्राप्ति हुने हो, बाहिरबाट यो धामको भौतिक अवस्थिति हेरेर यो गहिराई थोरैले मात्र बुझ्छन् ।'
झापाको लखनपुर १ मा रहेको यस श्री शिव ज्योतिसिद्ध किँरातेश्वर धाममा दिनहुँ एक/डेढ घन्टा नित्य पुजा हुन्छ तर प्रत्येक औंसी/पूर्णिमामा तीनदेखि चार घन्टा विशेष सेवा लाग्छ । गत साताको सेवामा सहभागी करिब एक दर्जन भक्तजनमध्ये पुनर्जन्म पाएकी कृष्णा शेर्मा केही वर्षदेखि धाममा ज्योतिमाङ्छा गुरुका रुपमा सेवारत छिन् ।
‘१३ वर्षको उमेरमा मलाई तीन महिनासम्म अस्पतालको आइसियूमा राखेको थियो', कृष्णा गुरु भन्छिन्, ‘अचेत हुने, खान नसक्ने, हातखुट्टा फर्कने, टाउको दुख्ने, ग्याष्ट्रिकले चटपटाउन नसक्ने, बोलीसमेत बेलाबेलामात्र आउनेजस्ता अनेक रोगले अन्तिम भएकी थिएँ ।' बुबा इन्डियन आर्मी, कृष्णाको बसाई पाँचथरको साराङडाँडामा थियो । उपचारका लागि गाउँमा केमात्र प्रयास भएन ।
धामी, वैद्य अनि डाक्टर सबै सबै । सात दिन सात रात तङसिङ (धामीको हेरचाह र उपचार) मा राखिएको थियो । कृष्णालाई त्यतिमात्र रोगले गाँजेको थिएन, शरीरमा घाउ निस्कने, पेट र धड्कनमा समस्या आदि भएको भन्दै डाक्टरले औषधि दियो त्यसले २० को १९ पनि भएन । पाँच वर्ष यसरी नै बिते कृष्णाका । जब २०५२ सालमा १८ वर्षकी भइन्, उनलाई सपनामा इश्वरीय (माङ) वचन प्राप्त भयो । ‘छरछिमेकमा वचनको कुरो पुर्याएपछि ज्योतिनन्द गुरुको प्रसंग उठ्यो । दर्शन कसरी पाउने भनेर खोजी गर्दै जाँदा यो धामसम्म आइपुगें', कृष्णा सम्झन्छिन्, ‘त्यतिबेला ज्योतिनन्द गुरुको बिडो कोप्पा गुरुले थामिरहनु भएको रहेछ । गुरुको दर्शन नपाएको भए र यहाँको सीमामा बसेर सोहीअनुसार सेवा लगाउन नपाएको भए सायद आज मैले यो नयाँ जीवन पाउने थिइनँ ।'
सेवामा सहभागीमध्ये ६९ वर्षीय दलबहादुर राई (चन्द्रदास) झट्ट हेर्दा हट्टाकट्टा र सबै थोकले भरिपूर्ण लाग्थे । ‘तपाईले पनि पुनर्जन्म पाउनु भएको हो ? ', यो प्रश्नले उनी अतीतमा पुग्न बाध्य भए । ‘आमाको दुध पनि खान पाइनँ, बाख्राको दुध र फर्सी फत्काएको खाएर बाँचें त्यो पनि मावली बजुले गर्दा', धनकुटा खोकुछिन्ताङमा रहँदाको उनी स्मरण गर्छन्, ‘एक होइन अनेक बिरामले च्यापेर हैरान भइरहने रे ।' १८ वर्षको भएपछि गाउँका साथी भारतमा भर्ती हुन जाने भए ।
आधुनिक समयमा धेरैलाई यस्तो पत्याउन कठिन होला तर यहाँ सन्तान मागे पनि पाइएका उदाहरण छन् । जस्तै कुलतबाट पनि यहाँ आएपछि मुक्त भएका छन् ।
सधैं बिरामी भइरहने यसै भएन उसै भएन भनेर उनी आफूजस्तै उमेरको केटाको नेतृत्वमा साथीसँग पछि लागे । उसले त भारत होइन, भुटानको डोडंगामा पुर्याएछ । एक महिना खोलामा राखेछ । १५ रात खोलामा राति राति काम लगाउने गिटी कुट्ने । फसाएको थाहा पाए पनि उपाय थिएन ।
‘धेरैको खाना आगो बालेर टिनमा पकाउने काँचो हुने म त पेट दुखेर हुरुक्कै । उठ्न बस्नै नसक्ने', उनी सम्झन्छन्, ‘समूहमा खसी खाने भए, मैले काँचो मासु खाएर मर्छु भन्ठानेर आफैं पकाएर खाएको अहो कस्तो चंगा भो जिउ त ।' फेरी उही खुवाई । साथमा गएका एकजना दाजुले अस्पताल पुर्याए । उनीसँगै दाजु पनि पल्टनमा जान पाएनन् । ज्यान अथवाको भएपछि चार महिनामै घर फर्किए उनी ।
गाउँमा दादुराजस्तै अर्को रोगले सतायो, कसैलाई कोठाबाहिर निस्किएर भेट्नै नमिल्ने भो । ‘एक दिन अलि पर ढुंगोमा सुतें तर ढुंगो फन्फनी घुमेको घुम्यै भो, सासै फेर्न नसक्ने भएँ', भन्छन्, ‘बलैले घर आएँ, कामेको काम्यै भएँ । बुबाआमा सबै सोझा । आफैले धुप बालेर शक्ति मागें ।' २०२७ सालमा २४ वर्षको उमेरमा बिहे गरे उनले । केही गरेनि रोग र समस्यामुक्त भएनन् उनी । अर्को वर्ष तराई (मोरङको बेलबारी) झरे । ‘सात महिना बिरामी भएर १८ दिनको फरकमा दुवै छोरालाई सधैंका लागि विदा गर्नुपर्यो', उनी अलिक गम्भीर भए, ‘दुईमध्ये केही वर्षपछि एउटी छोरी खसी ।
त्यसैबेला वनपालेहरुले हात्ती लगाएर घर भत्काउन थाले । अचम्म हात्तीले छिमेकीका भत्काए पनि मेरो केही गरेनन् ।' नियम हो भन्दै बलजफ्ती घरको केही भाग बिगारेरै छोडेको सुनाउँदै दुई हात जोडेर भन्दा नमान्ने वनपाले हेर्दाहेर्दै मागेर खाने भएको उनी बताउँछन् । अर्की छोरी जन्मिइन् उनकी तर सानोमा आफूजस्तै दीर्घ रोगी । एक वर्ष घरमै धामी राखे ।
यो चानचुने हैसियतले धान्ने कुरो थिएन । यसै दुईछाक टार्न कठिन उनले जाँडरक्सीको खोलो बगाउँदै भएजति सबै माग पुरा गरेर धामी लगाइरहे । ‘परिवार राखेर बरु सम्पत्ति सकियोस्, खोलेफाँडो अमृत मानेर खाउँला भन्दै छोरी बचाउन लागें', थप्छन्, ‘आँखा पाक्ने र दिशामा खुनै बगाउने अवस्थाले धामीबाट पनि केही नभएर जेठी छोरीलाई पनि गुमाएँ ।' ‘यस्तै यस्तै थुप्रै कथा पचाउने क्रममा एकजना कविर साधुले २०४९ सालमा धामको संगत गराएपछि अहिले मलाई र मेरो परिवारलाई सबैतिरबाट शान्ति मिलेको छ', उनी भन्छन् ।
कुमार माङपाहाङ सात वर्षको हुँदादेखि केही वर्षअघिसम्म उनको जीवनकथा सुन्दा कथानक चलचित्रले नभ्याउने दृष्य घुमे मानसपटलमा । २०१३ सालका उनीजसरी जोकसैले आफ्नो जीवनको यस्तो कथा त्यति सहज ढंगले व्यक्त गर्नसमेत सक्दैनहोला । लाग्थ्यो, उनी अरु कसैको कथा सुनाइरहेका छन् । सातै वर्षमा रोगाएका उनी पनि सात वर्षसम्म ईलामको विकट गाउँ इवाङ गाविस ८ मा अनेक धामी वैद्यको घेरामा फनफनिए । १० वर्षको हुँदा उनले गाउँघरमा बुढापाकाले भनेको सुने, ‘धामी हुनुभन्दा कामी हुनुपर्ने रैछ ।'
आफूलाई पनि ईश्वरले दर्शन दिएको र बाजेबजैलाई सुनाएको उनी सम्झन्छन् । तर घरपरिवारमा शिक्षित नभएरै आफ्नो कुरोलाई कसैले गम्भीरतापूर्वक नलिएको उनको बुझाई छ ।साथीको संगतबाट कुमार भारतको आसाम पुगे । जहाँ पुगेर बसे त्यहाँ गोठालो बनेर जीवन गुजार्नुपर्यो । जंगलमा २०/२५ वटा गाईवस्तु हेर्नुपथ्र्यो । उनी आफ्नो वसमा थिएनन् ।
कहिले दिनभर जंगलमै बेसुर भएर हराउँथे त कहिले तीन/चार दिनसम्म पनि घर फर्कँदैनथे । तीन वर्षपछि पुनः गाउँ फर्किए उनी । जंगलमै उनलाई निराहार सेवा लाउनू भन्ने वाणी प्राप्त भएपछि पाँचथरस्थित फाल्गुनन्दको गुम्बाबाट माटो ल्याएर इलामको इवाङमा धाम बनाएर बसे र सेवामा रहे । भन्छन्, ‘त्यसपछि मेरा शरीरमा लागेका अनेक रोगहरु घट्दै र हट्दै गए ।'
धाम व्यवस्थापन समितिका सचिव कविन्द्र शेर्माका अनुसार, धाममा चिताएको मागेपछि माछामासु छोड्नुपर्ने लगायतका केही निश्चित नियममा बस्नुपर्ने हुन्छ । फाल्गुनन्दले आफू विलिन हुने समयमा ‘पछि राईकूलमा अवतार लिएर आउनेछु' भनेका थिए रे । सुन्ने बुढापाकाले ‘पछि कसरी चिन्ने त ? ' भनी प्रश्न गरेका थिए । शेर्मा भन्छन्, ‘फाल्गुनन्दको पाँचथरको रविदेखि सिलौटी जाने क्रममा बीचमा लाग्ने टुक्रे बजारमा रहेकी चेतनमाया मगरसँग भेट हुन्छ ।
गम्भीर बिरामले थलिएर अन्तिम भएकी उनी अन्तिमपटक रवि बजार हेर्छु भनेर जानेक्रममा फाल्गुनन्दले उनलाई सेतो रुमालमा सुन्तला र मि श्री पोको पारेर दिनुभयो र भन्नुभयो रे, तिमी मेरो मान्छे हे लक्ष्मी यो चिज सबै (परिवार र छिमेकी) लाई बाँडेर खानू पछि हामी भेट हुनुपर्छ भनेर सिलौटीमा पुगेर अलप हुनुभएछ ।' उनका अनुसार, यो २००५ सालको घटना हो । पछि २०३८ सालमा पुनः ज्योतिनन्दको आत्मामा प्रकट भएर अवतार लिई सशरीर आउनुभएको भनाई छ ।
यसको पुष्टि पछि हालको इलामको इवाङ गाविस ५ मा पुगी उनै चेतनमाया मगरलाई बासस्थानमै भेटेको स्थानीयले बताएको उनी सुनाउँछन् । ‘बासस्थानमै आएर गाउँलेको भेलामा ज्योतिनन्दले लक्ष्मी तिमीलाई मैले के दिएको थिएँ ? भनेपछि चेतनले सुन्तला भन्नुभएछ', भन्छन्, ‘अर्को सेतो चिज पनि सेतो रुमालमा दिएको थिएँ भन्दा केही समय सम्झेर मि श्रीको कुरो आएको थियो ।' कहिल्यै नदेखेको मान्छेसँग यस्तो कुराकानीहुँदा गाउँले नै छक्क परेको उनी बताउँछन् । उनका अनुसार, ज्योतिनन्द मैनाचुली गएर गुफा साधना गरी लखनपुरको यो स्थानमा त्रिशुल पठाएको र सोही स्थानमा अहिले मण्डप बनाइएको छ ।
स्थानीय वृद्धहरु पनि यस्तो मण्डप जहाँकही नपाउने बताउँछन् । सेवा सकेकी सीता कुरुम्भङले जंगली लागेर ९ दिनसम्म होश नआएर घरपरिवारबाटै माया मारे पनि अहिले यो अवस्थामा आएको सुनाइन् । १४ वर्षको उमेरमा मोरङको पथरीमा हुँदाको घटना सम्झँदै उनी भन्छिन्, ‘आधुनिक सयममा धेरैले यस्तो पत्याउन कठिन होला तर यहाँ सन्तान मागे पनि पाइएका उदाहरण छन् । जस्तै कुलतबाट पनि यहाँ आएपछि मुक्त भएका छन् । यस्ता थुप्रै घटना र प्रसंग छन् ।'