पर्खाल भत्किदा एक कामदारको मृत्यु, तीन गम्भिर घाइते

पर्खाल भत्किदा एक कामदारको मृत्यु, तीन गम्भिर घाइते

वीरगन्जः शनिबार बिहान पर्खाल भत्किएर एक जना कामदारको मृत्यु भएको छ । अरु तीन जना कामदार गम्भिर घाइते भएका छन् ।

वीरगन्ज नगरसभा गृहबाट बालमन्दिर हुदै ठाकुरराम बहुमुखी क्याम्पसतर्फ जाने सडकमा ढल र नाला निर्माणका लागि खनिएको गहिरो खाल्डो छेउमा रहेको श्याम बाबु कलवारको घरको जगको पर्खाल शनिवार बिहान करिब साढे ९ बजे भत्किदा रौतहटको रमौली ४ का राम पुकार सहनीको घटनास्थलमै मृत्यु भएको हो ।

पर्खालले च्यापिएर रौतहटको मदनपुर १ का गणेश शाह , रमौली ४ का उपेन्द्र दास र त्यही ठाँउका बालेश्वर सहनी गम्भिर घाइते भएका छन् ।

घाइते मध्ये बालेश्वर सहनी र गणेश साहको वीरगन्जमा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि काठमाडांैको वीर अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक अनिष कर्णले जानकारी दिए । अर्का घाइते उपेन्द्र दासको भने नेशनल मेडकल कलेज वीरगन्जमा उपचार भइरहेको छ ।

वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत ढल तथा नाला निर्माणको ठेक्का कालीका कन्ट्रक्सन प्रालि चितवनले लिएको छ । एशीयाली विकास बैंक एडिबीको अनुदानमा वीरगञ्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत निर्माण भइरहेको ढल तथा नालाको निर्माण गर्ने क्रममा पर्खाल भत्केको हो ।

कालीका कन्ट्रक्सन प्रालिका सिभिल इन्जिनियर अर्जुन शाहीका अनुसार ढल तथा नाला निर्माणका लागि खनिएको करिब १२ फिट गहिरो खाल्डो भित्र १० जना मजदुरले काम गर्दै गरेको अवस्थामा शनिबार बिहान साढे नौ बजे तिर कलवारको घरको जग मुनिको पर्खाल भत्किएको थियो ।

पर्खाल खसेपछि ६ जना मजदुर भाग्न सफल भएपनि अरु चार जना पर्खालको भग्नावशेष भित्र च्यापिएको र ती मध्ये सहनीको घटनास्थलमै मृत्यु भएको शाहीले बताए ।

खाल्डो खनिएको स्थानमा खानेपानीको भूमिगत पाइप फुटेको र त्यसबाट जम्मा भएको पानीले माटो रसाएर पर्खाल भत्किएको शाहीको भनाइ छ ।

स्थानीवासीले भने ठेकेदारको लापरवाहीका कारण कामदारको मृत्यु भएको बताएका छन् । खानेपानीको पाइप शुक्रबार देखि नै फुटेर खाल्डोमा पानी जमेको भएपनि ठेकेदार पक्षले पानीको निकासका लागि काम नगरेको र त्यही लापरवाहीका कारण पर्खाल भत्किएर दुखद घटना भएको भत्किएको पर्खालाका घरधनी कलवारले बताए ।

भत्किएको पर्खालले च्यापिएर घाइते भएका मजदुरहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउदै । तस्बिरः क्रान्ति शाह

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.